काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज (बुधबार) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले आज साँझ ५ बजे बिजुलीबजारस्थित कार्निभल रेस्टुरेन्टमा शेयर बाँडफाँट गर्न लागेको हो ।
कम्पनीले भदौ २९ देखि असोज २ गतेसम्म सर्वसाधारणका लागि आईपीओ विक्री खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ६ लाख २१ हजार १ सय ७२ कित्ता शेयर निष्कासन गरेको थियो ।
सीडीएससीका अनुसार कम्पनीको आईपीओ खरीदका लागि १३ लाख ५४ हजार ८४६ आवेदकले कुल १ करोड ५१ लाख २२ हजार २५० कित्ता शेयर माग गरेका थिए, जुन मागभन्दा २४.३४ गुणाले बढी हो ।
मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिनेछ, जसमा भाग्यमानी ६२ हजार ११७ आवेदकले १०–१० कित्ताका दरले शेयर पाउनेछन् भने तिनै आवेदकमध्ये २ जनाले थप १–१ कित्ता शेयर पाउनेछन् ।
कम्पनीले यसअघि नै आयोजना प्रभावित सोलुखुम्बुका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपालीहरूको लागि निष्कासन गरिएको शेयर बाँडफाँट गरिसकेको छ ।
कम्पनीले सोलुखुम्बुको साविक सल्लेरी गाविसमा ९.५ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । आयोजनाको प्रतिमेगावाट लागत रू. २१ करोड ९३ लाख छ भने कुल लागत रू. २ अर्ब ८ करोड छ ।