फागुन ९, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले हाल कायम संस्थापकतर्फको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४० प्रतिशत शेयर संरचनालाई ४९ प्रतिशत कायम गर्ने भएको हो ।
कम्पनीको गत पुस १९ गते सम्पन्न १३ औं वार्षिक साधारण सभाले शेयर संरचना परिवर्तनका लागि अनुमति प्रदान गरिसकेको छ । यस आधारमा कम्पनीको संस्थापक तर्फको शेयर स्वामित्व ९ प्रतिशत घट्ने भएको छ ।
९ प्रतिशत संस्थापक शेयर स्वामित्व सर्वसाधारणमा परिणत हुने हुँदा इच्छा नभएका सदस्यहरुलाई आगामी सात दिनभित्र स्वःघोषणा पत्र पेश गर्न कम्पनीले अनुरोध गरेको छ ।
यदि तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट स्वःघोषणा पत्र प्राप्त नभएमा ९ प्रतिशत संस्थापक शेयर सर्वसाधारणमा परिणत गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ५५ करोड २ लाख ८२ हजार रहेको छ । यस वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट १२ दशमलव ७० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६७ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।