नेपाल उद्योग परिसंघद्वारा भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियानको शुरुवात

जेठ १९, काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन शुरु गरेको छ । बिहीवार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकृतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको बताएको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड - १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरेको बताए । उनले हाल भारत एवं बंगलादेशमा निकै गर्मी रहेको र गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास लिएको बताए । उनले भने, ‘पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रवर्द्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो ।’ त्यस्तै नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि  नेपालको मौसम अनुकुल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे । उनले कोभिडका कारण बाहिर निस्किन नसकेका पर्यटकहरुले यसको लाभ लिने बताए । त्यस्तै परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताए । उनले नेपाल पर्यटनको लागि उचित र राम्रो गन्तव्य रहेको बताए ।  परिसंघले भारतमा अल इण्डिया एशोसिएशन अफ इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन इण्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रीज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग सहकार्य गर्दै आएको छ । साथै उसले बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीसँग पनि सहकार्य गर्दै आएको बताएको छ ।  

सम्बन्धित सामग्री

उद्योग परिसंघद्धारा भारत र बंगलादेश पर्यटन प्रवर्द्धन अभियानको सुरु

काठमाडौं । नेपाल उद्योग परिसंघले भारत र बंगलादेशका पर्यटकलाई लक्षित गर्दै समर टुरिजम क्याम्पेन चलाएको छ । बिहीबार परिसंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भारत र बंगलादेशमा रहेका प्रकेतिप्रेमीहरुलाई नेपाल घुमाउन समर टुरिजम क्याम्पेन शुरु गरेको हो । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत बिस्तारै बाहिर निस्कन थालेको […]