काठमाडौं । शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रूपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसंघका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ । दुईपटक राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्त्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ । मानवअधिकार परिषद्, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सीईडीएडब्ल्यू), लागूऔषध नियन्त्रणसम्बन्धी आयोग, जनसंख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगको सदस्यमा निर्वाचित नेपालले अन्तरराष्ट्रिय समुदायसँग मिलेर काम गर्ने अवसर पाएको छ । सीईडीएडब्ल्यूको आगामी तीन वर्ष, मानवअधिकार परिषद् र लागूऔषध नियन्त्रण आयोगको आगामी दुई वर्ष, जनसंख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगमा सदस्यका रूपमा नेपालले यो वर्षभरि विश्वसमुदायसँग नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएको छ ।
सन् २०२१ सम्म नेपालले लैंगिक समानता तथा सशक्तीकरणका लागि संयुक्त राष्ट्रसंघीय निकाय (यूएन वुमन), राष्ट्रसंघीय महासभाको आर्थिक तथा वित्तीय समितिको अध्यक्ष र कानून समितिको उपाध्यक्षको रूपमा काम गरिसकेको छ । नेपालले आफ्नो बहुपक्षीय संलग्नतामा उक्त विश्व संस्थालाई सुधार गर्न र त्यसलाई अझ सक्रिय, प्रभावकारी र सक्षम बनाउनुपर्नेमा जोड दिँदै आएको छ । साथै राष्ट्रसंघको बडापत्रलाई आफ्नो परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तको रूपमा अँगालेको छ भने उक्त संस्थालाई बहुपक्षवादको केन्द्रबिन्दु मानेको छ ।
राष्ट्रसंघसँग नेपालको सहकार्यले शान्ति सुरक्षा, विकास र मानवअधिकार जस्ता राष्ट्रसंघीय प्रणालीका तीनओटै स्तम्भलाई सुदृढ तुल्याउन योगदान पुगेको छ । नेपालले विश्वका जटिल समस्यालाई सम्बोधन गर्ने उपयुक्त संस्था संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त विषम भूगोल र प्रतिकूल मौसम भएका स्थानमा सेना र प्रहरी पठाएर योगदान गर्ने नेपाल राष्ट्रसंघमा शान्ति सेना परिचालन गर्ने चौथो ठूलो राष्ट्र भएको छ । यसबाट विश्वशान्ति स्थापनाका कार्यमा नेपालको प्रतिबद्धता झल्कन्छ । नेपाली शान्ति सैनिकले कोभिड–१९ महामारीको दोहोरो चुनौतीसँग लड्न र दिगो शान्ति कायम गर्न द्वन्द्वको चपेटामा परेका देशहरूलाई मद्दत गरेका छन् । रासस