काठमाडौं । उपत्यकामा मोटरसाइकल चोरीमा संलग्न एक गिरोह पक्राउ परेको छ । बिहीबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले तारकेश्वर–६, धर्मस्थलीबाट १ जना र काठमाडौंको म्हैपीबाट ४ जना गरी पाँच जनालाई पक्राउ गरेको हो ।
म्हैपीबाट जिल्ला नुवाकोट दुप्चेश्वर गाउँपालिका–५ घर भई हाल काठमाडौं झोर बस्ने वर्ष २२ को किरण लामा, सोही ठाउँ घर भइ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका–१ घर भई हाल जिल्ला मनमैजु बस्ने वर्ष २३ को दिपक तामाङ्ग र जिल्ला बारा करैया गाउँपालिका–४ घर भई हाल तार्केश्वर नगरपालिका–१० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उनीहरूको साथबाट प्रदेश ३–०२–०१५ प ३६०४ नम्वरको कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पक्राउ परेकोमा उक्त मोटरसाइकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
यस्तै, धर्मस्थलीबाट नुवाकोटको काउले गाउँपालिका–५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई प्रदेश ३–०२,०१६ प ३८०४ नम्बरको रातो रंगको २०० सीसीको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
उक्त नम्बरको मोटरसाइकल मिति गत कार्तिक २ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोज तलास गरि पाउँ भनि रोशन अधिकारीले निवेदन दिएका थिए । सो निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरिएको हो ।
पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।