अबदेखि सबै सरकारी कार्यालयको काम एउटै सूचना प्रविधि प्रणालीमार्फत सञ्चालन गरिने भएको छ । सरकारी कार्यालयको कामलाई छिटो, छरितो र पारदर्शी बनाउन यस्तो प्रणाली लागू गर्न लागिएको हो ।
सरकारी कार्यालयका एकै प्रकृतिका कामलाई कागजरहित विद्युतीय सेवामार्फत सुशासन अभिवृद्धि गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन गरिनेछ । यस प्रणालीमार्फत सरकारी कार्यालय मातहत सञ्चालनमा रहेको टिप्पणी, तोक आदेश दिने, दर्ता तथा चलानी गर्ने, व्यवस्थित अभिलेख राख्ने, विद्युतीय हाजिर, बिदा, काजसम्बन्धी कार्य, जिन्सी व्यवस्थापन, सम्पत्ति विवरण भर्ने र सोको व्यवस्थापन गर्ने कार्य एउटै प्रकृतिको हुनेछ ।
त्यस्तै कार्य सम्पादन मूल्याङ्कन, पत्रको ढाँचा तयार गरी पत्र तयार गर्ने, नियुक्ति, काज सरुवा, रमना र पदस्थापन गर्ने, कार्यान्वयन योजना तयार गर्ने, प्रगति विवरण भर्ने, प्रगति प्रतिवेदन तयार गर्ने, अनुगमन गर्ने, समिति गठन र बैठक व्यवस्थापन गर्ने, कार्य सम्पादन करारसम्बन्धी कार्य एउटै प्रकृतिको हुने गरी सूचना प्रविधि विभागले नेपाल सरकारको एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गरेको छ ।