वासिङटन । संयुक्त राज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एक जना महिलालाई अमेरिकी सङ्घीय कानुनबमोजिम मृत्युदण्ड दिइएको छ ।
एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सुई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय विभागले जनाएको छ ।
ती महिलालाई इन्डियाना राज्यको टेरी हट कारागार राखिएको थियो ।
मन्टगमेरीले २००४ मा गर्भमा रहेको शिशु चोर्ने अभिप्रायले २३ वर्षीय एक महिला बबी जो स्टिनेटको पेट चिरेर हत्या गरेकी थिइन् ।
अमेरिकी सर्वोच्च अदालतले मन्टगमेरीलाई मृत्युदण्ड दिनेसम्बन्धी एक आदेश जारी गरेको केही घण्टापछि मृत्युदण्ड दिइएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गम्भीर अपराधमा संलग्नलाई सङ्घीय कानुनबमोजिम मृत्युदण्ड दिने गरी कार्यकारी आदेश जारी गरेका थिए । (रासस/एएफपी)