मंसिर १७, काठमाडौं । सापटी दिएको रकम केही दिनको अबनाएर दिने प्रलोभनको पछि लाग्दा सर्वसाधारण ठगिएका छन् ।
कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट १ करोड २२ लाख रुपैयाँ ठगिएको हो । यसरी ठगी गर्ने उनीहरुले मानिसहरुसँग रकम लिएर केही दिनमा दोब्बर फिर्ता गर्ने आश्वासन दिएका थिए । तर लामो समयसम्म पनि रकम फिर्ता नपाएपछि ठगिएका व्यक्ति प्रहरीसमक्ष पुगेका थिए ।
प्रहरीले सो कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका–१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल छन् । उनीहरुलाई विभिन्न मितिमा काठमाडौंबाट पक्राउ गरी कानूनी कारबाही थालिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।
उक्त सूचना आएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा बेन्जामिन फ्रयाङ्कलिन भनेर चिनाउने विदेशी नागरिकले आफू प्लाष्टिक सर्जन डाक्टर भएको र कोर्सका लागि मलेशिया आएकामा आफूसँग भएको सबै रकम लुटिएको भन्दै रकम पठाई सहयोग गरेमा बेलायत पुगेपछि सबै रकमको दोब्बर रकम फिर्ता दिने प्रलोभन देखाएका थिए ।
ती विदेशी नागरिकले प्रलोभन देखाई भण्डारी र भुजेलसमेतको बैंक खाता नम्बर प्रयोग गरी विभिन्न मितिमा भण्डारीको नामको गरिमा विकास बैंकको खातामा ७८ लाख रुपैयाँ, भुजेलको नामको नविल बैंकको खातामा ९ लाख ५० हजार रुपैयाँ र अन्य मानिसबाट थप रकमसमेत गरी ठगी गरेको प्रहरीले बताएको छ ।
अभियुक्तहरुलाई ठगीसम्बन्धी कसूरमा आवश्यक अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।