विवादित अर्थमन्त्री शर्माले आफूविरुद्ध उठेका प्रश्नहरूबारे
आज संसदमा स्पष्टिकरण दिने भएका छन् । अनाधिकृत व्यक्तिलाई प्रवेश दिलाएर बजेटमा
राजश्वका दरहरू हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री शर्माको चौतर्फी राजीनामा
माग गरिएको छ ।यसै सन्दर्भलाई लिएर शर्माले संसदमा आफ्ना कुरा राख्ने नेकपा
मओवादी केन्द्रका एक नेताले जानकारी दिए । 'उहाँले राजीनामा दिनुहुन्न, बरू आफूविरुद्ध उठेका विषयहरूमा
संसदमा स्पष्टिकरण दिने कार्यक्रम रहेको छ ,' ती नेताले बिजपाटीलाई बताए । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा शर्माले आफ्ना
कुरा राख्ने भएका हुन् । बजेट सार्वजनिक हुनुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई
मन्त्रालय प्रवेश गराएको भन्दै शर्माको आलोचना भएको हो । सूचनाको हक प्रयोग गरेर मागिएको सोही दिनको सीसीटीभी फुटेज डिलेट
भएको भन्दै मन्त्रालयले जारी गरेको विज्ञप्ति पनि विवादमा परेको छ । मन्त्री शर्माले आफूले गलत नगरेको भन्दै स्पष्टिकरण दिंदै
आएका छन् । उनीविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्नेबारे नेकपा माओवादी
केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र प्रधानमन्त्री शेरबादुर देउवाबीच
छलफल भएको थियो । संसदीय छानबिन समिति गठन गर्न सभामुख अग्निप्रसाद सापकोटा
पनि तयार रहेको समाचार विवरणहरू आइरहेका छन् ।