सेनाले ट्र्याक खुलाएर असारसम्ममा सिमकोटमा सडक पुर्‍याउने

काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालू आर्थिक वर्ष २०७८/७९ भित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरू गर्ने भएको हो । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किमी ट्र्याक खोलन बाँकी रहेकोमा ७ किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी दिएको थियो । ७७ जिल्लामध्ये हुम्ला सदरमुकाम मात्रै अहिलेसम्म सडक सञ्जालसँग जोडिएको छैन । सडक विभागले लामो समयदेखि सिमकोटलाई सडक सञ्जालसँग जोड्ने लक्ष्य लिए पनि चट्टानै चट्टान भएको कठिन भूगोल भएकाले अझैसम्म खुल्न नसकेको हो । ट्र्याक खोल्न बाँकी खण्डमध्ये सात किमीमा सेना र तीन किमी सडक विभागले निर्माण अघि बढाइरहेको छ । विभागले निर्माण गर्न सडकखण्डमा ठेक्का भइसकेको हिल्सा–सिमकोट सडक योजनाले बताएको छ । सेनाले ट्र्याक खोल्न लागेको खण्डमा दुई बेलिब्रिज चालू आवमा निर्माण गरिने योजनाका प्रमुख बिसुनदास लामाले जानकारी दिए । सेना र विभाग मिलेर चालू आवभित्रै ट्र्याक खुलाउन लागेको र स्तरोन्नतिको काम विस्तारै हुने उनले बताए । सेनाको प्राविधिक टोलीले यसअघि नै निर्माणस्थलमा पुगेर अवलोकन गरेको थियो । ‘सेनाले सिमकोटबाट काम गर्नेछ भने हामीले सलिसल्लाबाट काम गर्नेछौं,’ प्रमुख लामाले भने । केही दिन पहिले बसेको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधि र सांसद्हरूले चालू आवमा समेत सिमकोट सडक सञ्जालसँग जोडिन नसक्ने ठोकुवा गरेका थिए । केही वर्ष पहिलेसम्म सो ट्र्याक खोल्न १० वर्ष लाग्ने बताएको प्रमुख लामाले बताए । अहिले अरू कुनै समस्या नभएर सामान्य अवस्था भएमा चालू आवमा सडक निर्माण सम्पन्न हुने उनको भनाइ छ ।    यस वर्ष वर्षाका कारण सडक निर्माणमा अवरोध पुगेको थियो । बाजुरा र कालीकोटको सडक अवरुद्ध हुँदा इन्धन ल्याउन ढिलाइ भएकाले समस्या भएको उनले बताए । सबै राष्ट्रिय राजमार्ग दुई लेन निर्माण गर्ने सरकारको योजनाअनुसार सो राजमार्ग सोही योजना अनुसार निर्माण भइरहेको छ । अहिलेसम्म ट्र्याक खुलिसकेको सडक ८ मिटर चौडाइको छ । यसअघि सेनाले १२३ किमी सडक निर्माण गरिसकेको छ । सेनाले ट्र्याक खोलिसकेकाले आगामी कात्तिक मसान्तसम्ममा हस्तान्तरण गरिने लामाले बताए । सेनाले खुलाएको ट्र्याक पनि विस्तार गरेर ८ मिटर नै चौडा बनाइनेछ । सेनाले काम गरेको सडकखण्ड विस्तारका लागि ठेक्का सम्झौता गरिने र अवरुद्ध पहिरो खुलाइने उनले बताए । चालू आवमा माथिल्लो खण्डमा १५ किमीमा ग्राभेल हुनेछ । सो राजमार्गमा अहिलेसम्म सडक स्तरोन्नतिका लागि वैदेशिक सहयोग छैन । ‘नेपाल सरकारको बजेटबाटै स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ।    स्थानीयवासीलाई मनाएर ट्र्याक खुलाइने गरिएको छ । हिमाली क्षेत्रमा सडकको केन्द्रबाट १५÷१५ मिटर चौडाइ हुनुपर्नेमा अहिले आठ मिटर खोलिएको छ । अधिकांश ट्र्याकमा ठूलाठूला चट्टान भएकाले निर्माणमा ढिलाइ भएको योजनाले बताएको छ । उत्तरी नाका हिल्सा कोभिड–१९ का कारण बन्द रहेकाले निर्माण सामग्री ल्याउन कठिनाइ भएको थियो । उत्तरतर्फ मङ्सिरदेखि चैतसम्म हिउँ पर्ने भएकाले निर्माण बन्द रहने हुँदा पनि वर्षमा थोरै महिना मात्रै सडक बनाउन सकिने उनले बताए । सिमकोट सरिसल्ला खण्डको ५० किमि सडकको ट्र्याकमध्ये ४० किमी योजना कार्यालयले खुलाइसकेको छ । लालीखोला भीरदेखि स्यालटारसम्म १० किमिमा अफ्ठ्यारो चट्टाने भाग छ । सोमध्ये पनि सबैभन्दा अफ्ठ्यारो भाग सेनाको कर्णाली कोरिडोर विकास निर्माण दलले खुलाउनेछ । रासस  

सम्बन्धित सामग्री

कर्णाली करिडोरमा पाँच किमी ट्र्याक खोल्न बाँकी

काठमाडौं । राष्ट्रिय गौरवको कर्णाली करिडोर सडकमा झण्डै पाँच किमी सडकको ट्र्याक खोल्न बाँकी रहेको छ ।  कुल दुई सय ६८ किमी लम्बाइको सो सडकमा ट्र्याक खोल्न बाँकीमध्ये झण्डै साढे दुई किमीमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । एक दशकपहिले सडक निर्माण शुरु भएकामा कठिन भूगोलका कारण अझैसम्म ट्र्याक नै खोल्न बाँकी रहेको उत्तर–दक्षिण करिडोर निर्देशनालयले जनाएको छ । कडा चट्टान भएका खण्डमा ‘ब्लाष्टिङ’ पनि लामो र झन्झटिलो प्रक्रिया रहेको योजनाले जनाएको छ । ब्लाष्टिङका लागि आवश्यक सामग्री सेनाबाट लिनुपर्ने हुँदा समय लाग्ने गरेको हिल्सा सिमिकोट सडक योजनाका प्रमुख वीरेन्द्रबहादुर चन्दले बताए । ‍  उनले भने, ‘रकम भुक्तानी गरेर ‘अर्डर’ गरेपछि पनि नेपालगञ्ज हुँदै निर्माणस्थलमा आइपुग्न लामोे प्रक्रिया हुने गरेको छ ।’ सिमिकोटभन्दा माथि मौसमका कारण चार महीना मात्रै काम गर्न सकिने उनले बताए । वर्षभरमा सात÷आठ महीनासम्म हिउँले ढाकिने हुने हुँदा त्योभन्दा बाहेकको समयमा मात्र निर्माण हुने गरेको उनले बताए ।   कतिपय खण्डमा भने निर्माण व्यवसायीका कारणले ढिलाइ भएको पनि छ । ढिलाइका कारण निर्माण सामग्री उपलब्ध हुन कठिन हुनु र भौगोलिक कठिनाइ नै प्रमुख छन् । माथिल्लो भागमा सामान पहिले चीन भएर आउने गरेकामा कोभिडका कारण नाका बन्द थियो । त्यसले गर्दा पनि विगत वर्षहरूमा निर्माणले गति लिन नसकेको उनले बताए ।   निर्माणाधीन खण्डमध्ये दुईदेखि साढे दुई किमी सडक यस वर्ष सेनाबाट हस्तान्तरण हुने प्रमुख चन्दले बताए । सेनाले जिम्मेवारी लिएको खण्डबाहेक अरुतिर ट्र्याक खोल्न ठेक्का भइसकेको छ । माथिल्लो क्षेत्रमा ट्र्याक पनि खुलिसकेको र हुम्लाभन्दा तल्लो क्षेत्रमा मात्रै दुई ठेक्का बाँकी रहेको प्रमुख चन्दले बताए ।   त्यसमा नै अलिअलि कम ब्लाष्टिङ गर्नुपर्ने हुँदा काम अघि बढेको छैन । त्यो खण्ड पनि सेनालाई दिने कुरा भइरहेको उनले बताए । उनले भने, ‘सरिसल्ला सिमिकोट खण्डमा ठाउँठाउँमा गरेर दुईदेखि साढे दुई किमी बाँकी छ ।’ स्तरोन्नतिका लागि माथिल्लो भागमा ठेक्का चालु रहेको उनले जानकारी दिए ।   सरिसल्लाबाट सिमिकोट खण्डमा ट्र्याक नै खोल्न बाँकी छ । खुलालुदेखि सरिसल्लासम्म स्तरोन्नतिको काम भइरहेको योजनाले जनाएको छ । यस वर्ष पनि स्तरोन्नतिका लागि ठेक्का हुने उनले बताए । यस वर्ष ग्राभेल गरिने योजनाको तयारी छ ।  अहिलेसम्म खुलालु–सरिसल्ला एक सय २२ किमी सडकमध्ये ३५ किमी सडक चौडा गर्ने काम भइसकेको छ । हिल्सा–सिमिकोट ९५ किमी र सिमिकोट–सरिसल्ला सडक ५० किमीमध्ये ३८ किमी ट्र्याक खोलिसकिएको योजनाले जनाएको छ । सरिसल्ला सडक खण्डको लाली बगरदेखि छारे सडक खण्डको ११ किमी सेनालाई जिम्मेवारी दिइएको थियो ।  सिमिकोटबाट स्याम्ने साढे चार किमी खण्डमा स्थानीयले मुआब्जा माग गरेर केही विवाद सिर्जना भएको प्रमुख चन्दले बताए । उनले भने, ‘अहिले त्यो समााधन भएर काम भइरहेको छ ।’ योजनामा हालसम्मको भौतिक प्रगति २४ प्रतिशत र वित्तीय प्रगति २० दशमलव ४१ प्रतिशत छ । हालसम्म रु एक अर्ब ३६ करोड खर्च भइसकेको छ भने हालसम्मको ठेक्का रकम रु दुई अर्ब ३० करोड ९२ लाख छ । सडकको २० ठेक्कामध्ये गत आवमा तीनओटा सम्पन्न भएको थियो भने बाँकी एउटा ठेक्कामा सुस्त गतिमा काम भइरहेको छ । सरकारले विसं २०६९÷७० मा योजना शुरु गरेको थियो भने आव २०८३÷८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ । योजनाको कुल लागत रु छ अर्ब ६६ करोड १९ लाख छ ।  सरकारले कालीकोटको खुलालुदेखि सिमिकोट हुँदै हिल्सासम्म कालोपत्र सडक निर्माण गरी कालिकोट, बाजुरा र हुम्लालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने लक्ष्य लिएको छ । रासस

ट्र्याक खोल्दा सम्पदा जोगाउन सुझाव

बेनिघाट–आरुघाट–लार्केभन्ज्याङअन्तर्गत १८ किलोमिटर सडक खण्डको ट्र्याक खुलेसँगै दोभानसम्म वोलेरो, जिप, ट्याक्टर, ट्रक चल्न थालेका छन् । सडक ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । ट्र्याक खुलेको १८ किमि भने सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अहिले दोभानदेखि पाङसिङसम्मको खण्डमा ट्रयाक खोल्ने तथा ट्र्याक खुलेको क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ ।

सेनाले हस्तान्तरण गर्यो हावाडाँडा दोभानको १८ किमी सडक

नेपाली सेनाले गोरखा जिल्लास्थित बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाअन्तर्गत धार्चे गाउँपालिका–७ हावाडाँडादेखि सोही गाउँपालिका–३ स्थित दोभानसम्मको १८ किलोमिटर सडकको ट्र्याक निर्माण गरी आज हस्तान्तरण गरेको छ ।नेपाली सेनाको बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी विनोद भट्टले सडक विभाग अन्तर्गत ११ किलो छेपेटार–भालुस्वाँरा–वारपाक सडक योजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण गरेका हुन् ।विसं २०७३ मङ्सिर २६

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

दार्चुलामा सडकको ट्र्याक निर्माण कार्यको जिम्मेवारी सेनाले पायो

दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माण कार्यको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ ।नेपाल सरकारको यही माघ १७ गतेको मन्त्रिपरिषद्को बैठकका मुख्य निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् । बैठकले सेनाबाट उक्त निर्माण कार्य गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको उनले बताए ।

नेपाली सेनाले पायो दार्चुलाको सडकको ट्र्याक निर्माणको जिम्मेवारी

दार्चुलाको तुसारापानीदेखि कोठाधारसम्मको चार किलोमिटर सडक खण्डको ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ ।

महाकाली करिडोर अन्तर्गत दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुल्यो

पुस १९, दार्चुला ।  महाकाली करिडोर अन्तर्गत  दार्चुला–तिंकर सडकमा ७५० मिटर ट्र्याक खुलेको छ । सरकारले सेनालाई ७५ किमी ट्र्याक खोल्न जिम्मेवारी दिएकोमा गत मंसिर मसान्तसम्ममा चार मिटर चौडाइको सो सडक खुलाइएको हो ।  महाकाली नदी किनारै किनार र केही भित्री भाग हुँदै निर्माण हुने सो सडक निर्माणले स्थानीयवासीको जनजीवन सजिलो हुने अपेक्षा गरिएको छ । सरकारले गत वर्ष वैशाख १४ गतेको मन्त्रिपरिषद् निर्णयानुसार कोठेघर–तिंकर सडक सेनालाई दिएको थियो ।  सुरुमा लम्बाइ ८७ किमी रहेकोमा सर्वेक्षणपछि ७५ किमी मात्रै भएको सेनाको विकास निर्माण निर्देशनालयका प्राविधिक सहायक रथी कमलविक्रम शाहले बताए । सेनाले गत माघ २८ गते क्याम्प निर्माण गरेको थियो ।  दार्चुला सदरमुकाम खलंगाबाट ४० किमीमाथि सुनसरा र ६० किमीमाथि पर्ने दुम्लिङमा क्याम्प निर्माण भइसकेको निर्देशनालयले जानकारी दिएको छ । कोठेधारदेखि दुम्लिङसम्म पाँच ठाउँमा ‘कम्प्रेशर मेसिन’ प्रयोग गरी सडक खोल्ने काम भइरहेको प्राविधिक सहायक रथी शाहले बताए ।  यी ठाउँमा माल गाउँमा दुई, सक्नेरीमा एक, फुल्सिङमा एक र दुम्लिङमा एक रहेको छ । सडक रेखांकन महाकाली नदीको किनारमा भएकाले अधिकांश स्थानमा ब्लाष्टिङ गर्दा ढुंगाको टुक्रा सीमापारी जानु समस्याका रुपमा रहेको उनले बताए । कूटनीतिक रुपमा समन्वय गर्दा निर्माणअघि बढाउन सजिलो हुने उनको भनाइ छ । दार्चुला–तिंकर सडकमा पर्ने सुनसेरादेखि कोठेधार सात किमी सडक विभागबाट निर्माण भइरहेको थियो । सडक विभागले ठेक्कामार्फत ट्र्याक खुलाउन शुरु गरेकामा अहिलेसम्म तुसारपानीसम्म मात्रै ट्र्याक खोलिएको छ ।  तीन किमी ट्र्याक खोलिएकामा बाँकी चार किमी सडकको ट्र्याक खोल्न नेपाली सेनालाई नै दिँदा काम चाँडो गर्न सकिने प्राविधिक सहायक रथी शाहले बताए ।  तुसारपानीबाट कोठेधारसम्मको खण्डमा ट्रयाक खोल्न बाँकी हुँदा सेनालाई आवश्यक सामग्री र बन्दोबस्तीका सामान ढुवानीमा गाह्रो भएको छ । उनले भने, ‘दार्चुला–तिंकर सडक भौगोलिक रुपमा विकट र कठिन भुवनोटका कारणले निर्माण सामग्रीको उपलब्धता र ढुवानी गर्न गाह्रो भएको छ ।’  चालू आवमा सो योजनाको बजेट रू. २२ करोड ५० लाख रहेको थियो । चालू आवमा नै दार्चुला व्यास गाउँपालिका–१ मा पर्ने छाङ्ग्रुमा एउटा क्याम्प स्थापना गर्ने लक्ष्य सेनाको रहेकोे छ । चालू आवभित्रै सात किमी नयाँ ट्र्याक खाल्ने लक्ष्य लिइएको छ ।  चार मिटर चौडाइको तीन किमी र छ मिटर लम्बाइको चार किमी ट्र्याक खोल्ने लक्ष्य लिइएको हो । उनले भने, ‘त्यहीअनुसार काम भइरहेको छ ।’ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले ब्रम्हदेबदेखि तिंकरसम्म ४२५ किमी सडकमा ८७ किमी सेनालाई दिइएको बताए । सेनाले काम गरिरहेको बाहेक बाँकी खण्डमा विभागले ठेक्कामार्फत सडक निर्माण अघि बढाएको छ ।  विभागले निर्माण गरिरहेको सडक सेनालाई ८७ किमी काम गर्न पनि पहुँचमार्ग भएको र अहिलेसम्म त्यो नसकिँदा सेनालाई काममा बाधा पुगेको उनले बताए ।  सेना आफैले ट्र्याक खोल्दा चाँडो हुने भएकाले अहिले ठेक्का तोडेर सेनालाई जिम्मेवारी दिन लागिएको छ । उनले भने, ‘मेरो टेबुलसम्म फाइल आइपुगेको छ, अब सेनालाई नै जिम्मेवारी दिने गरी निर्णय हुनेछ ।’ सो सडकमा निर्माणका क्रममा बजेटको अभाव हुन नदिइने सचिव श्रेष्ठले बताए । सडक सकेसम्म सरकारको योजनाअनुसार नै चौडाइ कायम गराउनु पर्नेमा उनको जोड छ । सडक विभागले कम्तीमा सात मिटर चौडाइ बनाएपछि सेनाले निर्माण गरिरहेका सडकमा चौडाइ कम रहेको पाइन्छ ।  सेनाले सडक निर्माण सकाएर गाडी गुड्न थालेपछि विस्तार यातायात अवरुद्ध गर्नुपर्ने हुँदा गाहे हुने उनले बताए । उनले भने, ‘सेनाले नै ट्र्याक खोलेका पाँच छ मिटर चौडाइमा अहिले विभागले सात मिटरमा विस्तार गरिरहेको छ ।’ रासस

सेनाले ट्र्याक खुलाएर असारसम्म सिमकोटमा सडक पुर्‍याउने

११ कात्तिक, काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालु आर्थिक वर्षभित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरु गर्ने भएको छ । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेकोमा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी […]

मनाङको तलेखु–भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर ट्र्याक खोलिँदै

मनाङ । मनाङको तलेखु–भ्राताङ भीरमा नयाँ ट्र्याक निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन शुरू गरेको हो । सो सडकमार्ग २ महीनाभन्दा बढी अवरुद्ध हुँदै आएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान काटेर ट्र्याक बनाउन शुरू गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उनले बताए । सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेशिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ थालिएको र केही समयमै ट्र्याक खुल्ने जानकारी दिए ।      जिल्लाको ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा ब्लास्टिङ शुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने, ‘मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भीरमा बाढीपहिराले पूर्णरूपमा सडकको निशान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो ।’ यस भीरमा सडकको ट्र्याक खुलाएपछि माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उनले बताए । गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्गमा क्षति पुगेको थियो । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिरोले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ । सेनाले उक्त भीरको चट्टान कोपेर र बम प्रहार गरेर बाटो निर्माणको काम सोमवारदेखि थालिएको हो,’ उनले भने । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाई बम राखेर ब्लाष्टिङ भइरहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार एक्स्क्याभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ । बेँशीशहर–चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको छ ।       यस्तै चामेबाट माथिल्लो क्षेत्रमा सडक सञ्चालन भए पनि तलेखु–भ्राताङ भीरको सडक निर्माणका प्रक्रियामा छ । उक्त सडक क्षेत्रमा सडक मर्मतका लागि गृह मन्त्रालयमार्फत सेनाको हेलिकोप्टरबाट इन्धन ल्याइएको थियो । गत जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । पुनः गत असार १ गते आएको बाढीपहिराले जिल्लाका धेरै स्थानमा पूर्णरूपमा क्षति पु¥याएको थियो । यसका लागि स्थालमार्गको असहजताले गर्दा निर्माण कार्यमा सकस भएको छ । सडक निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने सामग्री र इन्धन ढुवानीको सहज पहुँच नहुँदा निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयको भनाइ छ । बाढीपहिराको क्षति पुर्‍याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भए बमोजिम मर्मत थालिएको हो । बेँसीशहर–चामे सडक खण्ड १०७ किलोमिटर रहेको छ । सडक अन्तर्गत केही स्थानमा नयाँ ट्र्याक पनि खुलाउने प्रयासमा रहेको बताइएको छ । रासस