उद्योग परिसंघद्वारा भारत र बंगलादेश लक्षित पर्यटन प्रबद्धर्न अभियान सुभारम्भ

नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानको सुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान संचालन गरेको बताए । हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास उनको छ । “पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो” उनले भने । परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान संचालन गरेको उनले बताए । यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालको छ । भारत र बंगलादेश दु्रत रुपमा बृद्धि भइरहेको बजार हो । यिनिहरुको आर्थिक बृद्धि पनि उच्च छ । नेपालसँग हवाई संजाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ । तर, उनीहरुलाइ हाम्र्रो गन्तव्य, मौसमको बारेमा जानकारी गराउनु पनि पर्छ । सोही उद्देश्य अनुरुप परिसंघले यो अभियान संचालन गरेको हो । सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ । यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिड पछि उनीहरु विस्तार बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको हो । नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । “नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ” उनले भने ।परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताए । परिसंघले भारतमा अल इन्डीया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन इन्डस्ट्रीज, फेडेरेसन अफ इन्डीयन च्याम्बर्स अफ कमर्स एण्ड इन्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताए । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ । परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान संचालन गर्न लागिएको जानकारी गराइन् । उनले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गरिन् । पत्रकार सम्मेलनमा परिसंघको पर्यटन समिति सदस्यहरु अशोक पोख्रेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाट्टा अध्यक्ष रमेश थापा, सुरेश बुडाललगायतले परिसंघले संचालन गरेको यो अभियानले भारत, बंगलादेश मात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्था एवं व्यवसायीहरुलाई यो अभियानको अपनत्व लिदै आ आफ्नो सञ्जालबाट थप प्रबद्र्धन गर्न परिसंघले आग्रह गरेको छ । 

सम्बन्धित सामग्री

पुसमा रत्ननगर महोत्सव, कृषि प्राथमिकतामा

चितवन। चितवनको रत्ननगरमा आयोजना गरिने ‘रत्ननगर महोत्सव–२०८०’ को तयारी शुरू भएको छ । रत्ननगर उद्योग वाणिज्य संघले दुई–दुई वर्षमा गर्दै आएको महोत्सवको १२औं संस्करण पुस २६ देखि माघ ८ गतेसम्म सञ्चालन हुने बताइएको छ । महोत्सवको तयारी स्वरूप स्टल बुकिङका साथै आन्तरिक व्यवस्थापनको काम भइरहेको संघका अध्यक्ष तथा महोत्सव संयोजक शंकर गिरीले जानकारी दिए । महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता गरिने आयोजकको भनाइ छ । महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक अन्तरक्रिया गरिने संयोजक गिरीले बताए । महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार व्यवसाय र अन्य आर्थिक महत्त्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको बताइएको छ । पाँच सय स्टल रहने महोत्सवमा भारत, पाकिस्तान, बंगलादेश र चीनका प्रदर्शकसमेत रहने बताइएको छ । महोत्सवअन्तर्गत फुड फेस्टिवल समेत हुनेछ ।

उद्योग परिसंघद्धारा भारत र बंगलादेश पर्यटन प्रवर्द्धन अभियानको सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । बिहीबार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको […]

विराटनगरबाट सगरमाथा बेस क्याम्पसम्म सडक आवश्यक

पूर्वी नेपालको आर्थिक गतिविधिका अलावा राजनीतिक, सामाजिक, शैक्षिक, स्वास्थ्य लगायत विभिन्न क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको ऐतिहासिक औद्योगिक नगरी विराटनगरले नेपालको अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउनुका साथै मुलुककै औद्योगिक, व्यावसायिक हबको रूपमा पहिचान बनाएको छ ।  यस क्षेत्रको व्यापार, व्यवसायलाई राष्ट्रिय एवं अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन र अझ प्रभावशाली पार्ने उद्देश्यले मोरङ व्यापार संघले समय समयमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ । संघले विगतमा आयोजना गरेका एक्स्पोहरूले उदाहरणीय सफलता हासिल गरेको स्मरण गराउन चाहन्छौं ।  यसै क्रममा यस वर्ष पनि संघले चैत १८ देखि २६ गतेसम्म अन्तरराष्ट्रिय स्तरको ‘ट्रेड एक्स्पो २०२२’ आयोजना गरेको छ । ९ दिन चल्ने यो एक्स्पोले विगतमा झैं उद्यमी, व्यवसायी र उपभोक्ताबीच सुमधुर सम्बन्ध कायम गराउने तथा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका अतिरिक्त सबै प्रदेशको महत्त्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य, लगायत औद्योगिक उत्पादन एवं भारत, चीन, बंगलादेश, पाकिस्तान आदि मुलुकका समेत उत्पादन समेट्ने जमर्को गरेको छ । साथै, यो एक्स्पोले दर्शकका लागि प्रशस्त मनोरञ्जनात्मक सामग्री समेत लिएर आएकाले यसबाट भरपूर लाभ लिन सबैमा आग्रह गर्दछु । यो मौकामा म हाम्रा केही धारणा प्रस्तुत गर्ने अनुमति चाहन्छु । देशको अहिलेको अवस्था अत्यन्त जर्जर छ । कोभिड महामारीको मारबाट उम्कन नपाउँदै उद्योगी, व्यवसायी  मीरगञ्ज पुल, चर्को बैंक ब्याज, पूँजीको अभाव, विद्युत् अभाव लगायत कैयौं समस्याले ओझेल परेका छन् । प्रधानमन्त्रीज्यूलाई मोरङ व्यापार संघका पूर्वअध्यक्ष महेश जाजूलाई भारत भ्रमणको टोलीमा प्रतिनिधित्व गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद दिँदै मीरगञ्ज पुलको समस्या यथाशीघ्र समाधान गराउन पहलका लागि अनुरोध गरिसकिएको पनि जानकारी गराउँदछु ।  हाम्रो मुलुकमा पर्यटकीय दृष्टिले प्रचूर सम्भावना छ । अहिले हामी विराटनगर जस्तो नेपालको पौराणिक, ऐतिहासिक तथा औद्योगिक नगरमा छौं । यो प्रदेश नं १ को राजधानी पनि हो । १४ जिल्ला र १३७ स्थानीय तह रहेको यो प्रदेश ५८ मीटरको उचाइमा रहेका केचनकवलदेखि ८ हजार ८४८ मिटरको सगरमाथासम्म फैलिएको छ । यस प्रदेशमा तराई, चुरे, महाभारत र पाँच उच्च हिमशिखर छन् । समुद्रसँगको पहुँचको दृष्टिले सबभन्दा नजिक रहनु, उत्तरमा चीन, पूर्व तथा दक्षिणमा भारतका तीन राज्यसँग जोडिएको अवस्था, जनसंख्या, क्षेत्रफल र कूल गार्हस्थ उत्पादनको दृष्टिले सन्तुलित, मानव विकास सूचकमा अगाडि, आयको दृष्टिले औसतभन्दा माथि रहनु, कृषि अनुकूल धरातल, रेल र सडक मार्ग समेतका भौतिक संरचनाको उपलब्धता, औद्योगिक क्षेत्र, ड्राईपोर्ट तथा भन्सार व्यवस्थापन र अन्य औद्योगिक पूर्वाधार तथा बजार, जल, सौर्य, बायो र वायु समेतका ऊर्जा उत्पादन गर्न सकिने अत्यधिक सम्भावना रहनु यस प्रदेशका सबल पक्ष हुन्, जसले यस क्षेत्रको आर्थिक विकासको सम्भावना बढाएका छन् ।  उदाहरणकै रूपमा भन्नुपर्दा, हामीले सगरमाथाको फेदीसम्म प्रादेशिक राजधानीबाट सडक निर्माण गर्न सके यस प्रदेशको कायापटल हुन सक्ने सम्भावना छ । त्यस्तै, चतरालाई भारतको बनारस जस्तो धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गरिनु पर्दछ । भेडेटारको सौन्दर्यीकरणमा काम गर्न सके ठूलो फड्को मार्न सकिन्छ । प्रदर्शनी स्थल निर्माणका लागि हामीले जग्गा लिजमा खोजिसकेका छौं । अब प्रदर्शनी स्थलमा भौतिक संरचना बनाउन बजेटका लागि पहल गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं ।  (रिजालले एक्स्पो उद्घाटन सत्रमा दिएको मन्तव्यको सम्पादित अंश ।)