काठमाडौं (अस) । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारणसभा विराटनगरमा सम्पन्न भएको छ । साभारणसभाको अध्यक्षता कम्पनी सञ्चालक समिति अध्यक्ष केशवप्रसाद भट्टराईले गरेका थिए । साधारणसभाले चुक्ता पुँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै सञ्चालक समितिमा संस्थापक शेयरधनी समूह ‘क’ बाट प्रतिनिधित्व गर्ने ४ सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने २ सञ्चालक निर्वाचित गरेको छ । संस्थापक शेयरधनी समूह ‘क’ बाट केशवप्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल तथा विवेक झा र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट कृति टिवडेवाल तथा वीरेन्द्रबाबु श्रेष्ठ निर्वाचित भएको कम्पनीले बताएको छ ।
कम्पनीले चालू आव ०७८/७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा रहेका ४९,७१७ अभिकर्तामार्फत १२२९७० बीमालेखबाट रु.२,०१,८५,७१,३१८ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दाबी भुक्तानी रु.२९,१८,६७,३१० गरेको जनाएको छ ।