काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको २० प्रतिशत दरको १४ लाख ९६ हजार कित्ता आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कुल कित्ता शेयरमध्ये १० प्रतिशत दरको ७ लाख ४८ हजार ४०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि विक्री गर्न लागिएको छ भने दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने शेयरमध्ये १० प्रतिशत दरको ७४ हजार ८४० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागिएको हो ।
आयोजना प्रभावित स्थानीयमा विक्री गरिने कुल कित्ता आईपीओमध्ये ५ लाख ६१ हजार ३०० कित्ता आईपीओ आयोजना अतिप्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको हालको सोलु दुधकुण्ड नगरपालिका वडा नं. ३, ४, ५, ६, ६ र ८ का बासिन्दाहरूका लागि विक्री खुला गरिएको हो । योबाहेक बाँकी १ लाख ८७ हजार १०० कित्ता शेयर अति प्रभावित क्षेत्र बाहेकका सोलुखुम्बु जिल्लाको स्थानीय वासिन्दाहरूमा विक्री खुला गरिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै आईपीओ विक्री गर्न लागेको छ । दुवै समूहका लगानीकर्ताहरूले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् ।
आयोजना प्रभावित स्थानीयमा आईपीओ विक्री अवधि छिटोमा साउन २८ गतेसम्मका लागि तोकिएको छ भने सो अवधिभित्र मागबमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ११ गतेसम्म विक्री लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने साउन २८ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड छ । विक्री प्रबन्धकसँगै स्थानीयले आयोजना स्थल, एनआईसी एशिया बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूसँगै मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा ईक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने ईक्रा एनपी इस्यूअर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । कम्पनीले सोलुखुम्बु जिल्लामा ९ दशमलव ५ मेगावाट मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।
यस आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ छ भने प्रतिमेगावाट कुल अनुमानित लागत २१ करोड ९३ लाख ८५ हजार ६४५ रुपैयाँ ५ पैसा छ ।
सूचना हेर्न यहाँ क्लिक गर्नुहोला