सूर्या लाइफ इन्स्योरेन्स Surya Life Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते विराटनगर स्थित होटेल हैरिसन प्यालेसमा साधारणसभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद लाभांश गरि कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २६ करोड २८ लाख रहेको छ ।कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : क) सामान्य प्रस्तावः १. संचालक समितिका तर्फबाट अध्यक्षज्यूबाट पेश हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने। २. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७७ साल आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७६/०७७ को नाफा/नोक्सान हिसाव र नगद प्रवाह विवरण एवं तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गर्ने । ३. लेखा परीक्षण समितिको सिफारिस बमोजिम आर्थिक बर्ष २०७७/०७८ को लागि लेखा परिक्षक नियुक्ति गर्ने तथा नीजको पारिश्रमिक निर्धारण गर्ने । ४. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- को ०.६६८४ प्रतिशतका दरले हुने रकम रु.१,५१,२५,६६३/- नगद लाभांश (प्रस्तावित बोनस शेयरको कर प्रयोजनको लागि) स्वीकृत गर्ने । ५. संस्थापक शेयरधनी समूह (क) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ (चार) जना संचालक र सर्वसाधारण शेयरधनी समूह (ख) बाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ (दुई) जना संचालकको निर्वाचन गर्ने । ख) विशेष प्रस्तावः १. संचालक समितिले प्रस्ताव गरे बमोजिम विद्यमान चुक्ता पूँजी रु.२,२६,२८,९४,५००/- (अक्षरेपी दुई अर्ब छब्बिस करोड अट्ठाईस लाख चौरानब्बे हजार पाँच सय मात्र) को १२.७० प्रतिशतका दरले हुने रकम रु.२८,७३,८७,६००/- (अक्षरेपी अट्ठाईस करोड त्रिहत्तर लाख सतासी हजार छ सय मात्र) बराबरको शेयर लाभांश (बोनस शेयर) वितरण गर्ने प्रस्ताव पारित गर्ने । शेयर लाभांश (बोनस शेयर) वितरण गर्दा कायम हुन आउने दशमलव पछिको भिन्न अंक (Fraction) लाई सम्बन्धित शेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्ने । २. शेयर लाभांश (बोनस शेयर) वितरण पश्चात् हुने शेयर संरचना बमोजिम जारी पूँजी तथा चुक्ता पूँजीलाई सोही अनुरुप बृद्धि गर्ने । ३. कम्पनीको बिद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०:४० को संरचनालाई परिवर्तन गरि ५१:४९ प्रतिशत कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढि भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव पारित गर्ने । ४. कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने । कम्पनीको प्रवन्धपत्र तथा नियमावलीको प्रस्ताबित संशोधनमा सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन/फेरबदल गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने । ५. कम्पनी ऐनको दफा १०५ (१) (ग) बमोजिम आ.व. २०७६/०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने ।