आराध्यदेव पशुपतिनाथ नेपाल, भारत तथा विश्वका विभिन्न शिव मन्दिर, महादेवस्थानहरूमा हिन्दु नरनारीबाट भक्तिपूर्वक पूजा–आराधना गरिनुमा साउने सोमबारको ठूलो महिमा छ । संसारका हिन्दुहरू ठूलो उत्साहका साथ पशुपतिनाथ लगायत नेपाल, भारत तथा विश्वमा अवस्थित शिव मन्दिरहरूमा आराधनाको लागि साउनको सोमबार भक्तजनको ठूलो भिड लाग्दछ ।
पशुपतिनाथ हिन्दुहरूका लागि ठूलो तीर्थस्थल हो । प्रथम गोपालवंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको उल्लेख छ । हिमालयको दक्षिण, गङ्गाको उत्तर, काठमाडौँ उपत्यका रुद्रको अति नै प्रिय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाइँकुण्ड, पिण्डेश्वरलाई पवित्र क्षेत्रको रुपमा लिइन्छ । कैलाश–मानसरोवर, गोसाइँकुण्ड, अमरनाथलाई शिवजीको तपोभूमिका रुपमा विश्वभरका हिन्दु तथा बौद्धमार्गीहरूले मान्दछन् । पशुपतिनाथलाई शिव, महादेव, किराँतेश्वर, शङ्कर, शम्भु, ज्योतिलिङ्ग आदि विभिन्न नामले पुकारिन्छ ।