बर्सेनि हुने रासायनिक मलको अभाव यस पटक हुन नदिने चुनौती कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई छ । त्यो चुनौती पार गर्न मन्त्रालयले सम्पूर्ण शक्ति लगाइरहेको छ र आगामी साउन–भदौमा रासायनिक मलको अभाव हुँदैन भन्ने दाबी गर्दै आएको छ । त्यसका लागि तत्कालीन र दीर्घकालीन तयारी गरेको बताइएको छ । त्यसका लागि दीर्घकालीन समाधान गर्न कारखाना खोल्ने गृहकार्य सुरु भएको छ । यता बङ्गलादेशबाट जीटूजी सम्झौता गरी मल ल्याउँदैछ भने भारतसँग बेग्लै सम्झौताको तयारी छ । मल वितरण प्रणालीलाई व्यवस्थित बनाउन मन्त्रालयले निर्देशिका पनि जारी गरेको छ । अहिले प्रदेश तथा स्थानीय तहसँग मलको कति आवश्यकता छ त्यसको विवरण पनि मागेको छ । कुन महिना, कुन बालीका लागि कति मल चाहिन्छ त्यसको रोडम्याप पनि बनाएर बसेको छ तर किसानमा भने यस अवस्थामा पनि मलको हाहाकार हुने हो कि भन्ने चिन्ता अहिलेदेखि नै छ ।