गाउँपालिकाले गर्‍यो फूल खेतीको शुरूआत

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले झण्डै २० रोपनी जमिनमा व्यावसायिक फूल खेती शुरूआत गरेको छ । गाउँपालिकाले व्यावसायिक फूल खेतीमा जोड दिँदै सहज बजारीकरण गरी किसानलाई फूल खेतीतर्फ आकर्षित गर्नका लागि २ ठाउँमा फूल खेती शुरू गरेको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिए । वडा नम्बर ४ को पुछारमा १४ रोपनी र वडा नम्बर ७ को बारिचौरमा ६ रोपनी जग्गा भाडामा लिई पहिलो चरणमा सयपत्री र मखमली फूलका बिरुवा लगाएको उनले बताए ।   चाडपर्वका समय तथा अन्य कार्यमा बाहिरबाट फूलको आयात गर्नुपर्दा यहाँको अर्थ बाहिरै...

सम्बन्धित सामग्री

फूल आयातको अत्याश

नेपाललाई जसरी आत्मनिर्भर बनाउनुपर्छ भन्ने चर्चा हुनेगर्छ, व्यवहारमा त्यसको ठीक उल्टो परनिर्भर बन्ने क्रम जारी रहेको छ । हुँदाहुँदा केही वर्ष अघिसम्म करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलमा समेत पछिल्लो समयमा आयात बढ्न थालेको छ । फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूलखेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ । सानो आकारको भए पनि फूल आयातको आँकडा हेर्दा यसले नेपालको निर्यात किन कमजोर भइरहेको छ भन्ने कुरालाई देखाइदिएको छ । आव २०७३/७४ मा रू. ११ करोड ३६ लाखको फूल आयात भएको थियो भने रू. ३ करोड ६५ लाख बराबरको फूल निर्यात भएको थियो । चालू आवको ८ महीनामा नै झन्डै १८ करोडको फूल आयात भएको छ । निर्यात भने ३३ लाख ७८ हजारमा खुम्चिएको छ । फूल अत्यावश्यक वस्तु होइन । त्यसमा पनि नेपालमै प्रशस्त फूलखेती हुन्छ । आफूलाई आवश्यक पर्ने फूल प्रायः सबैजसोले आफ्नो घरआँगनमा फुलाउने गर्छन् । तिहारमा ठूलो परिमाणमा फूल आयात हुन्छ । त्यही बेलाका लागि नेपाली फूल पनि प्रशस्त उत्पादन हुन्छन् । तर पनि फूल आयातको परिमाण अत्याश लाग्दो देखिन्छ । फूल आयातका लागि विदेशिने रकम सानो परिमाणको देखिन्छ । तर, यस्ता थुप्रै साना साना आकारका वस्तुहरूको आयात बढेर नै व्यापारघाटा डर लाग्दो बनेको हो भन्ने बिर्सनु हुँदैन । नेपालमा फूलखेती गरेर विदेश निर्यात गर्न सकिन्छ । गुलाफको खेती गरेर भ्यालेन्टाइन डेका लागि निर्यात गर्न शुरू गरिएको थियो तर अहिले त्यस दिनका लागि मात्रै पनि ठूलो परिमाणमा गुलाफको आयात हुन्छ । फूल निर्यात गर्न रेफ्रिजरेशनको समस्या हुन्छ । साथै विदेशमा चाहिने फूलको गुणस्तरअनुसार नेपालमा उत्पादन गर्न कठिन पनि देखिएको छ । निर्यात बढाउन समस्या होला तर आयात घटाउन खासै समस्या नहुनु पर्ने हो । नेपालमा व्यावसायिक फूलखेती शुरू भएको २५ वर्ष पुगिसकेको बताइन्छ । यस अवधिमा झन्डै चार दर्जन जिल्लामा व्यावसायिक पुष्प खेती विस्तार भएको छ । करीब ३ हजार रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति लाभान्वित भएको आकलन छ । तर, कोरोना महामारीका कारण १० प्रतिशत व्यवसायीले यो पेशा छाडेको अनुमान छ । यी तथ्यांक हेर्दा नेपालमा पुष्पखेतीको सम्भावना निकै भए पनि यसलाई व्यावसायिक बनाउन सकिएको छैन । नेपाली माटो र हावापानी फूलखेतीका लागि उपयुक्त छ । यसका लागि ठूलो लगानी पनि आवश्यक छैन । नेपालमा खेती गरिएको फूल विशेष प्रकृतिको नभएर मानिसहरूले दैनिक पूजाआजामा प्रयोग गर्ने खालको छ । त्यसैअनुसार फूल खेती र आपूर्ति भइरहेको छ । विशेष प्रयोजन र पर्वलाई लक्षित गरी फूलखेती खासै गरिएको छैन भन्दा हुन्छ । आन्तरिक खपतका लागि मात्रै खेती भइरहेको छ । निर्यातका लागि फूलखेती गर्न बैंकले दिने ऋण रकम निकै अपुग देखिन्छ । एक त यसका लागि जग्गा चाहिन्छ जुन अहिले घडेरीमा टुक्रिइसकेको छ । अर्को, जग्गाको मूल्यमा आएको ठूलो वृद्धिले पुष्पखेती गर्न निकै सकस भइरहेको देखिन्छ । फूलको व्यावसायिक खेती तथा त्यसको बजारको आधुनिक पद्धति अपनाउन नसक्दा निर्यात गर्ने खालको फूलको खेती हुन नसकेको देखिन्छ । अतः फूलको आन्तरिक प्रयोगका लागि यसको खेती व्यापक रूपमा गरिनुपर्छ भने निर्यातलक्षित फूल खेतीलाई पनि उत्तिकै प्रोत्साहित गरिनुपर्छ । फूलबाट बन्न सक्ने विभिन्न वस्तुको उत्पादन गरेर पनि आयात प्रतिस्थापन गर्न सकिन्छ । नेपालमा फूललगायत कृषि खेतीको विकास र विस्तार गर्न भन्दै संघदेखि स्थानीय तहले सम्म काम गरेको देखिन्छ । यसका लागि तीनै तहका सरकारले कृषि प्राविधिक पनि भर्ना गर्ने गरेका छन् । तर, बढ्दो आयातको आँकडा हेर्दा तीन तहका सरकारले गरिरहेको कामप्रति नै प्रश्न उठेको छ । सरकारले काम गरिरहेको बताइरहने तर निर्यातमा सुधार नहुने हो भने अब काम गर्ने शैलीमै सोच्नुपर्ने देखिन्छ ।

निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी

चितवन । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको  हो । फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ । निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा  बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’ पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा  र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको  असर फूल व्यवसायमा परेको हो  । भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’ निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् । विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । पाख्रिनको दुई बिघा क्षेत्रफलमा सयपत्री ढकमक्क फुलिरहे पनि महँगो भाडा तिरेर काठमाडौं पठाउनुपरेकोे पाख्रिनको गुनासो छ । सयपत्री फूल एक गाडीको १० हजार  तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनको भनाइ छ   । पछिल्लो समय चितवनमा फूल खेतीको आकर्षण बढ्दै गएको थियो । तर, पटक–पटकको बन्दाबन्दी र निषेधाज्ञाले फूल खेती गर्ने किसान नोक्सानीमा परेका छन्  । यसले गर्दा हाल न नर्सरीका बिरुवा फूल बिकेका छन्, न त तयार भएका फूल नै बिक्न सकेका छन् । यस्तै अवस्था रहने  हो भने अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलका लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने किसानको भना छ । एसोसिएसनका अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुदै आएको छ । यहाँ  व्यावसायिक फूल खेती गर्नेको संख्या ५० जना र भने फूलको नर्सरी एवं गार्डेनिङ गर्नेको संख्या  २० हाराहारी छ । चितवनमा बुकी फूल, कटफ्लाबर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती हुँदै आएको छ ।