नुवाकोटमा केन्द्रीय तहका नेताहरू चुनावी मैदानमा छन् । यसैले गर्दा यहाँको निर्वाचन अलि बढी रोचक हुने देखिएको छ । उम्मेदवारहरू आआफ्नै अजेन्डा लिएर चुनावमा होमिएका छन् । मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नुवाकोटमा नेपाली कांग्रेस र बाम गठबन्धनबीच कडा टक्क हुने देखिएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत लोकतन्त्रका रक्षा र आर्थिक समृद्धिका लागि आफू चुनावी मैदानमा उत्रिएको बताउँछन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनबाट उम्मेदवार भएका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हितबहादुर तामाङले संविधानको रक्षा र विकासका लागि आफू जनताको माझ आएको धारणा राख्छन्।