असार २९, बागलुङ । काठेखोला गाउँपालिकामा जनप्रतिनिधिहरु आएपछि चार वर्षमा ७ हजार ४६ मिटर पक्की सडक निर्माण गरिएको छ ।
गाउँपालिकामा जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछि पालिकाबाट वडा कार्यालय जोड्ने पक्की सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्ने निर्णय अनुसार चार वर्षमा गाउँपालिकाको ८ ओटा वडामा १ हजार ५४६ मिटर सडक ढलान गरिएको र प्रदेश सरकारसँगको समन्वयमा हजार ५०० मिटर सडक कालोपत्र गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले जानकारी दिए । उनले आर्थिक वर्ष २०७७/०७८ को जेठ मसान्तसम्म उक्त सडक निर्माण सम्पन्न भएको जानकारी दिए ।
गाउँपालिका अध्यक्ष थापाले वडा नम्बर १ मा ३२० मिटर, वडा नम्बर २ मा ७ सय मिटर, वडा नम्बर ३ मा १९१ मिटर, वडा नम्बर ४ मा १२५ मिटर, वडा नम्बर ७ मा ९० मिटर र वडा नम्बर ८ मा १२० मिटर सडक ढलान गरिएको बताए । उनले बर्खायाममा हिलाम्मे भएर यातायात सुचारु हुन नसक्ने र अफट्यारो स्थानमा ढलान गरिएको बताए ।
पहिलो चरणमा गाउँपालिका अन्तर्गतका मुख्य सडक बाह्रै महीना सञ्चालनमा आउने सक्ने गरी स्तरवृद्धि गर्ने र लगतै कालोपत्रको काम अघि बढाउने गाउँपालिका अध्यक्ष थापाले बताए ।
यस्तै गाउँपालिकाले गौरवको आयोजना अन्तरगत पालिकादेखि वडा कार्यालय जोड्ने सडक कालोपत्र गरेको छ । गाउँपालिकाले प्रदेश सरकारको आर्थिक सहयोगमा जलजलादेखि रेश एक्लेफाँटसम्मको साढे ५०० मिटर सडक कालोपत्र भएको गाउँपालिका अध्यक्ष थापाले जानकारी दिए । ८ ओटा वडा रहेको गाउँपालिकामा कालोपत्र भएको सडक नै पहिलो सडक खण्ड हो ।
गाउँपालिकाले निर्वाचनको पाँच वर्षभित्र गाउँपालिका केन्द्रदेखि प्रत्येक वडा कार्यालसम्मको सडकलाई कालोपत्र गर्ने घोषण गरेको थियो । स्थानीय तहमा जनप्रतिनिधि आएपछि काठेखोलामा पहिलो पटक सडक पक्की गर्न थालिएको हो । अन्य वडाको कार्यालयसम्म जोड्न सडकको विस्तृत योजना प्रतिवेदन तयार गरेको छ ।
यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा शाखा सडक निर्माण बन्द गर्ने भएको छ । गाउँपालिकाले पुरानै सडकलाई स्तोरन्नति गर्ने र नयाँ सडक निर्माणलाई स्वीकृति नदिने नीति तथा कार्यक्रममाबाट पारित गरेको छ ।
गाउँपालिकाको सवै वडामा सडक सञ्जाल पुगिसकेको र मुख्य सडकहरु गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकहरुलाई थप स्तरोन्नति गर्दै आव २०७८/०७९ बाट ग्रावेल, ढलान र कालोपत्र गर्ने कामलाई पहिलो प्राथमिकता दिएर नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गर्ने अध्यक्ष थापाले बताए ।