काठमाडौं (अस) । सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक सदस्यलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालीम दिएको छ । संस्थाले गत सोमवारदेखि बुधवारसम्म रूपन्देहीको शुद्धोधन–४ स्थित फर्साटिकरमा उक्त तालीम दिएको हो । संस्थाका नायब महाप्रबन्धक पवनकुमार श्रेष्ठले व्यावसायिक तरकारी खेतीका लागि करेसाबारीको परिचय, महत्त्व, तरकारीको नर्सरी बनाउने तरीका, हिउँदे तरकारीखेती प्रविधिका बारेमा तालीम दिइएको बताए ।
त्यसैगरी फलवाला तरकारी खेती प्रविधि, लहरे खेती प्रविधि, जरे तरकारी खेती प्रविधि, कोसे तरकारी खेती प्रविधि लगायतका बारेमा जानकारी गराइएको उनले बताए । साथै तरकारी खेतीमा मलखादको प्रयोग, सिँचाइ तथा व्यवस्थापन, सागबाली खेती र बेमौसमी तरकारी खेती प्रविधि, तरकारी बालीमा लाग्ने रोग तथा कीराहरूको बारेमा सहभागीहरूलाई जानकारी गराइएको थियो ।
श्रेष्ठका अनुसार विषादी व्यवस्थापन, तरकारी बालीमा उचित पोस्ट हार्भेस्ट, बेचबिखन तथा बजार व्यवस्थापन विषयमा ग्राहक सदस्यलाई प्रशिक्षण दिइएको थियो । त्यस्तै संस्थाले प्रदान गर्दै आएका सेवाहरू, बचतको महत्त्व र बचतका प्रकार, व्यावसायिक योजना, वित्तीय साक्षरता लगायत विषयमा समेत सहभागीहरूलाई जानकारी दिइएको बताइएको छ । व्यावसायिक तरकारी खेतीका लागि तालीम प्रभावकारी हुने संस्थाका नायब महाप्रबन्धक श्रेष्ठको भनाइ छ ।
केन्द्रीय कार्यालय तनहुँको बन्दीपुर–१ डुम्रेमा रहेको यस संस्थाले देशको ग्रामीण क्षेत्रमा सेवा दिँदै आएको छ । गत चैत मसान्तसम्ममा ७१ हजार ३ घरधुरीमा सेवा विस्तार गरेको संस्थाको भनाइ छ । संस्थाका अनुसार चैत मसान्तसम्ममा ग्राहक सदस्यको १ अर्ब २५ करोड रुपैयाँ बचत रहेको छ भने ४ अर्ब ५९ करोड रुपैयाँ कर्जा परिचालन गरिएको छ ।