म्याग्दीका चीज उद्योग अझै खुलेनन्

म्याग्दी । ०७६  साल चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चीज उद्योग अझैसम्म सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चीज उद्योग बन्द भएका थिए । बन्दाबन्दी खुकुलो भई आन्तरिक पर्यटक आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग  नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताए ।      अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चीज उद्योग ०७६ साल चैतदेखि बन्द अवस्थामा छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चीजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज कुहिएर खेर गएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चीज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।       उनका अनुसार गत वर्ष बन्दाबन्दी सुरु भएपछि चीजको माग घटेको छ । स्टक रहेको चिज स्थानीयलाई ५ सय  रुपैयाँ प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चीज उद्योग पूर्ण रूपमा बन्द गरिएको हो । चीज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न  थालेको स्थानीय बताउँछन् । घारको हिमालय चीज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरूले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् । नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३ सय लिटर दूध उत्पादन गरी चीज उद्योग सञ्चालन भएको थियो । उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषकले धमाधम गाई नै बिक्री गर्न थालेको स्थानीय लीलबहादुर खड्काले जानकारी दिए ।       घारका ३५ अगुवा कृषक मिलेर ०७१ सालमा हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक रूपमा चीज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाख रुपैयाँको लगानीमा कृषकले चीज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पुर्‍याएका थिए । रासस

सम्बन्धित सामग्री

तीन वर्षपछि चीज उद्योग सञ्चालन

अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आगमन बढेसँगै अन्नपूर्ण गाउँपालिका–६ घारस्थित हिमालय चीज उद्योग सञ्चालनमा आएको छ । कोरोना कहरका कारण उद्योग ३ वर्षदेखि बन्द थियो । उद्योग सञ्चालनमा आएसँगै यस क्षेत्रका गोपालहरू उत्साही भएका छन् । स्थानीय गाईको दूधबाट उत्पादित चीज सेवन गर्ने पर्यटक बढेपछि दूध बिक्री हुने भएकाले उनीहरू खुसी भएका हुन् ।

चीज उद्योग तीन वर्षपछि पुन: सञ्चालन

म्याग्दी । म्याग्दीका चीज उद्योग तीन वर्षपछि पुन: सञ्चालन भएका छन् । कोरोना (भाइरस)को महामारी शुरू भएपछि विसं २०७६ चैतदेखि अन्नपूर्ण गाउँपालिकाको पाउद्वार, घार र राम्चेमा सञ्चालित चीज उद्योग बन्द भएका थिए । राम्चेको आरडिसी डेरी तथा चीज र पाउद्वारको सामुदायिक चीज उद्योग सञ्चालनमा आइसकेका छन् भने घारको हिमालयन चीज उत्पादन कृषि सहकारी संस्थाले यही फागुन ७ गतेदेखि उत्पादन शुरू गर्ने तयारी गरेको छ । पर्यटकको आगमन बढ्न थालेको र बजारबाट माग आउन थालेकाले बन्द भएको चीज उद्योग पुन: सञ्चालन गरिएको आरडिसी डेरी तथा चीज उद्योगका सञ्चालक यामबहादुर पुनले बताए । जर्सी जातका तीन गाई पालेका उनले दैनिक एक किलोग्रामका दरले चीज उत्पादन गर्दै आएका छन् ।     घोडेपानी, तातोपानी, मुस्ताङ र पोखरालगायत पर्यटकीय स्थलका होटल तथा रेष्टुराँमा चीज खपत हुने गर्छ । गाईको दूधबाट बनाइने प्रोट्रिनयुक्त चीज पर्यटकले रुचाउने परिकारमध्ये पर्छ । चीज उपभोग गर्ने पर्यटकको आगमन ठप्प भएपछि खपत हुन नसकेर ती उद्योग बन्द गरिएको थियो । हिमालयन चीज उत्पादन सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद खड्काले सञ्चालक र कृषकको भेला गरेर उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘त्यसबेला विक्रीका लागि तयारी भएको १५ टन चीज कुहिएर खेर फाल्नुपरेको थियो । धेरै कृषकले गाई पनि बेच्नुभयो,’ उनले भने, ‘गाई पालेका कृषकको अपेक्षा र बजारको आवश्यकताअनुसार चीज उद्योग पुन: सञ्चालन गर्ने निर्णय गरेका हौं ।’ उक्त सहकारीमा आबद्ध ३५ कृषकले दैनिक ३०० लिटर दूध चीज उद्योगलाई विक्री गर्दै आएका थिए । उद्योग बन्द हुँदा कृषकले गाईको दूधबाट घ्यू बनाएर बेच्ने गरेका थिए । प्रतिकिलो चीज रू. ८०० देखि एक हजारसम्ममा विक्री हुने गरेको छ । विसं २०७१ मा कृषकहरुले रू. २० लाखमा स्थापना गरेको उद्योगमा ३२ लाख लगानी पुगेको छ । उद्योग सञ्चालन भएपछि कृषक उत्साहित भएका छन् । चीज उद्योगमा दूध विक्री गर्न कृषकले होल्यान्ड र जर्सी जातका गाई पालेका छन् । रासस

वैदेशिक रोजगारीको विकल्प बन्दै इलामका चीज उद्योग

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।

कोरोनाका कारण बन्द भएका रसुवाका चीज उद्योग पुनः सञ्चालनमा

असार २४, रसुवा  । कोभिड संक्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुनः सञ्चालनमा आएको छ ।  उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवम् धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै दुई हजार १२१ किलो चीज उत्पादन भएको छ । चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि कारोनाको असर एवम् कोरोना संक्रमणकै कारण धुञ्चे केन्द्रका प्रमुख जीतबहादुर जिरेलको निधन र स्थानीय प्रशासनको जारी निषेधाज्ञाले गर्दा उत्पादन कार्य अगाडि बढाउन दुई महिना ढिलाइ भएको बताइएको छ ।  आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमशः घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङटाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए । दुग्ध विकास संस्थानअन्तर्गत यहाँका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौँरीगाईको संख्या एक हजार ९०० रहेको छ । दैनिकरूपमा दुई हजार १५० लिटर दूध संकलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिएका छन् । धुञ्चे केन्द्रका नयाँ प्रमुख रामबरस ठाकुर, गतलाङका क्षेत्रबहादुर तामाङ एवम् चन्दनबारी केन्द्रका गोविन्द्रबहादुर गुरूङ रहेका छन् । दूध आपूर्ति गरेवापत फ्याटको हिसाबमा प्रतिलिटर १०० पाउने र ८७ किसान लाभान्वित भइरहेको बताइन्छ । तीन महीना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चीज र एक हजार ५०० किलो मख्खन, लाङटाङ केन्द्रले छ हजार किलो चीज र दुई हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ ।  यसैगरी धुञ्चे केन्द्रले आठ हजार किलो चीज र दुई हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गतलाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए ।

गोरखाको छेकम्पारमा खुल्यो चौँरीको चीज उद्योग

गोरखा : जिल्लाको छेकम्पारमा चीज उद्योग सञ्चालनमा आएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारको छुलेनिले चौँरी पालक कृषक समूहले चीज उत्पादन सुरु गरेको हो।  जिल्ला पशु सेवा कार्यालयको चौँरी संरक्षण कार्यक्रमअन्तर्गत चौँरी पाल्ने कृषकहरू संगठित भई व्यावसायिक चीज उत्पादन सुरु गरेका हुन्।  ‘कार्यालयको चौँ...