अबको पालो सरकारी बैंकहरूको मर्जर : नेबैलि र रावाबैंकबीच मर्जर गर्न सहज

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई बिग मर्जरमा जान बाध्य पार्ने नीति लिए पनि परिणाम त्यति सन्तोषजनक नआइरहेको सन्दर्भमा अहिले भने केन्द्रीय बैंकबाट विगतमा हुँदै आएको बैंक वित्तीय संस्थाहरूको बिग मर्जरसम्बन्धी नैतिक दबाबले काम गर्न थालेको अनुभूत भएको छ । खासगरेर, वित्तीय क्षेत्रमा हाल कायम रहेका बैंक तथा वित्तीय संस्थाहरूको संख्या धेरै भए पनि तिनले दिँदै आएको सेवामा भने कुनै तात्त्विक भिन्नता देखिएको छैन । तिनले दिने सेवाको प्रतिस्पर्धामा समेत कुनै अलग र फरक अनुभूति भएको पाइँदैन । त्यसै कारण ती संस्थाको मर्जर भई पूँजीगत रूपले ठूलो हुने र संस्थागत सुशासन हुनेलगायत लाभको कुरा गरेर तिनलाई मर्जरमा जान केन्द्रीय बैंकले अभिपे्ररित र प्रोत्साहितसमेत गर्दै आएको हो । आन्तर्यमा यो नीतिले एक तीरले दुई ओटा शिकार गर्ने अभीष्ट राखेको हो । तथापि, प्रक्रियामा गइसकेका कतिपय संस्थाहरूको मर्जर स्वाभाविक रूपमा अघि बढ्न सकिरहेको थिएन । कतिपय बैंकको मर्जर प्रक्रिया शुरू भएर पनि बीचैमा भंगसमेत भएका थिए । त्यसरी बीचैमा प्रक्रिया तोडेर केन्द्रीय बैंकलाई समेत चुनौती दिने संस्थाहरूलाई नियामक निकाय बैंकले कारबाहीसमेत गरेको जानकारी बाहिर आएकै हो । तर, यता पछिल्लो समयमा भने केही वाणिज्य बैंकहरू (क वर्गका वित्तीय संस्था) को मर्जरले भने वित्तीय क्षेत्रमा बेग्लै तर सुखद सन्देश प्रवाह गरेको छ । बैंक अफ काठमाण्डूलाई ग्लोबल आईएमई बैंकले प्राप्ति गरेपछि उक्त बैंक पूँजीगत रूपमै सबैभन्दा ठूलो बैंक बनेको सन्देश प्रवाहित भयो । त्यसको केही दिनमै नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकको मर्जर भएपछि ग्लोबलभन्दा केही सानो भए पनि पूँजीगत आकारले ठूलो बैंक बनेको सन्देश पनि यो क्षेत्रमा प्रवाहित भयो । कुमारी बैंक र एनसिसि बैंक, हिमालयन बैंक र सिभिल बैंक पनि परस्परमा गाभिएर ठूला बनेका छन् । अहिले सरकारले बैंकहरूमा लगानी गरिराख्नुको कुनै औचित्य नै देखिँदैन किनभने निजीक्षेत्रका बैंक नै पर्याप्त छन् र राम्ररी सञ्चालनमा रहेका छन् । केन्द्रीय बैंकले समेत वित्तीय संस्थाहरूबाट लगानी डाइभेस्टमेन्ट गरिरहेको छ । गतवर्ष इन्भेष्टमेण्ट र हिमालयनको मर्जर तोडिनुमा भने मर्जरको स्वाभाविकताले भन्दा पनि तिनका सञ्चालकबीचको जुँगाको लडाइँले राम्रैगरी काम गरेको हो । अहिले ती दुवै बैंकहरू फरकफरक बैंकहरूसित मर्जरमा गएर भए पनि आप्mनो गुमेको साख जोगाएका छन् । यो राम्रो सन्देश हो । यसै पनि नेपाली वित्तीय क्षेत्रमा धेरै बैंकहरू भएर पनि सेवा प्रवाहमा कुनै तात्त्विक भिन्नताको अनुभूति नहुनु, प्रतिस्पर्धाका नाममा कार्टेलिङ हुनु, विगत ३ वर्षदेखि यो क्षेत्रले भोग्दै आएको तरलता संकुचनको समस्यामा कुनै प्रगति आउन नसक्नुले के देखाउँछ भने संख्या धेरै हुँदैमा वित्तीय क्षेत्रको समस्या समाधान नहुने रहेछ । अर्कातिर, केन्द्रीय बैंकलाई समेत विगतमा धेरै संख्यामा लाइसेन्स बाँडेको आरोप लाग्दै आएको तथ्यलाई समेत हेर्दा मर्जर उसका लागि एक नीतिगत अस्त्र रहेको देखिएको छ । यो गलत होइन, तर मर्जर स्वैच्छिक हुनसक्यो भने चाहिँ त्यसले बजारमा राम्रो संकेत र सन्देश दिन्छ । जे होस्, अहिले बैंकहरूबीच मर्जरमा जानैपर्छ भन्ने एक खालको परोक्ष दबाब देखिनुलाई नराम्रो भन्न नमिल्ला । तर, यसको अर्थ यो होइन कि आगत समयमा पुनः बैंकहरूको नयाँनयाँ संख्या थप्दै जाने । त्यसो भयो भने कुनै पनि मर्जरले सफलता पाउन सक्दैन । वास्तवमा मर्जर, प्राप्ति, विघटन, खारेजी, व्यवस्थापन करार आदि कम्पनीका नियमित प्रक्रियाभित्रकै कुरा हुन् । झट्ट हेर्दा यो मर्जर निजीक्षेत्रका वित्तीय संस्थाहरूका लागि मात्र हो कि ? भन्ने अर्को सन्देश पनि सँगसँगै प्रवाह भएको छ । किनभने सरकारी क्षेत्रका हाल कायम रहेका तीनओटा बैंकलाई मर्जरमा लैजाने विषयमा न कुनै सुरसार देखिएको छ न तिनका लागि कुनै क्षेत्रबाट आवाजै आएको छ । धेरै ढिलो गरेर केन्द्रीय बैंकका गभर्नरबाट हालै कुनै बैंकको वार्षिक सभामा आवश्यक पर्‍यो भने सरकारी क्षेत्रका बैंकहरू पनि मर्जरमा जानका लागि सुझाव दिएको समाचार आयो । यसले सरकारी बैंक पनि मर्जरमा जान सक्ने सन्देश बाहिरिएको हुँदा तत्काल तिनका लागि मर्जर अहिलेको आवश्यकता होइन कि ? भन्ने पनि चर्चा वित्तीय क्षेत्रमा हुन थालेको छ । वित्तीय क्षेत्रको पटकपटकको सुधारका कारण अहिले सरकारी पूर्ण स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक (रावाबैं) र अधिकांश स्वामित्वमा रहेका नेपाल बैंक लिमिटेड (नेबैलि) र कृषि विकास बैंक नाफामै देखिएका छन् । रावाबैंकले त यो बेलासम्म सर्वसाधारणका लागि ३० प्रतिशत शेयर सार्वजनिक वितरणका लागि निष्कासन गरिसक्नुपथ्र्याे, तर यसो गरेको देखिएन । यो वर्ष रावा बैकले लाभांशसमेत घोषणा गरेको हुँदा अब सर्वसाधारणका लागि शेयर जारी गर्ने यो उपयुक्त समय पनि हो । तर, यसमा सरकार केही बोलेको देखिँदैन । साँच्चै भन्ने हो भने अहिले सरकारले बैंकहरूमा लगानी गरिराख्नुको कुनै औचित्य नै देखिँदैन किनभने निजीक्षेत्रका बैंक नै पर्याप्त छन् र राम्ररी सञ्चालनमा रहेका छन् । केन्द्रीय बैंकले समेत वित्तीय संस्थाहरूबाट लगानी डाइभेस्टमेन्ट गरिरहेको छ । वित्तीय क्षेत्रमा निजीक्षेत्रको राम्रै अनुभव र व्यवस्थापन रहेको कुरा त अहिलेसम्मकै कार्यकलापबाट पनि अवगत हुन्छ । तिनमा सरकारी बैंकहरूमा जसरी कुनै पनि निजी बैंकलाई उद्धारको प्रयास अहिलेसम्म गर्नुपरेको देखिँदैन । यसैले अब सरकारी क्षेत्रका तीनओटा बैंकलाई पनि परस्पर मर्जरमा लानु सामयिक हुन्छ । खासमा भन्ने हो भने कृषि विकास बैंकलाई उसको पुरानो स्वरूपमै परिवर्तन गरेर कृषि, लघुउद्यम क्षेत्रमा मात्र विशेष प्रकृतिको कारोबारमा संलग्न गराउनेतर्फ सरकार र केन्द्रीय बैंकले सोच्न ढिला गर्नु हुँदैन । नेबैलि र रावाबैंकलाई एउटै बनाएर लैजान सकिन्छ । नेबैलिका भौतिक संरचनाहरू पनि देशभर छन् । दुवै बैंक सरकारी कारोबार गर्ने बैंक भएकाले तिनको मर्जर अरू सहज होला । सरकार्री लगानीमा नै राख्ने सोच रहिरहे पनि तिनलाई मर्जर गरी सरकारी क्षेत्रकै ठूलो बैंक बनाएर निजीक्षेत्रसित प्रतिस्पर्धामा उतार्न सकिन्छ । निजीक्षेत्रका बैंक निकै ठूला भइसकेकाले तीसँग प्रतिस्पर्धा गर्न पनि सरकारी बैंकलाई निजीकरण गरिनु आवश्यक छ । सरकारलाई सरकारी कारोबारको चिन्ता हो भने एभरेष्ट बैंकले र अरू बैंकहरूले पनि यो क्षेत्रमा राम्रै काम गरेका उदाहरण छँदै छन् । मुल कुरो, मर्जरको यस्तो प्रयास भइरहँदा समेत सरकारी बैंकहरू भने मर्जरमा उदासीन छन् । यसले तिनलाई चाहिँ मर्जरको नीति लागू हुँदैन भन्ने सन्देश त गइरहेको होइन ? यतापट्टि चाहिँ सोच्ने समय आएको छ । यसले अन्य वित्तीय संस्थाहरूलाई पनि मर्जरको औचित्यमाथि दबाबभन्दा पनि सहजता नै थप्ने देखिन्छ । प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

सम्बन्धित सामग्री

वायु सेवा कम्पनीमा मर्जर

बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको मर्जरपछि अहिले वायुसेवा कम्पनीहरूलाई समेत मर्जरमा जान दबाब दिने खालको मापदण्ड लागू गर्न लागिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले हवाई सेवा सञ्चालन सर्टिफिकेट गाइडलाइन्सको दशौं संशोधनमार्फत सञ्चालनमा रहेका वायुसेवा कम्पनीलाई ५ वर्षको अवधि दिएर न्यूनतम जहाज संख्या ५ कायम गर्न लगाउने तयारी क्यानको छ । आफैले किनेर ५ जहाज पुर्‍याउन नसक्ने कम्पनी मर्जरमा गएर पनि पाँचओटा विमान पुर्‍याउनैपर्ने क्यानको भनाइ छ । यसरी वायुसेवा कम्पनीहरूलाई मर्जरमा जान बाध्य पार्ने नीति सरकारले लिएको देखिन्छ । के मर्जरमा जाँदैमा वायुसेवा कम्पनीहरू सबल बन्छन् त ? मर्जरबाट सिनर्जी प्रभाव पर्छ भन्ने मान्यता रहेको छ । दुई कम्पनी एक हुनासाथ तिनको आकार, व्यवसाय बढ्ने र लागत घटी कम्पनीले नयाँ रूप लिन्छ भन्ने मानिन्छ । तर, नेपालको सन्दर्भमा यो मान्यता यथार्थमा परिणत भएको छैन भन्न सकिन्छ । बैंकिङ क्षेत्रमा ल्याएको मर्जर नीतिले बैंकहरू ठूला त बने तर बलिया बनेनन् । ती ठूला पूँजीकोषको भारले थिचिएर कमजोर देखिएका छन् । बीमा कम्पनीमा भर्खर मर्जर शुरू भएकाले त्यसको विश्लेषण गर्ने बेला भइसकेको छैन ।  नीतिगत परिवर्तन गर्दा सरकारले सरोकारवाला पक्षसँग पर्याप्त छलफल गर्नु आवश्यक हुन्छ । सरोकारवालाई विश्वासमा नलिई, उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरी गरिने मर्जर सफल हुन सक्दैन । मर्जर मात्रै होइन, यस्तो तरिकाले कुनै पनि सरकारी नीति सफल हुन सक्दैन भन्ने कुरा सरकार र नियामकले बुझ्नु जरुरी छ । कम्पनीहरू बलियो हुन मर्जर उपयुक्त मानिन्छ । मर्जर सरकारले कानुन बनाएर बाध्य पारेर हुने होइन । व्यवसायको बिस्तार र कम्पनीको रणनीतिले नै मर्जर तय हुने हो । बैंकिङ क्षेत्रमै पनि व्यावसायिक आवश्यकता देखेर भएका मर्जरले नराम्रो परिणाम दिएको देखिएको छैन । नेपालमा मर्जरबाट हुने लाभबारे अध्ययन नै नगरी नीति बनाउने गरेको देखिन्छ । राष्ट्र बैंकजस्तो बेग्लै अनुसन्धान एकाइ भएको संस्थाले समेत मर्जरबारे पर्याप्त अध्ययन गरेको देखिएन । त्यही भएर नै बैंकहरूको मर्जर राष्ट्र बैंकले सोचेजस्तो सफल भएन । वायुसेवा कम्पनीमा पनि मर्जरबारे पर्याप्त अध्ययन भएको छैन । खालि थोरै विमान भएका कम्पनीलाई रोक्ने नियत देखिन्छ । हो, वायु सेवा कम्पनीसँग जति धेरै विमान हुन्छ त्यति सञ्चालन खर्च कम हुन्छ । मर्मत आदिमा हुने खर्च पनि कम गर्न सकिन्छ । धेरै विमान हुँदा उडान तालिका मिलान गरी किफायती उडान गर्न सकिन्छ । एकै कम्पनीका विमान धेरै हुँदा अझ सजिलो हुन्छ । त्यसैले मर्जर उपयुक्त नै देखिन्छ । तर, सरकारले बाध्य बनाएको मर्जरले भने अपेक्षित परिणाम दिन त्यति सहज हुँदैन । फेरि सरकारले वायु सेवा कम्पनीका लागि लिन खोजेको मर्जर नीति भूतप्रभावी हो भनेर पनि ख्याल गरिएको देखिएन । विधिशास्त्रीय मान्यताअनुसार भूतप्रभावी कानून लागू गर्न मिल्दैन । त्यसो त नेपालमा बैंक तथा वित्तीय संस्थाको हकमा भने भूतप्रभावी कानूनलाई बेवास्ता गरिएको उदाहरण नभएको होइन, तर मर्जरमा जाने बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले सहुलियत दिएर विश्वासमा लिएको थियो । वायु सेवा कम्पनीहरूलाई भने त्यस्तो नीति के हुने हो स्पष्ट छैन ।  नेपालमा वायुसेवा कम्पनीहरू धेरै भए पनि एक दुईओटा हेलिकोप्टरबाट मात्रै सेवा दिने कम्पनी पनि नभएका होइनन् । विद्यमान प्रावधानअनुसार खुलेका यी कम्पनीलाई मर्जरमा जान बाध्य पार्नु वा विमान थप्न लगाउनु नियामकको कुनै प्रयोजन होला । तर, यस्तो नीतिले व्यवसायमा अनिश्चितता थप्छ । सरकारले लिने यस्ता नीतिगत अनिश्चितताले निजीक्षेत्रलाई ढुक्क भएर लगानी गर्न रोक्छ । अत: नीतिगत परिवर्तन गर्दा सरकारले सरोकारवाला पक्षसँग पर्याप्त छलफल गर्नु आवश्यक हुन्छ । यो नीतिमा सरोकारवालाले असन्तुष्टि देखाएका छन् । यसरी सरोकारवालाई विश्वासमा नलिई, उनीहरूको चासो र चिन्तालाई सम्बोधन नगरी गरिने मर्जर सफल हुन सक्दैन । मर्जर मात्रै होइन, कुनै पनि सरकारी नीति सफल हुन सक्दैन भन्ने कुरा सरकार र नियामकले बुझ्नु जरुरी छ ।

मौद्रिक नीतिमार्फत शेयर कर्जामा ४/१२ को क्याप हटाउन अध्यक्ष मैनालीको सुझाव

अध्यक्ष मैनालीले मर्जर तथा प्राप्तिका कारण शेयर कारोबार रोक्का हुन नहुने व्यवस्था गर्न राष्ट्र बैंकलाई सुझाव दिनुभयो । उहाँले मौद्रिक नीतिमा ब्रोकरमार्फत मार्जिन लेण्डिङको व्यवस्था सहज बनाउनुपर्ने पनि बताउनुभयो ।

बलजफ्ती मर्जरको परिणति

हिमालयन बैंक र नेपाल इन्भेस्टमभेन्ट बैंकबीच मर्जर प्रक्रिया शुरू भए पनि अन्तिममा आएर हिमालयन बैंकको साधारणसभामा प्रस्ताव पारित हुनका लागि आवश्यक मत नपुगेपछि मर्जर नै भाँडिएको छ । यसले मर्जरका बारेमा बेग्लाबेग्लै विवाद र छलफल उठान गरेको छ । बैंकहरूको संख्या घटाउने उद्देश्यका साथ राष्ट्र बैंकले मर्जरका लागि दबाब दिने रणनीति लिएको छ । तर, यसले उसको नियामकीय भूमिकामाथि पनि प्रश्न उठाएको छ । बैंकहरूको मर्जर भनेको कम्पनीहरूले आफ्नो आवश्यकताअनुसार गर्ने हो । तर, दबाबमा मर्ज गर्न लगाउँदाको परिणति मान्न सकिन्छ, मर्जर भाँडिनुमा । केन्द्रीय बैंकजस्तो अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिने निकायले बैंक तथा वित्तीय संस्थाहरूबारे अपरिपक्व रणनीति लिएको छ । कुनै बेला आँखा चिम्लेर नयाँ बैंक खोल्न दिएर संख्या बढाउन लागिपरेको निकाय अहिले त्यही संख्या नियन्त्रण गर्न मरिहत्ते गरेर लागेको छ । नेपालको अर्थतन्त्रको आकार र वित्तीय अवस्था हेरेर कस्ता र कति बैंक आवश्यक पर्छ भन्ने अध्ययन राम्ररी नगर्दाको परिणति नै यस्तो अस्थिर नीति देखापरेको हो भन्न सकिन्छ । कुनै नीतिमा समस्या देखिए त्यसमा सुधार गर्नैपर्छ । तर, त्यो नीति कार्यान्वयनमा देखिएका समस्या सम्बोधन गर्नैपर्छ र त्यसलाई अलिक लामो समयसम्म काम गर्न दिनुपर्छ । तर, संख्या बढाउने र घटाउने नीतिमा राष्ट्र बैंकले धैर्य गर्न नसकेको देखिन्छ । धेरैले ठूला बैंकहरूलाई मर्ज गराउनु हुँदैन, यस्ता बैंक असफल हुन सक्छन् र भए भने त्यसको असर मुलुकले थेग्न सक्दैन भनेर बारम्बार केही विज्ञहरूले आवाज उठाइरहे पनि राष्ट्र बैंक मर्जरको एकोहोरो रटानमा लागिपरिरहेको छ । वास्तवमा कम्पनी वा बैंकहरूको मर्जर भनेको कम्पनीहरूले आप्mनो आवश्यकताअनुसार गर्ने हो । तर, दबाबमा मर्ज गर्न लगाउँदाको परिणति मान्न सकिन्छ, मर्जर भाँडिनुमा । हुन त साधारणसभाले सञ्चालक समितिलाई मर्जरका लागि आवश्यक निर्णय गर्न अधिकार दिइसकेको अवस्थामा समितिले पारित गरेको प्रस्तावलाई साधारणसभाले अस्वीकृत गर्न उपयुक्त हो कि होइन भन्ने पनि प्रश्न उठेको छ । मर्जर भाँडिएपछि राष्ट्र बैंकले दुवै बैंकलाई कारबाही गर्ने भन्ने कुरा प्रचारमा आएको छ । जब कम्पनीका शेयर होल्डर नै मर्जर चाहँदैनन् भने त्यसमा राष्ट्र बैंकले किन कारबाही गर्ने भन्ने प्रश्न उठेको छ । राष्ट्र बैंकले नियामकीय दायराबाहिर गएर बैंकहरूमा सूक्ष्म व्यवस्थापन गर्न थालेको र नियन्त्रणमा लिन खोजेको आरोपसमेत केहीले लगाइरहेका छन् । शेयर होल्डरहरूले आवश्यक नदेखेकै हो भने त्यसमा नियामकले शेयरहोल्डरले पाउने लाभांश आदि रोक्का गर्नुको औचित्य पनि देखिँदैन । हुन त यसरी मर्जर भाँडिएपछि शेयरहोल्डरहरू मर्कामा पर्ने गरेका छन् र यस मर्जरमा पनि परेका छन् । यी दुवै बैंकको शेयर किनबेच रोक्का गरिएको बेलामा भन्दा बीचमा शेयरबजार निकै उचालिएको थियो । त्यति बेला यसको कारोबार गर्न पाएको भए शेयर विक्री गरेर लाभ लिन खोज्नेहरू लाभान्वित हुन पाउँथे । तर, रोक्का गरिएका कारण उनीहरू त्यो अवसरबाट वञ्चित भए । अझै कारोबार रोक्का गरिने हो भने शेयर होल्डरहरू थप मर्कामा पर्ने देखिन्छ । कतिलाई शेयर बेचेर उपचार गर्नुपर्ने हुन्छ, घरव्यवहार चलाउनुपर्ने हुन्छ, ती शेयरहोल्डरको समस्या कसले सुनिदिन्छ ? त्यसैले कम्पनीहरूको मर्जर गर्नुपर्ने आवश्यकता कम्पनी आफै महसूस गरेर अगाडि बढ्दा सहज हुन्छ । यस्तो मर्जरका लागि नियामक निकायले सहजीकरण गरिदिनुपर्छ । साथै करछूटलगायत सुविधा दिएर प्रोत्साहन गर्न सकिन्छ । तर, आग्रह र दबाबमा गरिएको मर्जरले समस्या आउन सक्छ । ठूला बैंकको मर्जरबाट उत्साहित बनेको राष्ट्र बैंकका लागि यो शुभसंकेत होइन । जेजति भइरहेको छ त्यसले सकारात्मक संकेत देखाएको पनि छैन । ठूला बैंकको मर्जरका लागि दबाब दिने राष्ट्र बैंकले सरकारी बैंकलाई मर्ज गराउन भने चासो दिएको छैन । यिनीहरूलाई मर्ज गराएको भए त्यसबाट निजी बैंकहरू पनि मर्जरमा जान प्रोत्साहित हुन्थे । कम्पनी वा बैंक चलाउन राजनीति गर्नु हुँदैन । बरु साना र ठूला बैंकबीच मर्जर गराउन प्रोत्साहित गरेको भए राम्रो हुन्थ्यो । ठूला बैंक मर्ज हुँदा राष्ट्र बैंकले सम्हाल्नै नसक्ने आकारका बैंकहरू बन्छन् । यस्ता बैंक असफल भनए अर्थतन्त्र नै सम्हाल्न सकिँदैन । यसतर्फ पनि ध्यान जानुपर्छ ।

मर्जर र एक्वीजिशनले उब्जाएको प्रश्न

विश्वमा गाम्ने र गाभिने प्रकियाको इतिहास लामो छ । दुई कम्पनी एकीकृत भई एक कम्पनी बन्नुलाई मर्जर भनिन्छ भने एक कम्पनीले अर्को कम्पनीको पूरै वा मुख्य शेयर किनी त्यस कम्पनीको नियन्त्रण कायम राख्ने अवस्थालाई एक्वीजिशन भनिन्छ । अंग्रेजीमा यसलाई कर्पोरेट म्यारिज पनि भन्ने चलन छ । नेपालमा विसं २०६८ पश्चात् यसले गति लिएको हो । नेपालमा विसं २०४२ पश्चात्को आर्थिक उदारीकरण र २०४६/४७ मा प्रजातन्त्रको पुनःस्थापनापश्चात् बैंक तथा वित्तीय संस्थामा आएको खुकुलो नीति तथा तत्कालीन सरकारको ३० हजार जनसंख्या भएको ठाउँमा एक बैंक शाखा खोल्ने नीतिको परिणाम स्वरूप बैंक तथा वित्तीय संस्थाको संख्या तुलनात्मक रूपमा शहरी क्षेत्रकेन्द्रित भई बढेको हो । नेपाल राष्ट्र बैंकले विसं २०६८ मा जारी गरेको मर्जर नियमावली तथा विसं २०७० मा जारी गरेको एक्वीजिशन नियमावलीलाई एकीकृत गरि बैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिशन) सम्बन्धी विनियमावली, २०७३ जारी भएको हो यसबमोजिम ‘गाभ्ने गाभिने’ भन्नाले दुई वा दुईभन्दा बढी इजाजतपत्रप्राप्त संस्थाहरूबीच आपसमा भएको सम्झौताबमोजिम गाभिने संस्थाको अस्तित्व समाप्त भई गाभ्ने संस्थामा समाहित हुने कार्य सम्झनुपर्छ । उक्त शब्दले दुई वा दुईभन्दा बढी इजाजतपत्रप्राप्त संस्था एकआपसमा गाभिई नयाँ संस्था बन्ने कार्यलाई समेत जनाउँछ । ‘गाभ्ने संस्था’ भन्नाले गाभिने संस्थाको सम्पत्ति, दायित्व वा व्यवसायलाई आफूले स्वीकार गरी लिन मन्जुर गरेको इजाजतपत्रप्राप्त संस्था सम्झनुपर्छ । ‘गाभिने संस्था’ भन्नाले आफ्नो सम्पत्ति, दायित्व वा व्यवसायलाई गाभ्ने संस्थामा हस्तान्तरण गर्ने तथा गाभ्ने कार्य समाप्त भएपछि कानूनी अस्तित्व समाप्त हुने इजाजतपत्रप्राप्त संस्था सम्झनुपर्छ । त्यस्तै ‘प्राप्ति (एक्वीजिशन)’ भन्नाले एउटा इजाजतपत्रप्राप्त संस्थाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई किन्ने प्रक्रियाद्वारा आफूमा समाहित गर्ने कार्य सम्झनुपर्छ । उक्त शब्दले लक्षित संस्थाले प्राप्त गर्ने संस्थामा विलय हुनुपूर्व गरेका सम्पूर्ण करारीय दायित्व स्वीकार गर्ने कार्यसमेतलाई जनाउँछ । ‘प्राप्त गर्ने संस्था (एक्वायरर)’ भन्नाले अर्को इजाजतपत्रप्राप्त संस्थालाई आफूमा समाहित गर्ने मूल संस्था सम्झनुपर्छ । गाम्ने र गाभिने प्रक्रियाले सीमित व्यक्तिको हातमा बैंक जाँदा राजनीतिक दल र त्यसका नेता एवं उच्च प्रशासकलगायत अनुगमनकारी निकायलाई प्रभावपारी आफूखुशी ब्याज उतारचढाव गर्ने, नियमकानून एवं निर्देशनको उल्लंघन हुने समस्या हुन सक्छ । व्यवसायको ऋणको लागत कम गर्नु, कमजोर बैंक खारेजीमा जानबाट बचाउनु, पूँजी वृद्धि गर्नु, बलियो वित्तीय संस्था निर्माण गर्नु, देशमा वित्तीय स्थायित्व र ग्राहकमुखी बैंकिङ सेवा विकास गर्नु, शाखा सञ्जालमार्फत वित्तीय समावेशिता र साक्षरता बढाउनु मर्जर र एक्वीजिशनका उद्देश्यहरू हुन् । त्यस्तै वित्तीय सस्थाको सुशासनमा सुधार र जोखिम कम गर्न, नियमन र अनुगमनमा सहजता, दक्ष कर्मचारी उपलब्धताका लागि, नाफाको आकार बढाउन र कर तिर्ने क्षमता बढाउन, कम्पनीका शेयर धनीको शेयर मूल्य बढाउन, बजार अंश बढाई नाफा बढाउन र नयाँ बजारमा प्रवेश पाउन पनि मर्जर गरिन्छ । तर, मर्जरपछि यी उद्देश्य पूरा भयो कि भएन भन्नेतर्फ विभिन्न क्षेत्रबाट प्रश्न उठ्ने गरेकाले यसतर्फ पनि गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको छ । गाम्ने र गाभिने प्रक्रियाले सीमित व्यक्तिको हातमा बैंक जाँदा राजनीतिक दल र त्यसका नेता एवं उच्च प्रशासकलगायत अनुगमनकारी निकायलाई प्रभावपारी आफूखुशी व्याज उतारचढाव गर्ने, नियमकानून एवं निर्देशनको उल्लंघन गर्नेलगायत सुशासन समेतलाई चुनौती दिन सक्नेतर्फ अनुगमनकारी निकायले गम्भीर ध्यान दिन ढिला भइसकेको छ । नेपालको वित्तीय क्षेत्रमा मर्जर र एक्वीजिशनको विकासक्रम हेर्दा लक्ष्मी बैंक र हाइसेफ फाइनान्सबीच विसं २०६१ मा भएको गाभ्ने र गाभिने घटना नै पहिलो हो । नेपालमा नीतिगत व्यवस्था अघि नै लक्ष्मी बैंक र हाइसेफ, बंगलादेश बैंक र नेपाल बंगलादेश फाइनान्स, नारायणी फाइनान्स र नेशनल फाइनान्स, नेपाल बंगलादेश बैंक र श्रीलंका मर्चेन्ट फाइनान्सबीच मर्जर भएको थियो । नेपाल राष्ट्र बैंकले विसं २०६८ वैशाख २५ गतेबाट गाम्ने वा गाभिने नियमावली जारी गरेपश्चात् हालसम्म कुल १५० भन्दा बढी वित्तीय संस्था यसमा सहभागी भएका छन् । हालसम्म ११५ भन्दा बढी वित्तीय संस्था घट्न पुगेका छन् । मर्जरमा गएमा विभिन्न प्रकारका सुविधा बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराउने कुरा नेपाल राष्ट्र बैंकको हालैको मौद्रिक नीतिमा समेत आइसकेको छ । त्यस्तै सरकारले कर छूट र प्रविधि खरीदमा समेत छूट दिने कुरा सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको संख्या र शाखाको विस्तार भए तापनि नियामकीय परिवर्तन, नवीन प्रविधि, अन्तरराष्ट्रिय घटनाक्रम र राष्ट्रिय अर्थतन्त्रको संरचनाको कारण बंैकिङ क्षेत्रमा पूँजी वृद्धि, निक्षेप परिचालन, ब्याजअन्तर, वित्तीय विस्तारजस्ता चुनौती बढिरहेको सन्र्दभमा हाल बिग मर्जरले समेत थप चर्चा पाएको छ । मर्जरले संस्थाको पूँजीगत आधारसँगै क्षमता, दक्षता र वित्तीय स्थायित्व कायम भई बढी ग्राहकमुखी बैंकिङको विकास हुने बैंकिङ विज्ञहरूबाट परिकल्पना गरिएको छ । तर, यसबाट बैंकिङ क्षेत्रको सुधार भइहाल्छ भन्नु बढी हतार हुन सक्छ । हालै हिमालय बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रियामा बैंकिङ क्षेत्र सीमित व्यक्तिको हातमा पर्न सक्ने भनी प्रश्न उठेको छ । त्यस्तै नबिल बैंक र नेपाल बंगलादेश बैंकको मर्जरमा ठूला शेयर धनीबीच शेयर किनबेचमा उठेका प्रश्न र अन्य बैंक तथा वित्तीय संस्थाको मर्जरबीच उत्पन्न असहजता एवं मर्जरपछिको सम्पत्ति र शेयर स्वाप एवं कर्मचारी व्यवस्थापनमा उठ्न सक्ने प्रश्नहरूका कारण मर्जरले संस्थागत सुशासन र सृदृढीकरणको सुनिश्चितता हुन्छ नै भन्न सकिँदैन । विसं २०५९ अघि सरकारी स्वामित्वमा रहेका बैंकहरूबाहेक अन्य बैंक तथा वित्तीय संस्था संकटग्रस्त भई लिक्वीडेशनमा लैजानुपर्ने अवस्था सृजना भएको थिएन । तर, उक्त अवधिपश्चात् धेरै बैंक तथा वित्तीय संस्थाहरू समस्याको शिकार भई खारेजीमा परिसकेका छन् । सूचना प्रविधिका क्षेत्रमा भएको चामत्कारिक परिणामले दिनप्रतिदिन बैंकिङ जोखिमहरू बढ्दै गएको र बदलिँदो जनचाहना र कोभिडको दिन प्रतिदिनको बढ्दो चुनौतीले गर्दा मर्जर र एक्वीजिशनले मात्र बैंकिङ क्षेत्रको बेथिति हटाउँछ भन्न सकिँदैन । कतिपयको बुझाइमा नेपालको बैंकिङ क्षेत्रबाट उचित प्रतिफलको आशा मर्दै गएकाले बंगलादेश बैंकवाट आईएफआईसी समूहले शेयर बेचेको हो भन्ने पनि छ । मुलुकको समग्र बैंकिङ तथा वित्तीय प्रणालीको संवर्द्धन गरी त्यसप्रति सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्ने, मुलुकको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल, तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्ने, वित्तीय प्रणालीको पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने, इजाजतपत्रप्राप्त संस्थाहरूको वित्तीय, मानव संसाधन, प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक, गुणस्तरीय तथा भरपर्दो बैंकिङ सुविधा प्रदान गर्न सक्ने तुल्याउने, इजाजतपत्रप्राप्त संस्थाका निक्षेपकर्ता, लगानीकर्तालगायत सरोकारवालाहरूको हित संरक्षण गर्नेलगायत उद्देश्य मर्जर र एक्वीजिशनले लिएको छ । तर, हाल ब्याजदरमा देखिएको बेथिति र तरलता व्यवस्थापनमा सरकारको बजेटको खर्च, आदिले यस क्षेत्रको कार्यसम्पादन स्तरमा प्रश्न उब्जिएको छ । मर्जर र एक्वीजिशन विनियामावली २०७३ को उद्देश्यहरू हेर्दा वित्तीय प्रणालीको प्रवर्द्धन र सर्वसाधारणको विश्वसनीयता बढाउन, सुशासनको विकास तथा सक्षम वित्तीय क्षेत्रको विकास, वित्तीय प्रणालीको पूँजीगत आधारमा सुधार, गुणस्तरीय सेवा, निक्षेपकर्ता र लगानीकर्ताको हितकायम भन्ने उल्लेख छ । तर, मर्जर भएर बनेको ठूलो बैंकबाट यी उद्देश्यको कार्यान्वयन भएको छ त ? बजार अंश अर्थात् शेयर मूल्यमा पनि खासै सुधार देखिँदैन । लगानीकर्तालाई उचित प्रतिफल नै दिन सकेको पनि देखिँदैन । मर्जर र एक्वीजिशनले ल्याउने समस्या र चुनौतीका बारेमा गहन अध्ययन नगरेसम्म मर्जरमा जाने निर्णय गर्नाले जनविश्वास थप गुम्न सक्नेतर्फ बेलैमा चनाखो हुनुपर्ने देखिन्छ । दुई संस्था गाभिएपश्चात् कर्मचारी मिलान तथा शेयर मूल्यांकन, सम्पत्ति र दायित्वको मूल्यांकन, डाटा माइग्रेशन, कर्मचारीबीचमा भावनात्मक मिलन तथा ग्राहकमा पर्न सक्ने समस्या मर्जर र एक्वीजिशनका चुनौती हुन् भन्ने कुरालाई बिर्सन सकिँदैन । अलग प्रविधि र प्रणालीमा सामञ्जस्य, सञ्चालकहरूबीच समझदारिता विकास, सञ्चालक समितिको चयन र प्रमुख कार्यकारी चयन, कर्मचारीहरूको पदमिलान र समायोजन, शाखा कार्यालयको मिलान र स्थानान्तरण, नियमनकारी निकायबाट लिनुपर्ने स्वीकृति, जनशक्तिको व्यस्थापन, शेयर पूँजीको मिलान यसका जल्दाबल्दा चुनौतीहरू हुन् । सबै नेपालीको बैंक खाता खोल्ने र वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच वृद्धि गर्ने उद्देश्य पूरा गर्न बैंक तथा वित्तीय संस्थाको क्षमता अभिवृद्धि सहितको संख्यात्मक वृद्धि वा शाखा सञ्जाल वृद्धि र वित्तीय समावेशिता आवश्यक छ । करीब ४० प्रतिशत जनता वित्तीय पहुँचभन्दा बाहिर रहेको अवस्थामा वित्तीय संस्थाको संख्यात्मक आधार घटाई हाल्नु हाम्रोजस्तो मुलुकका लागि कालान्तरमा त्यति राम्रो नहुन पनि सक्छ । पूँजी वृद्धि वा मर्जरले बैंकहरूको संख्या घटाउने भए तापनि बैंकिङ वा गैरबैंकिङ क्षेत्रमा रोजगारी घटाउने, आर्थिक गतिशीलतामा नकारात्मक प्रभाव पार्नेजस्ता समस्या आउन सक्नेतर्फ सम्बद्ध निकाय र सरोकारवालाहरू बीच थप बहसको खाँचो देखिन्छ । कोभिडको असर, अर्थतन्त्रमा देखिएको तरलताको समस्या, बैंक ग्रामीण क्षेत्रमा जान नमानिरहेको अवस्था, अनुत्पादक क्षेत्रमा लगानी बढेको, विप्रेषणको गिरावट, रोजगारीको अभाव आदिबाट जनस्तरमा व्यययोग्य आएको कमीको कारण कर्जाको भाखा नाघ्ने क्रम बढिरहेको छ । त्यस्तै, सञ्चालन जोखिम, मुद्रास्फीति आदि समस्याको आशातीत सुधारबाट मात्र मर्जर र एक्वीजिशन कार्यक्रम सफल हुन सक्छ । अन्तरराष्ट्रिय अभ्यास हेर्दा भारतलगायत सन् १९८७ को आसियान संकट, मलेशियाका बैंकले भोगेको समस्याबाट मुक्ति पाउन सन् २००० मा दबाबमूलक मर्जर विधि प्रयोग भएको थियो । मर्जरपछि पूँजी वढेको, जोखिम घटेको, नाफा र उत्पादकत्व बढेको अध्ययनले देखाएको छ । नेपालमा पनि यसमा सहभागी बैंक तथा वित्तीय संस्थाबीच गरिएको २५ बैंकको सर्वेमा ५५० जना उत्तरदाताले मर्जरपश्चात् जोखिममा सुधार आएको, संस्थागत सुशासनको अवस्थामा सुधार आएको, सेवाको गुणस्तरमा सुधार आएको उल्लेख गरेका छन् । तर, अन्य देशको तुलनामा नेपालको सन्दर्भमा हस्तक्षेपकारी भूमिकाको बाहुल्य भएको हुँदा सबै मर्जर सफल नै हुन्छ भन्न सकिँदैन । वित्तीय प्रणालीमा मर्जरको नीतिले सकारात्मक प्रभाव पारेको उल्लेख गरिएको भए तापनि बैंकिङ क्षेत्रका स्टकहोल्डर र शेयरहोल्डर, कर्मचारीसमेतको मन मिलेमा र सरकारको पूर्ण सहयोग रहेमा मात्र मर्जर र एक्वीजिशन सफल हुन सक्ने कुरामा कसैको दुईमत नहोला । लेखक बैंक तथा वित्तीय संस्थाका विज्ञ हुन् ।

मौद्रिक नीतिमा लघुवित्त मर्जरलाई प्रोत्साहन

लघुवित्त वित्तीय संस्थाहरूले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण प्रकाशित गर्ने क्रम शुरू भएको छ । अहिलेसम्म प्रकाशित वार्षिक वित्तीय विवरणलाई हेर्दा लघुवित्त वित्तीय संस्थाहरूको वित्तीय परिसूचकहरू जगेडा कोष, सापटी, निक्षेप, कर्जा प्रवाह र असुली, मुनाफा, प्रतिशेयर आम्दानी, निष्क्रिय कर्जाको मात्रा, कुल सम्पत्ति, कोषको लागतलगायतको अवस्था राम्रो देखिने अनुमान गर्न सकिन्छ । नियामकीय निकाय नेपाल राष्ट्र बैंकले दिएको नियमकीय सहुलियत र लघुवित्त वित्तीय संस्थाहरूले गरेको मेहनतका कारण कोरोना विपद्बीच पनि राम्रो वित्तीय विवरण आउने अवस्था बनेको हो । यसैबीच प्रकाशित वित्तीय प्रतिवेदनको आधारमा मर्जर तथा प्राप्तिमा संलग्न भएका लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन पनि राम्रो आउने देखिन्छ । ४० को दशकअघि सिमित संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने वित्तीय सेवा तथा उत्पादनमा एकाधिकार भएकाले गुणस्तरीय सेवा र वित्तीय पहुँचमा सहज अवस्था थिएन । मुलुकले अवलम्बन गरेको आर्थिक उदारीकरणको नीतिसँगै उल्लेख्य संख्यामा बैंक तथा वित्तीय संस्था खोल्ने कार्यले तीव्रता पाएपश्चात् सर्वसाधारणको पहुँचमा वित्तीय सेवा तथा उत्पादन सहज हुने अवस्था आयो । यसका साथै, बैंकिङ व्यवसायमा एकाधिकारको अन्त्य भई बैकिङ सेवा र व्यवसायमा विविधीकरण हुन थाल्यो । अर्थतन्त्रको आकारअनुरूप बैंक तथा वित्तीय संस्थाहरूको संख्या घटाउने र थोरै सबल बैंकका धेरै शाखामार्पmत स्वच्छ प्रतिस्पर्धात्मक वातावरणमा वित्तीय सेवा प्रदान गर्ने उद्देश्यले राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबीच मर्जर तथा प्राप्तिको नीतिलाई कार्यान्वयनमा ल्यायो । तर, लघुवित्त वित्तीय संस्थाका लागि भने उदार इजाजत नीतिलाई नै निरन्तरता दिएको थियो । बैंक तथा वित्तीय संस्थाहरू एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली, २०६८ कार्यान्वयनमा आएपश्चात् २०७१ सालमा ५ ओटा ग्रामीण विकास बैंकहरू एकआपसमा मर्ज भई एउटा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था बन्यो । लघुवित्त वित्तीय संस्थाहरू एकआपसमा मर्ज तथा प्राप्ति हुन सक्ने नीतिगत व्यवस्था कार्यान्वयनमा नै रहेको भए पनि लघुवित्त वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्ति कार्यले केही वर्ष निरन्तरता पाउन सकेन । लघुवित्त वित्तीय संस्थालाई इजाजतपत्र प्रदान गर्ने र ती संस्थाबीच मर्जर तथा प्राप्तिसम्बन्धी दुवै नीतिगत व्यवस्थालाई समानान्तर रूपमा एकै साथ कार्यान्वयनमा ल्याउँदा मर्जर तथा प्राप्ति कार्यमा सोचेअनुरूप उपलब्धि प्राप्त हुन सकेको थिएन । यही वास्तविकतालाई मनन गर्दै आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले लघुवित्त वित्तीय संस्थाहरूलाई इजाजत दिने कार्य स्थगन गर्‍यो । त्यसैगरी राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत लघुवित्त वित्तीय संस्थाहरूलाई एकआपसमा गाभ्ने तथा प्राप्ति कार्यलाई प्रोत्साहन दिने उद्देश्यले थप सहुलियत प्रदान गर्ने व्यवस्था गर्‍यो । त्यसपछि मर्जर तथा प्राप्ति कार्यमा तीव्रता आई २०७७ चैतमा ९१ ओटा लघुवित्त वित्तीय संस्थाको संख्या घटेर ७४ कायम भएको छ । एउटै निकायबाट इजाजत पाएका समान प्रकृतिका संस्थाहरूबीच मर्जर तथा प्राप्ति कार्यले संस्थालाई बलियो बनाउने कुरा अन्तरराष्ट्रिय र राष्ट्रिय क्षेत्रमा भएका मर्जर तथा प्राप्तिले प्रमाणित गरिसकेका छन् । मर्जरपश्चात् बनेका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था र मर्जरको प्रभावकारिता सम्बन्धमा राष्ट्र बैंकले केही समय अघि गरेको अध्ययनले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूबीच गरिएको मर्जर तथा प्राप्ति कार्य उपलब्धिमूलक भएको देखाएको छ । मर्जर तथा प्राप्तिमा संलग्न लघुवित्त वित्तीय संस्थाहरूले प्रकाशित गरेको आर्थिक वर्ष २०७७/७८ को वित्तीय प्रतिवेदनले पनि उक्त तथ्यलाई पुष्टि गरेको छ । लघुवित्त वित्तीय संस्थाहरूले मर्जर तथा प्राप्तिलाई उपलब्धिमूलक बनाउन निश्चित आधारहरू तय गर्नुपर्छ । जसले मर्जर तथा प्राप्ति गर्नुपूर्व र मर्जर गरिसकेपछिका प्रक्रियालाई सहज बनाउनुका साथै संस्थाको व्यवसायमा सिर्नजी प्रभाव पार्न मदत पुर्‍याउँछ । यसका लागि संस्थापक शेयरधनीको स्तर र अवस्था, चुक्ता पूँजी, संस्था स्थापना भएको समयावधि, वित्तीय परिसूचक र कारोबारको आकार, शाखा सञ्जाल र संख्या, कार्यक्षेत्र, कार्यरत कर्मचारी संख्या र तहगत विभाजन, बजार पूँजीकरण, कार्यावातावरणलगायत विषयलाई आधार बनाइनु उपयुक्त हुन्छ । मर्जर तथा प्राप्ति कार्य सम्पन्न भएपश्चात् कर्मचारी व्यवस्थापन कार्य तुलनात्मक रूपमा जटिल हुने अध्ययन र अनुभवले देखाएको छ । फरकफरक संस्थामा कार्यरत कर्मचारीको संस्कार, बानीबेहोरा, संस्थाले प्रदान गर्ने सेवासुविधा, तहगत प्रावधान, वृत्तिविकास सम्बन्धी व्यवस्थालगायत कारणले कर्मचारी व्यवस्थापनमा केही असहज अवस्था आउनु अस्वाभाविक पनि होइन । तसर्थ, कर्मचारी व्यवस्थापनमा आइपर्नसक्ने जटिलतालाई सहज बनाउनका लागि कर्मचारी अडिटका कार्यहरूलाई प्राथमिकतामा राखिनु उपयुक्त हुन्छ । सञ्चालन खर्च घट्ने, पूँजी आधार बलियो हुने, स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तय हुने, सदस्यको दोहोरोपना (बहुबैंकिङ कारोबार) मा नियन्त्रण हुनेलगायत कारणले लघुवित्त वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्तिलाई प्राथमिकताका साथ निरन्तरता दिनुपर्ने अवस्था रहेको छ । राष्ट्र बैंकले पछिल्लो समय ल्याएको नियमकीय सहुलियतले यस कार्यमा सकारात्मक प्रभाव पारेकाले त्यसको निरनतरता र आवश्यकतानुसार थप सहुलियतसमेत ल्याउनुपर्ने हुनसक्छ । यसका साथै, हाल यस क्षेत्रमा देखिएका समस्याहरू जस्तै मर्जरपश्चात् संस्था दर्तासम्बन्धी कार्यलाई सहज बनाउने, संस्थापक शेयरको कारोबारलाई सहज बनाउने, मर्जर तथा प्राप्तिका लागि लाग्ने समयावधि घटाउन आवश्यक प्रबन्ध मिलाउने, कर छूट र यसको पुनरवलोकनका लागि नेपाल सरकारसँग र दोस्रो बजारमा शेयर कारोबारलाई सहज बनाउन धितोपत्र बोर्डसँग समन्वय गर्नेलगायत कार्यलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । त्यसैगरी तोकिएको संख्यामा लघुवित्त वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति भएपश्चात् बन्ने संस्थाको पूँजीगत पर्याप्तता अनुपात न्यून भई लघुवित्तीय व्यवसाय विस्तार गर्न नसक्ने अवस्था सृजना भएमा त्यस्ता संस्थालाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिनुपर्छ । यस्तो व्यवस्थाले लघुवित्त वित्तीय संस्थाहरूको मर्जर तथा प्राप्ति कार्यलाई थप प्रोत्साहन मिल्ने भएकाले आगामी मौद्रिक नीतिले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

६ सहकारीको एकीकृत कारोबार

गाउँघरमा सहज र सरल रूपमा सेवा सुविधा प्रदान गरी जीवनयापनलाई सजिलो बनाउन यहाँका ६ सहकारी मर्जर भएर एकीकृत सेवा सुरु गरेका छन् ।

बिग मर्जरले ल्याउने तरंग

नेपालका दुई पुराना बैंक हिमालयन र नेपाल इन्भेस्टमेन्टबीच मर्जरका लागि समझदारी–पत्रमा हस्ताक्षर भएसँगै बैंकिङ क्षेत्रमा नयाँ तरंग पैदा भएको छ । यसले अन्य बैंकलाई पनि मर्जरमा जान अप्रत्यक्ष दबाव सृजना गरेको छ भने नियामकलाई पनि नयाँ खालको चुनौती थपिएको छ । बिग मर्जरले नेपालको बैंकिङ क्षेत्र नयाँ युगमा प्रवेश गर्ने देखिन्छ । स्वतन्त्र बजारले बैंकको आकार बढाउन बाध्य पार्छ र ठूलाले सानालाई प्राप्त गर्दै जाँदा बैंक ठूला बन्दै जान्छन् । अहिले यी दुई बैंकको मर्जरले अन्य बैंकलाई पनि मर्जरमा जान बाध्य बनाइसकेको छ । ग्लोबल आईएमई र जनता बैंकबीच भएको मर्जर पनि बिग मर्जर नै हो । तर, ठूलो बजार ओगटेको तथा व्यवसाय तथा सञ्चिति ठूलो रहेका बैंकहरूबीच भएको मर्जर यो पहिलो हो । मर्जरपछि बैंकको चुक्ता पुँजी २६ अर्ब नाघ्नेछ छ भने कुल सम्पत्ति ३ खर्ब नजिक पुग्नेछ । सञ्चित मुनाफा झन्डै २० अर्ब पुग्नेछ । कुल सम्पत्तिका आधारमा नेपालको कुल जीडीपीको झन्डै ७ प्रतिशतको आकारको बैंक बन्नेछ जुन नेपालको बैंकिङमा अवसर र चुनौती दुवै हो । नेपाल राष्ट्र बैंकले बिज मर्जरका लागि प्रोत्साहन गरेको परिणति हो, यो मर्जर । त्यसो त मर्जर बलजफ्ती हुनु हुँदैन, बजारको आकार र विस्तारले स्वैच्छिक मर्जरमा जान बाध्य बनाउँछ । तैपनि नियामकले नियमन सहज हुन्छ भन्दै मर्जरलाई प्रोत्साहित गरिरहेको छ । देशको अर्थतन्त्र विस्तार हुँदै गइरहेको छ भने आर्थिक गतिविधि पनि फड्को मार्दै छ । एउटा जलविद्युत् परियोजनाका लागि कर्जा प्रवाह गर्न सहलगानी गर्नुपर्ने बाध्यता भइरहेको अवस्थामा बैंक ठूलो बनेपछि पूर्वाधार क्षेत्रमा कर्जा लगानी सहज बन्ने अपेक्षा गर्न सकिन्छ । बैंक ठूलो बन्नुको अर्थ बजार अंश बढ्नुमात्र होइन, पूँजी कोषको लागत पनि घट्नु हो । तर, अहिले जुन किसिमले बैंकहरूबीच मर्जर भइरहेको छ त्यसले आकार बढाए पनि लागत घटाउन सकेको छैन । त्यस्तै मर्जरपछि सिनर्जी इफेक्ट देखापर्न सकेको छैन । त्यसैले हिमालयन र इन्भेस्टमेन्ट दुवै बैंकले यो पक्षमा ध्यान दिनु जरुरी छ । बैंक ठूलो बनेपछि व्यवस्थापनमा दक्षता आवश्यक हुन्छ । १२/१५ अर्ब चुक्ता पूँजी भएको बैंक व्यवस्थापन गर्नु र २६ अर्बभन्दा बढी चुक्ता पूँजी भएको बैंक व्यवस्थापन गर्नु उस्तै होइन । बैंकहरूको चुक्ता पूँजी २ अर्बबाट बढाएर ८ अर्ब पुर्‍याउँदा पूँजी कोषको भारले बैंकहरू थिचिएका जस्ता देखिएका छन् । पूँजी कोषको परिमाण बढायो भने लागत घट्छ । तर, बैंक तथा वित्तीय संस्थाहरूको पूँजी वृद्धि गरिए पनि त्यसको प्रभाव कर्जा र निक्षेपको ब्याजदर अन्तर (स्पे्रेड) मा देखिएको छैन । त्यही भएर राष्ट्र बैंकले हस्तक्षेप गरेर कर्जा र निक्षेपको ब्याजदरको अन्तर घटाएको छ । मर्जरपछि दुई भिन्न कार्य संस्कृति भएका कर्मचारीहरूबीच अन्तर्घुलनमा समस्या देखिएको छ । त्यस्तै एउटा बैंकका उच्च व्यवस्थापकले अर्को बैंकका कर्मचारीलाई हतोत्साही बनाएको मर्जरमा गएका बैंक कर्मचारीको भनाइ पाइन्छ । मर्जपछि सबै कर्मचारीलाई कायम राख्ने हो भने उत्पादकत्व बढ्दैन । तर, त्यसो भन्दैमा बलजफ्ती कर्मचारी निष्कासन गर्न मिल्दैन । कर्मचारी र व्यवस्थापनबीच समझदारीमा दुवै पक्षलाई लाभ हुने गरी स्वैच्छिक अवकाश ल्याएर कर्मचारी संख्या घटाउँदा उत्पादकत्व बढ्न सक्छ । बैंकको संख्या घटे नियमन गर्न राष्ट्र बैंकलाई सहज हुन सक्छ । त्यही भएर उसले मर्जरको नीति लिएको देखिन्छ । मर्जर बाध्यकारी नभई स्वैच्छिक हुनुपर्छ । स्वतन्त्र बजारले बैंकको आकार बढाउन बाध्य पार्छ र ठूलाले सानालाई प्राप्त गर्दै जाँदा बैंक ठूला बन्दै जान्छन् । अहिले यी दुई बैंकको मर्जरले अन्य बैंकलाई पनि मर्जरमा जान बाध्य बनाइसकेको छ । त्यही भएर ठूला बैंकहरू मर्जर वा प्राप्तिका लागि अन्य संस्था खोजिरहेका समाचार आइरहेका छन् । त्यसैले बिज मर्जर बैंकिङ क्षेत्रमा नयाँ अवसर ल्याउन उपयोगी हुने देखिन्छ । यद्यपी नियमन गर्न भने निकै चुनौतीपूर्ण हुन सक्छ ।

बैकको बिग मर्जर कति सहज

अहिले सामान्यतया बैंक तथा वित्तीय संस्था अर्थात् नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबारको इजाजत प्राप्त संस्थाहरूबीच गाभ्ने/गाभिने (मर्जर) र प्राप्ति (एक्विजिसन) को चर्चा बजारमा सुनिन्छ ।त्यसमा पनि गत वर्षको साउनमा नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा इजाजतपत्र कम्पनीहरूलाई गाभ्ने र गाभिने सम्बन्धमा नीतिगत निर्णय जारी गरिएको थियो । सो नीतिअनुसार हालसम्ममा थुप्रै बैंक तथा वित्तीय […]

पूँजीगत लाभकर गणना सहज बनाउन माग

पूँजीगत लाभकर गणनाको लागि निर्धारण गरिने भारित औषत लागतलाई स्वचालित रुपमा गणना हुने व्यवस्था मिलाउन धितोपत्र धितोपत्र दलाल व्यवसायीहरुले माग गरेका छन् ।धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले मर्जर तथा प्राप्तिपूर्व धारण गरिएका धितोपत्रहरुको कर छुट हुने अवधिभित्र गरिएको निःसर्गबाट सिर्जित लाभ तथा प्राप्त लाभांशलाई कर प्रणालिमा अभिलेखन हुने व्यवस्था मिलाउन […]