‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि […]

सम्बन्धित सामग्री

२०८० मा आठ पूर्वाधार : कुनमा कति प्रगति ?

वि.सं. २०८० साल शुक्रबार सकिएको छ । देशको राजनीतिक, आर्थिक तथा विकास पूर्वाधारको क्षेत्रमा विभिन्न उतारचढाव हुँदै यो वर्ष आजबाट बिदा हुँदैछ। यो वर्ष सकिँदै गर्दा केही विकास पूर्वाधारमा प्रगति भएको छ भने केही पूर्वाधारले अपेक्षा गरेअनुसार प्रगति हासिल गर्न सकेका छैनन् ।

आधुनिक होइन, दिगो र रैथाने कृषिको खाँचो छ

जीवनमा गरेका काम, हासिल गरेका सफलता र जोडिएका सम्बन्धले मानिसको परिचय पनि थपिँदै जान्छ । यस्तै अनेकौं परिचयबाट चिनिने व्यक्ति हुन् आङतेम्बा शेर्पा । हुन पनि ६० वर्षे उमेरमा उनी कहिले पर्यटकको भरिया, पर्वतारोही त कहिले मोडलसम्म बने । यस्तै आविष्कारक, लेखक र पर्यटन व्यवसायी तथा कृषि अभियन्ताको परिचय पनि बनाए । कक्षा ३ सम्मको औपचारिक शिक्षापछि पर्यटकको भारी बोक्न थालेका शेर्पाले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडल तथा ब्रान्ड एम्बासडरको भूमिका समेत निर्वाह गरेका छन् । त्यति मात्र होइन, अमेरिकामा पानीजहाज, लुगा तथा हेलिकोप्टर कम्पनीको विज्ञापनमा समेत उनले मोडलिङ गरिसकेका छन् । पछिल्लो समय भने उनको व्यस्तता पर्यटन व्यवसाय, कृषि तथा किताब लेखनमा बढेको छ । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–३ छेप्लु (तत्कालीन सगरमाथा अञ्चल, सोलुखुम्बु, चौरीखर्क गाविस–७) मा जन्मिएर संसारका थुप्रै मुलुकमा विभिन्न काम गरिसकेका शेर्पासँग उनको जीवन संघर्ष, उतारचढाव र अनुभवबारे आर्थिक अभियानका कार्यकारी सम्पादक रुद्र खड्काले गरेको कुराकानीको सम्पादित अंश :  तपाईंले विदेशी पर्यटकको भारी बोक्ने कामदेखि पर्वतारोहण, उद्योग, व्यवसाय सञ्चालन, वातावरण संरक्षण तथा स्वीस घडीको मोडलिङसम्मको काम गरिसक्नु भएको छ । खासमा तपाईं आफूलाई कसरी चिनाउनु हुन्छ ? संसारमा झन्डै ८ अर्ब मान्छेको बसोवास छ । सबै फरकफरक खालका छन् । तर सबैले श्वास फेर्छन् । म पनि श्वास लिएरै पृथ्वीमा आएको एउटा मानव हुँ । पृथ्वीमा मानव भएर आइसकेपछि केही न केही काम गर्नुपर्ने हुन्छ । प्रकृतिको नियम अनुसार मैले पृथ्वीमा जन्म लिइसकेपछि विभिन्न काम गरेको हुँ । अहिले म आविष्कारक पनि भएको छु । मानिसलाई पँखेटा बनाएर उड्न मिल्ने प्याराग्लाइडिङ र पावर प्याराग्लाइडिङ (पीपीजी) उपकरण निर्माणमा योगदान गरेको छु । यसको आविष्कार गर्ने तीनजना व्यक्तिमध्ये एउटा म हुँ । मानिस पँखेटा लगाएर उडोस् भन्ने मेरो चाहना छ । त्यस्तै पृथ्वीलाई प्राकृतिक रूपमा बचाइराख्न म वातावरण संरक्षणको दूत भएर पनि हिँडिरहेको छु, काम गरिरहेको छु । ‘पृथ्वी मेरो घर, स्वास्थ्य मेरो धन’ नाराका साथ देश–विदेश दौडाहामा छु । त्यस्तै मेरो ‘कृषि मेरो चाहना, कृषक मेरा साथी’ भन्ने अर्को नारा पनि छ । कृषि क्षेत्रबाट उत्पादित खाद्यान्नविना पृथ्वीमा बसोवास गर्ने कुनै पनि मानिसको जीवन चल्न नसक्ने भएकाले कृषि उत्पादन तथा राष्ट्रिय खाद्य बैंक लिमिटेडसँग पनि जोडिएको छु । देशभित्रका २५–३० जिल्लाबाहेक जापान, दक्षिण अफ्रिका, अमेरिका र युरोेपमा पनि खाद्य बैंकको सञ्जाल विस्तार भइसकेको छ ।  मानिसले प्रकृति बिगार्दै गएकाले त्यसको संरक्षण आवश्यक देखिएकाले संरक्षणका लागि नयाँ सोच र योजनाका साथ काम गर्ने मेरो चाहना छ । त्यही भएरै पँखेटा लगाएर उड्न मिल्ने पीपीजीको आविष्कार गरिएको हो । पीपीजी आउनुअघि प्यारासुट, प्याराग्लाइडिङ, हेङग्लाइडिङ जस्ता विभिन्न माध्यमबाट पनि उडान हुँदै आएका थिए, भइरहेका पनि छन् । यस्तोमा इन्धनविना उड्न सक्ने अझै भरपर्दो साधनको आवश्यकता बोध भयो । सोही आवश्यकता पूर्तिका लागि पीपीजीको आविष्कार गरिएको हो । इन्धनविना आकाशमा उड्यो भने प्रदूषणबाट मुक्त हुन सकिन्छ । हवाईजहाज निर्माण गर्न, विमानस्थल बनाउन, गाडी किन्न धेरै पैसा लाग्ने भएकाले पीपीजीको प्रयोगले त्यो समस्या पनि समाधान हुने भयो । अहिले लाखौं मान्छे पीपीजीबाट उड्न थालेका छन् । यो काम सफल भएकोमा म खुशी छु । यी सबै काम गरे पनि म एउटा साधारण मानव हुँ भनेर परिचय दिन चाहन्छु ।  मेरो जीवनको करिअर भने पर्यटकको भरिया बोक्ने कामबाट शुरू भएको हो । तर मैले लिएको विचार महत्त्वपूर्ण भएकाले र सोहीअनुसार इमानदार भएर काम गरेकाले विभिन्न अवसर पाएँ । स्वीट्जरल्यान्ड, चेक रिपब्लिक, अमेरिका जस्ता देशमा पुगेर विचार राख्न पाएँ । त्यहाँका नागरिकले मेरा विचार र कर्मलाई पत्याए । अहिले म पर्यटन व्यवसायी पनि भएको छु । यतिखेर पर्यटनको सिजन भएकाले मेरो कर्मबाट रोजगारी सृजना भइरहेको छ । केही दिनपछि म हिमाल चढ्न जाँदै छु । किताब लेख्ने काम पनि गरिरहेको छु । सोलुखुम्बुको चौंरीखर्कमा जन्मिएको एउटा मान्छेका लागि यो सबै काम निकै बढी हो जस्तो लागे पनि मैले सहज रूपमा लिइरहेको छु ।  इमानदारीपूर्वक काम गरेकाले नाम, दाम कमाउन सफल भइयो । मानिस इमानदार हुने हो भने संसारमा जहाँ बसे पनि हुन्छ । कतिपयले मलाई धेरै धनी व्यक्ति पनि भन्छन् । त्यसो सुन्दा मलाई हाँसो लाग्छ । मेरो विचारमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको मान्छेको इमानदारी हो । जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या छ जस्तो लाग्दैन । मान्छेको जीवनमा धेरैभन्दा धेरै जनासँग सहकार्य गरेपछि मात्र केही न केही नयाँ योजना बन्ने हुन् । मेरो जीवनमा पनि त्यस्तै भइरहेको छ । मेरो विचारमा हरेक व्यक्तिका लागि जम्मा दुई दिन हुन्छ, एउटा जन्म र अर्को मृत्युको दिन हो । अरू समय व्यतीत गर्ने अवधि मात्र हो । जन्म र मृत्युबीचको अवधिमा सबैले केही न केही काम गर्छन् । सिद्धार्थ गौतम बुद्धले भनेझैं मानिस प्रकृतिप्रेमी हुनुपर्छ भन्ने मलाई लाग्छ । म पनि त्यसैबाट प्रभावित छु । गौतम बुद्धले आममानिसका लागि काम लाग्ने विचार दिएकाले अहिलेको पुस्ताले देवता मानेको हो जस्तो लाग्छ । मलाई पनि देवता भनेको त्यस्तो हो जस्तो लाग्छ, जसले अरूका लागि दिने काम गर्छ ।  हिजोको भरिया आङतेम्बा आज कसरी यतिखेर चर्चा गर्न लायक अवस्थामा पुग्यो ? मैले जीवनमा ठूलो मान्छे खोज्न भनेर सारा संसार चहारेँ । अहिले विगतलाई संस्मरण गर्दा यो सब नबुझेर भएको रहेछ भन्ने लाग्छ । वास्तविक रूपमा भन्ने हो भने भरिया हुँदाको आङतेम्बा र अहिलेको आङतेम्बा एउटै हो । त्यतिबेला भौतिक रूपमा उचाइ, मोटाइ केही कम थियो होला । अहिले केही वृद्धि भएको होला । अहिले मलाई अन्तरराष्ट्रिय स्तरमा दिइएका नाम सबै कृत्रिम हुन् । म हिजो जे थिएँ, अहिले पनि त्यही हुँ । तर यो सब कुरा ठूलो मान्छे खोज्दै हिँडेपछि मात्र थाहा भयो । मलाई अहिले प्राप्त भएको ज्ञान यो संसारमा आफूभन्दा ठूलो मान्छे कोही रहेनछ भन्ने हो । ठूला ठूला कम्पनीका ब्रान्ड एम्बासडर, अन्तरराष्ट्रिय बुद्धिजीवी, आविष्कारक जस्ता जे नाम दिए पनि मेरा लागि ती त्यति महत्त्वका छैनन् । बरु त्यस्ता नाम थपिँदै गएको देख्दा हाँसो लाग्छ । हिजो म जे थिएँ, अहिले त्यो नहुन सक्छु । परिचय फेरिँदै गएको मात्र हो । मैले यस अवधिमा विभिन्न संघसंस्थालाई सघाइरहेको पनि छु । शरीरमा श्वास रहँदासम्म विभिन्न काम र परिचय हुन्छ । प्रकृतिलाई माया गर्ने मान्छे असल हुन्छ । मैले पर्यटकको भरिया हुँदादेखि नै अवलम्बन गरेको कर्म र इमानदारी आजपर्यन्त कायम राखेको छु ।  सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ ।  नेपालमा राम्रो सिस्टमको विकास नहुँदा जनताले दु:ख पाइरहेका छन् ।  जो जहाँ छ, त्यसमा इमानदार हुने हो भने प्रगति गर्न खासै समस्या हुँदैन । तपाईंले स्वीट्जरल्यान्डको विश्वप्रसिद्ध घडी कम्पनी (वेस्ट एन्ड वाच)को मोडलिङ पनि गर्नुभयो । यो कसरी सम्भव भयो ? मैले स्वीस घडीको मात्र नभई सयौं विदेशी वस्तुको मोडलिङ गरेको छु । अर्बौं डलर पूँजी भएका कम्पनीले उत्पादन गर्ने वस्तुको मोडलिङ गरेको छु । ती कम्पनीले मलाई भयङ्कर ठूलो मान्छे भएको जस्तो बनाए । यो सब मेरो कामप्रतिको निष्ठाले सम्भव भएको हो । त्यसैले म सधैं निष्ठावान् भएर काम गर्न सबैलाई सल्लाह दिने गर्छु । काम नै सबथोक वा देवता जस्तो भयो भने नाम, दामका लागि कुनै समस्या हुँदैन । मैले शुरूमा काम नै देवता हो जस्तो गरेँ । देवताका लागि ढुंगा, पोखरी या अन्य वस्तुभन्दा पनि काम नै हो भन्ने बुझाइले यहाँसम्म पुर्‍यायो भन्ने मेरो बुझाइ छ । म कहिल्यै पनि पोखरी, हिमाल वा ढुंगा पूजा गर्नतिर लागिनँ । कामलाई महत्त्व दिएँ । कामप्रतिको मेरो इमानदारीले विदेशी कम्पनीले पत्याए । इमानदारीले नै मेरो काम सफल भएको हो । भरियाको काम गर्दागर्दै विदेश पुग्दाको अनुभव सुनाइदिनुहोस् न । मेरो विदेश यात्रा हङकङ, सिंगापुर, थाइल्यान्डबाट भएको हो । म १६–१७ वर्षको उमेरदेखि नै विदेश जान थालेको हुँ । विदेश जाँदा पनि पर्यटकको भारी बोक्ने काम गर्थें । तत्कालीन राजा महेन्द्रले मनाङमा बसोवास गर्ने नागरिकका लागि गरिखान झिटीगुन्टाको सुविधा दिएका थिए । किनकि त्यो बेला मनाङवासी एकदमै गरीब थिए । झिटीगुन्टाको सुविधा पाएकाले विदेशबाट सामान ल्याएपछि भन्सार लाग्दैनथ्यो । सोही सुविधा अनुसार विदेशबाट सामान आयात हुन थाल्यो । मैले पनि झिटीगुन्टाको सुविधा अनुसार राहदानी बनाएर पर्यटकको भरिया हुँदै हङकङ जाने मौका पाएँ । त्यसपछि सिंगापुर, थाइल्यान्ड र बंगलादेश पुगेँ । त्यही अवसरमा धेरै कुरा सिक्ने मौका मिल्यो । अनि धेरै विषयमा अनुसन्धान गर्न पाएँ । यद्यपि औपचारिक शिक्षा भने मैले ३ कक्षासम्म मात्र पढेको हुँ । त्यही अनुभव नै स्नातकोत्तर वा विद्यावारिधिभन्दा अब्बल ठहरियो, जसले गर्दा म वैदेशिक यात्राबाट प्रभावित भएँ । म झिटीगुन्टाको सुविधा अनुसार विदेश गएकाले मनाङेहरूले आयात गर्ने सामानको फारम भरिदिने, कुन जहाज कहाँ जाँदै छ भन्नेबारे जानकारी दिनेजस्ता काम गर्न थालेँ । नेपालमा ल्याउनुपर्ने सामान, भन्सारले लिने करको बारेमा मनाङेहरूलाई पनि जानकारी दिने काम गरेँ । हङकङको अनुभवले युरोेप जान पाएँ । युरोेप पुगेपछि रेल देखेँ । दिल्लीबाट जर्मनीको फ्र्यांकफर्ट विमानस्थल हुँदै युरोप गएको हुँ । १९ वर्षको उमेरमा त्यहाँ पुगेँ । त्यहीँबाटै स्वीट्जरल्यान्ड गएँ ।  युरोेप पुगेपछि के गर्नुभयो ? मैले आफ्नो कामलाई निरन्तरता दिएँ । त्यहाँ पुगेपछि पैसा पनि कमाएकै हो । त्यही पैसाबाट नेपालमा बैंक स्थापना गर्न मद्दत पुग्यो । जनता बैंक स्थापना गर्ने संस्थापकमध्ये एक हुँ । तर बैंकमा पैसा लगानी भएपछि ‘फ्रिज’ हुँदो रहेछ । मलाई त्यसमा पनि दु:ख लागेन । किनकि त्यसबाट कैयौंले रोजगारी पाइरहेका थिए, छन् । मैले कमाएको पैसा विभिन्न व्यवसायमा लगाएको छु । अहिले पनि पैसा चाहियो भने विदेशबाट ल्याउन सक्छु भन्ने आँट छ । मैले इमानदारीलाई आत्मसात् गरिरहेकाले पैसाको समस्या नभएको हो र यसका लागि अरूले पत्याएका हुन् भन्ने लाग्छ । तपाईंले नेपालमा कृषि अभियान पनि चलाइरहनु भएको छ, किन ? कृषि मानिसलाई बचाउने मुख्य क्षेत्र हो । कृषि नहुने हो भने भोकमरी हुन्छ । त्यही भएर म यो अभियानमा लागेको हु । मेरो जोड रैथाने बालीको संरक्षण र प्रवर्द्धनमा छ । आकाश र जमीनले दिएको चिजबाट मानिस जिउनुपर्छ । कृषि उत्पादन नगर्ने हो भने भोकमरी हुन्छ । रैथाने बालीको उत्पादन गर्‍यो भने दीर्घकालीन पनि हुन्छ । त्यसविपरीत एकजनाले रोपेपछि हजार, लाखले खान पाउने खेती प्रणालीले मानिसलाई दीर्घकालसम्म हित गर्दैन । यस्तो खेती छिटो, मीठोका लागि मात्र हो । यसबाट उत्पादित कृषिउपज अखाद्य हुन्छ, यस्तो विधिको खेतीले जमीन नष्ट गर्छ । त्यही भएर मैले रैथाने खेतीलाई जोड दिइरहेको छु । मानिसले यसो गर्‍यो भने लामो समयसम्म कृषि गर्न सकिन्छ, नत्र चाँडै माटो मर्छ । आधुनिक नाममा भइरहेको खेतीले अनेकौं समस्या निम्त्याइरहेको छ । जमीन मर्‍यो भने खेती हुँदैन । म जापान, इटाली, हल्याण्डलगायत देशमा पनि खेतीकार्यमा लागिरहेको छु । त्यहाँ पनि रैथाने कृषि पद्धतिलाई जोड दिइरहेको छु । कृषि कर्ममा लाग्नुको मेरो उद्देश्य सबैले खान पाउनुपर्छ भन्ने हो । अहिलेका मान्छेले मात्र नभई २–३ सय वर्षपछि जन्मने मानिसले पनि खान पाउने गरी कृषि उत्पादन हुनुपर्छ भन्ने मेरो सोच छ । मेरो टिममा कृषिका विज्ञहरू पनि छन् । अहिलेको समयमा मेरो सोच फरक जस्तो लागे पनि यतिखेर पृथ्वीका लागि वैज्ञानिक कामभन्दा प्राकृतिक संरक्षणका काम गर्न बढी आवश्यक छ । केही वर्ष अघिसम्म मलाई पनि नेपालमा किन विकास नभएको होला जस्तो लाग्थ्यो । तर अहिले युरोेप, अमेरिकाजस्तो विकास नेपालमा भएको भए प्रकृतिको संरक्षण हुन्थ्यो होलात ? भन्ने लाग्छ । संसारका विभिन्न देशमा भ्रमण तथा बसोवास गरेकाले तपाईं नेपाल सरकारलाई के काम गर्न सल्लाह, सुझाव दिनुहुन्छ ? सर्वप्रथम त नेपालको सरकार चलाउने शैलीमा धेरै सुधारको खाँचो छ भन्ने मेरो ठम्याइ छ । नेपालमा राम्रो सिस्टम बन्न नसकेकाले जनताले दु:ख पाइरहेका छन् । सिस्टम बन्न नसकेकै कारण ठूलो संख्याका युवायुवती विदेश गइरहेका छन् । ठूलो संख्याका युवायुवती विदेश पस्दा खेतीयोग्य जमीन बाँझो छ । पुरुष विदेश पस्दा महिला एक्लै बस्न बाध्य छन् । यसले जनसंख्यामा पनि कमी ल्याइरहेको छ । त्यसैले विदेश गएकालाई नेपाल फर्काउन आवश्यक देखिएको छ । युवा देशमा फर्किएपछि बाँझो जमीनमा कृषि उत्पादन शुरू हुन्छ । सरकारले राम्रो काम गरेर देखायो भने विदेश गएकाहरू फर्कन्छन् । तर सरकारका गतिविधि हेर्दा राम्रो काम गर्न चासो छैन । विगतदेखि नै बन्ने गरेका सरकार राम्रो ट्र्याकमा आउन सकेका छैनन् । सरकारले दीर्घकालसम्म काम लाग्ने काम गरेको पनि देखिँदैन । सरकारले जनताको हितमा काम गर्ने हो भने सबैभन्दा पहिला कृषिमा जोड दिनुपर्छ, उद्योग कलकारखाना स्थापनामा लाग्नुपर्छ । अहिले सरकारमा बस्नेहरूले ठूला ठूला कुरा गर्नुभन्दा पनि साना ठानिएका, तर ती महत्त्वपूर्ण काम परिपक्व तरीकाले गर्नुपर्छ । कृषि मात्र सुधारिने हो भने देशले निकै प्रगति गर्ने सम्भावना छ । तर यो देशमा चाहिनेभन्दा नचाहिने कुरा गर्नेको समूह सक्रिय छ । तपाईंको आगामी योजना के कस्ता छन् ? अहिले मेरो इच्छा तपस्या गर्नेतिर भएकाले तपस्या पनि गरिरहेको छु । स्वच्छ र शान्त वातावरणमा बस्न चाहन्छु । मान्छेले जन्मदेखि मृत्युसम्म थुप्रै काम गर्नुपर्ने भएकाले मेरो पनि मृत्युसम्म इच्छा लागेका विषयमा अध्ययन, अनुसन्धान गर्ने विचार छ । तर अहिले नै यसै विषयको अनुसन्धान भन्न चाहिँ सकिँदैन ।

शेयर लगानीकर्ताको अनुभव : दीर्घकालसम्म टिकिरहन निरन्तरता र अध्ययनशीलता हुनुपर्छ

विगत १६ वर्षदेखि शेयर बजारमा सक्रिय लगानीकर्ता दुर्गा तिवारी हाल नेपाल इन्भेस्टर्स फोरमकी महासचिव हुन् । डेढ दशकको बजार यात्रामा आएका उतारचढावलाई प्रत्यक्ष नियालेकी तिवारीसँग सफल लगानी र चुनौतीका विषयमा आर्थिक अभियानकी लक्ष्मी शर्माले गरेको कुराकानीको सार : शेयर बजारमा लगानीको लागि कम्पनी छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ? कुनै पनि कम्पनीको शेयरमा लगानी गर्नुपूर्व लगानीकर्ताले सर्वप्रथम बजार कुन विन्दुमा छ भनेर हेर्नुपर्छ । बजारको विन्दुअनुसारको लगानी रणनीति बनाउनुपर्छ जस्तो मलाई लाग्छ । अनि अर्को कुरा  कम्पनीले कति नाफा कमाइरहेको छ भनेर त्रैमासिक वित्तीय विवरण राम्रोसँग नियाल्नु जरुरी हुन्छ । कम्पनीले नियमितरूपमा लाभांश वितरण गरिरहेको छ कि छैन भन्ने सम्बन्धमा पनि ध्यान दिनुपर्ने हुन्छ । कम्पनीको वार्षिक प्रगति कस्तो भइरहेको छ, त्यसलाई पनि ध्यान दिनुपर्ने हुन्छ । कुनै पनि कम्पनीले राम्रो प्रतिफल दिए पनि बजार माथिल्लो विन्दुमा गएको बेलामा खरीद गर्दा त्यसबाट पनि सोचेअनुरूप प्रतिफल नहुने देख्छु । ट्रेड गर्ने हो भने लगानीकर्ताले बजारको ट्रेन्ड र कस्ता कम्पनीहरूको शेयर मूल्य बढिरहेको छ र कति प्रतिफल प्राप्त भएपछि प्रोफिट बुक गर्ने भन्ने ध्यान दिनु उचित देख्छु । अर्को कुरा दीर्घकालीन लगानीमा पनि पहिला बजार कुन ठाउँमा छ ? कम्पनीको वित्तीय अवस्था एवं लाभांशको इतिहासलाई हेरेर लगानी गर्नु उचित हुन्छ ।  पूँजी बजारमा हुने उतारचढाव एवं यसको दिशा कसरी पत्ता लगाउन सकिन्छ ?  दीर्घकालीन रूपमा लगानी गर्ने लगानीकर्ताले शेयर बजार यहाँनिर छ भनेर अनुमान लगाउन सक्छन् । शेयर बजारलाई यो नै उच्चतम विन्दु अथवा न्यूनतम विन्दु भनेर पत्ता लगाउने औजार भने छैन । बजार घटेर केही तल आएपछि अब लगानी गर्दा जोखिम कम छ भन्न सकिन्छ, बजार बढेर माथि गइरहँदा मैले अनुमान गरेको प्रतिफल यत्ति नै हो, अब बजारबाट निस्कन्छु भन्ने हुन्छ । तर, बजार यहाँभन्दा बढ्छ या घट्छ भनेर पत्ता लगाउने औजार संसारभरि नै छैन ।  नयाँ लगानीकर्ताको लागि शेयर बजारमा प्रवेश गर्न र बाहिरिन कुन समय उपयुक्त हुन्छ ? धेरैजसो पूँजी बजार उच्चतम विन्दुमा पुग्दा अधिकांश नयाँ लगानीकर्ता प्रवेश गर्ने गर्छन् । त्यही बेलामै नयाँ लगानीकर्ताको आगमनले नै बजार उच्चतम विन्दुमा पुगेको हुन्छ । वास्तवमा त्यो समय लगानी गर्न नभई बेच्नका लागि उपयुक्त समय हुन्छ । नयाँ लगानीकर्ताले बजार घटिरहँदा घाटा लाग्ने डरले शेयर बेचेर बाहिरिने प्रवृत्ति छ । यसरी लगानी गर्ने उपयुक्त समयमा बाहिरिँदा बढी नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ । नयाँ लगानीकर्ताको रणनीतिभन्दा ठीक उल्टो भइरहेको हुन्छ । त्यसले गर्दा धेरै लगानीकर्ताहरू घाटामा हुन्छन् । अहिलेको बजारलाई हेर्ने हो भने कतिपय कम्पनीको शेयर मूल्य बुक भ्यालुको नजिक आइरहेको छ र पनि हामी लगानी गर्न डराइरहेको हुन्छौं । यो बेलाको लगानीमा जोखिमभन्दा प्रतिफल बढी हुने देखिन्छ । शेयर बजारमा जोखिम नहुने भन्ने हुँदैन । लगानीकर्ताले लगानी गर्नुपूर्व कुन समूहको शेयरमा लगानी गर्ने, कुन समूह तल्लो विन्दुमा अथवा माथिल्लो विन्दुमा छ भन्ने जस्ता कुरामा ध्यान दिएर लगानी गर्नुपर्ने हुन्छ । समग्र नेप्से परिसूचक मात्र हेर्नेभन्दा पनि समूहगत तथ्यांक इन्डेक्स हेरेर लगानी गर्नुपर्ने हुन्छ ।  पूँजी बजारमा दुई किसिमका लगानीकर्ता हुन्छन्, पहिलो एउटै कम्पनीमा धेरै पूँजी लगाउने, दोस्रो थोरैथोरै पूँजी  विभिन्न कम्पनीहरूमा लगानी गर्ने । तपाईंको विचारमा कुन राम्रो ?  लगानीकर्ता फरकफरक रुचिका हुन्छन् । कतिपय लगानीकर्ताहरू एउटै समूहको एउटै कम्पनीको शेयर किन्ने हुन्छन् भने कतिपय लगानीकर्ता छन् थुप्रै समूहका उत्कृष्ट कम्पनीहरू छानेर लगानी गर्ने । कतिपय एउटै समूहका तर भिन्दाभिन्दै कम्पनीको शेयर खरीद गर्ने, कतिपयले भने सानो पूँजी भएका कम्पनीको मात्रै शेयर खरीद गर्ने र ठूलो पूँजी भएका कम्पनीको शेयर नछुने गर्छन् । दीर्घकालीन लगानीकर्तालाई एउटै समूहका वा एउटामात्र कम्पनीमा लगानी गर्न मैले सल्लाह दिन्न । किनभने पूँजी बजारमा कुन बेला कुन समूह चल्छ भन्ने कसैलाई पनि थाहा हुँदैन । केही समय अगाडिको बुलमा लघुवित्त कम्पनीहरू चलेका थिए, कुनै बेला कमर्सियल बैंकले बुल लिड गरेको थियो । अघिल्लो वर्षको बुलमा हाइड्रोपावर, विकास बैंक र फाइनान्स सेक्टरका कम्पनीहरू थिए । त्यसले गर्दा पनि हामीले लगानी गर्दा भिन्दाभिन्दै सेक्टरका राम्रा राम्रा कम्पनीहरूमा लगानी गरेर दीर्घकालसम्म छोड्दा जोखिम कम हुने देख्छु ।  शेयर बजारमा लगानी गरेर सफलता हासिल गर्न विचार पु¥याउनुपर्ने मुख्य कुरा केके हुन् ? शेयर बजार जोखिमको क्षेत्र हुनाले यसमा लगानी गर्नेबित्तिकै प्रतिफल प्राप्त हुन्छ भन्ने हुँदैन । यथार्थ कुराहरू बुझ्नुपर्छ । किनकि शेयर बजारमा धेरैजसो  लगानीकर्ताहरू अरूले कमाएको देखेर आउनुहुन्छ । तर, उहाँहरूले शेयर बजारमा लगानी गर्दा घाटा पनि हुन्छ भन्नेतिर ध्यान दिनुहुन्न ।  त्यसैले शेयर बजारमा सफलता हासिल गर्न लगानीकर्तामा निरन्तरता, अध्ययनशीलता हुनुपर्छ । बजारमा निरन्तर टिकिरहनुपर्‍यो । शेयर बजार चक्रिय प्रणालीमा चल्ने गर्दछ । सोही कारण दीर्घकालसम्म टिकिरहनका लागि अध्ययनशील हुनुपर्छ । समयसापेक्ष रूपमा बजारको ट्रेन्डलाई विश्लेषण गर्नु जरुरी छ ।  लाभ चाहने कारोबारीले बजार कसरी चलिरहेको छ भनेर अध्ययन गर्ने र बजारप्रति अपटुडेट हुुनु नै पर्छ । यदि दीर्घकालीन लगानी गर्ने हो भने सबल कम्पनीको शेयर खरीद गरेर एउटा निश्चित विन्दुमा आएपछि विक्री पनि गर्न जान्नुपर्छ । नेपालको शेयर बजारले के भनिरहेको छ भने एकदमै लामो समयसम्म लगानी गर्दा जहाँबाट बुल शुरू भयो पछि घटेर त्यही विन्दुमा आएको अवस्था छ । मेरो अनुभवमा एक विन्दुमा पुगिसकेपछि एक्जिट हुनुपर्दछ भनेर बजारले मलाई सिकाएको छ ।

रुस–युक्रेन तनाव : विश्व शेयर बजार पछिल्लो ३ हप्ताकै न्यून स्तरमा

फागुन १०, लन्डन । विश्व शेयर बजार सोमवार तीन हप्ताकै न्यून स्तरमा आएर बन्द भएको छ । रुसले युक्रेनमाथि हमला गर्ने हो कि भन्ने चिन्ता बढेपछि लगानीकर्ताहरु त्रसित हुँदा बजार प्रभावित भएको हो ।  युक्रेनबाट सीमा नाघेर आएका पाँच जना हतियारधारीहरुले रुसी सेनाहरु मारेको खबर सार्वजनिक भएको थियो । युक्रेनले भने सो आरोपको खन्डन गरेको छ । उत्तरी यूरोपको सीमा भएको सो घटनालाई मस्कोले छिमेकी देशमाथि हमला गर्ने बाहानाका रुपमा प्रयोग गर्ने हो कि भन्ने भय पछिल्लो समय विश्वभर बढेको छ । तर रुसले भने यस्तो योजनाको अस्वीकार गर्दै आएको छ । संकट बढ्ने हो कि भनेर बजारमा सतर्कता चुलिएको छ  ।  सोमवार एमएससीआई विश्व शेयर सूचकांक शून्य दशमलव ४ प्रतिशतले घटेर ७०० दशमलव ११ अंकमा आएको थियो । अमेरिकामा सार्वजनिक बिदा भएकोले बजारमा छिटपुट कारोबार हुँदा पनि बजारमा तीव्र  उतारचढाव देखिएको हो । मंगलवार पनि अमेरिकी शेयर बजार ओरालो लाग्ने देखिएको छ । एसएन्डपी ५०० र नास्डाक फयूचर्स दुबै क्रमशः २ प्रतिशत र २ दशमलव ७ प्रतिशतले घटेका छन् ।  यूरोपमा पनि शेयर बजार १ दशमलव ६५ प्रतिशतले घटेर चार महीनाभन्दा बढी समययताकै न्यून स्तरमा आएुर बन्द भएको छ । बेलायतमा पनि फ्ट्सी १०० शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । एशियामा पनि सोमबार अधिकांश शेयर बजार राताम्मे बनेका थिए । मंगलवार शुरुआती कारोबारमै दक्षिण कोरिया, सिंगापुर, ताइवान रातोमा छन् । अष्ट्रेलियामा पनि एएसएक्स २०० बिहानी कारोबारमा १ दशमलव  ३ प्रतिशतले घटेको थियो । तेलको भाउ बढेर ९७ डलरमाथि ब्रेन्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर ९७ डलर ३५ सेन्टसम्म  उक्लिएको छ ।  यो सन् २०१४ को सेप्टेम्बरयताकै उच्च हो । नेपाली समयअनुसार बिहान ७ः२५ बजेतिर लन्डनको आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर १३ सेन्ट कायम भएको थियो । सोही समयमा वेष्ट टटेक्सस इन्टरमिडियटको भाउ पनि ३ दशमलव शून्य ६ प्रतिशतले बढेर प्रतिब्यारेल ९३ डलर ८६ सेन्टमा पुगेको थियो ।  बाइडेन–पुटिन बीच भेटवार्ताको सम्भावना धुमिल बन्दै गएसँगै तेलको भाउ एक पटक फेरि बढ्न थालेको विश्लेषकहरुले बताएका छन् । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपक) र समूहबाहिरका रुसलगायत मुख्य तेल उत्पादकहरुको समूह ओपेक प्लसले कोटाअनुरुप तेलको उत्पादन बढाउन नसक्दा पनि तेलको भाउले टेवा पाइरहेको छ । दैनिक १० लाख ब्यारेल भन्दा धेरै इरानी तेल बजारमा आउने सम्भावनाबीच तेलको भाउ वृद्धि भने सीमित भएको छ ।  सन् २०१५ को परमाणु सम्झौता ब्यूँताउने विषयमा बसेको बैठकमा सोमवार उल्लेख्य प्रगति भएको इरानका विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । बजारमा आपूर्ति कसिलो भएकोले थप तेल आउने खबरले बजारमा सहता हुने विश्लेषणकहरु बताउँछन् । तर इरानी तेल यो वर्षको उत्तरार्द्धतिर मात्रै बजारमा आउने भएकोले निकट भविष्यमा बजार अस्थीरता भने कायम हुनेछ । रुसले युक्रेनमाथि हमला  गर्याे भने तेलको भाउ १०० डलरमाथि उक्लिने छ ।  सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक सोमवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔस १ हजार ९१३ डलर ५९ सेन्टसम्म पुगेको छ । यूएस गोल्ड फयूचर्स पनि १ हजार ९१३ डलर ६ सेन्टसम्म पुगेको छ । मंगलवार कोमेक्समा शुरुआती कारोबार देखि नै सुनको भाउ उकालो लागेको थियो । बिहानी कारोबारमा चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । एजेन्सीको सहयोगमा

माघपछि पूँजीगत खर्च बढ्छ, आर्थिक वृद्धिदर लक्ष्य अनुसार नै हुन्छ

मुलुकको अर्थतन्त्र, खर्च प्रणालीमा देखिएका समस्या लगायत विषयमा अर्थसचिव मधुकुमार मरासिनीसँग आर्थिक अभियानका विजय दमासेले गरेको कुराकानीको सार : मुलुकको अर्थतन्त्र संकट उन्मुख रहेको विश्लेषण गर्न थालिएको छ । वास्तविकता के हो ? बाहिर चर्चा भएजस्तो अर्थतन्त्र संकटमा छैन । कोभिडका कारण डेढ वर्षदेखि आर्थिक गतिविधि हुन पाएनन् । संक्रमणको दर घटेसँगै अर्थतन्त्र चलायमान हुन पुगेको छ । आर्थिक क्रियाकलापमा वृद्धि हुँदा बैंकबाट कर्जा माग्नेको संख्या ह्वात्तै बढ्नु, स्वदेशी उत्पादन नहुँदा आयात बढ्नुले अर्थतन्त्रमा चाप पारेको हो । तर संकटको अवस्था आएको भने होइन । केही समयअघि राष्ट्र बैंकले विभिन्न २० वस्तुको आयातमा कडाइ गरेको छ । सरकारले अर्थतन्त्र ठीक छ भनिरहँदा आखिर राष्ट्र बैंकले किन कडाइ गर्नुपर्‍यो ? राष्ट्र बैंकले आयातमा मार्जिन लगाएको हो । जुन वस्तुहरू हामीले उपयोग नगर्दा पनि खासै असर पर्दैन, त्यस्ता वस्तुको आयातमा केही कडाइ गरिएको हो । विलासी गाडीहरू ल्याउनै प्रतिबन्ध गरेको होइन । हाम्रो वैदेशिक मुद्राको सञ्चितिमा चाप परेको थियो । सञ्चिति बढाउन केही समयका लागि कडाइ गरिएको हो । त्यसले अन्य असर पर्ने देखिँदैन । आयात बढ्दै गएको, तर निर्यात उल्लेख्य नबढ्दा मुलुकको अर्थतन्त्रमा अझै पनि अप्ठ्यारोमा परिरहेको देखिन्छ । आयात नियन्त्रण गर्न सरकारले अल्पकालीन नीति कहिलेसम्म लिने ? आयात तथा निर्यातको सन्दर्भमा सरकारले स्पष्ट रूपमा दीर्घकालीन नीति लिन किन ढिलाइ गरेको ? हाम्रो सोच पनि दीर्घकालीन नीति नै ल्याउने हो । अहिले अर्थतन्त्रमा माग बढेको अवस्था छ । त्यो माग पूर्ति गर्न स्वदेशी उत्पादन हुनुपर्ने थियो, त्यो नभएकाले आयात गर्नुपर्‍यो । यस्ता ‘टालटुले’ नीतिभन्दा पनि स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने खालको नीति ल्याउनुपर्छ भन्ने हिसाबले अहिलेको प्रतिस्थापन विधेयक, बजेट र आर्थिक ऐनमा पनि यसलाई सम्बोधन गर्ने प्रयास भएको छ, जसमा स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने हिसाबले धेरैखाले कर सहुलियतदेखि बिजुलीसम्म सहुलियत दिनेसम्मको व्यवस्था छ । कर्जाहरूमा पनि सहुलियत दिएको अवस्था छ । विद्युत् प्राधिकरणको तथ्यांक नै हेर्ने हो भने पनि करिब डेढ सयदेखि दुई सय मेगावाट विद्युत्को अतिरिक्त माग उद्योगहरूले गरिसकेका छन् । यो राज्यले लिएको नीतिको कारण सम्भव भएको हो । यसले इन्धनको आयातका लागि बाहिरिने पैसा पैसा पनि जोगियो, बिजुली जुन खेर जाने अवस्था पनि हट्यो । यो नीति दूरगामी रूपमै प्रभावकारी देखिएको छ । हाम्रो मुख्य प्राथमिकता स्वदेशी उद्योगको प्रवर्द्धन नै हो । अहिले हाम्रो आवश्यकता विप्रेषणको रूपमा आएको वैदेशिक मुद्राले धान्नुपरेको छ । निर्यातले मात्रै धान्ने स्थिति छैन । वैदेशिक रोजगार गन्तव्य मुलुकको अर्थतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि मुलुकभित्रै रोजगारीको विकास गर्नुपर्ने छ । रोजगारी सृजनाका लागि मुलुकमा उद्योगधन्दाको विकास, विस्तार हुनुपर्छ । यसका हामीले धेरैभन्दा धेरै सहुलियत दिने नीति ल्याइरहेका छौं । मुलुकको बढ्दो व्यापार घाटा कसरी सन्तुलन हुन सक्छ ? व्यापार घाटा नियन्त्रणको रणनीति वाणिज्य मन्त्रालयले लिएको छ । उसले विभिन्न मन्त्रालयबाट पनि प्रगति मागिरहेको छ । कोभिडले लकडाउनमा जानुपर्दा पनि त्यसको नियमित फलोअप भए जस्तो देखिँदैन । जुन लक्ष्य लिइएको थियो, सोही अनुसार प्रगति हुन सकेको छैन । व्यापार घाटा निरुत्साहन, स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने बाहेक हामीले अन्य उपाय सोच्दै सोचेका छैनौं । यद्यपि तत्कालै आयात नै रोक्न सकिने अवस्था छैन । हामीले अपनाएको उदारवादी अर्थतन्त्र अन्तर्गत नै आयात भइरहेको हो । यसलाई हामीले छाड्नै सक्दैनौं । किनकि हामी विश्व व्यापार संगठनको सदस्य पनि हौं । अन्तरराष्ट्रिय सन्धि, सम्झौताले गर्दा आयात गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि छ । यसैकारण नियन्त्रण नै गर्न सक्ने अवस्था छैन । तर अहिले बनिरहेका नीतिहरूले आयात निरुत्साहित गर्ने नै छन् । यसमा अर्थ मन्त्रालयले निर्वाह गर्नुपर्ने भूमिकामा हामी सजग नै छौं । पूँजीगत खर्च नबढेकाले पनि वित्तीय प्रणालीमा तरलता अभाव भएर ब्याजदर बढेको छ । सरकारी खर्च बढाउन समस्या र चुनौती के छन् ? सरकारी खर्च बढाउन अप्ठ्यारो छैन । सरकारी खर्च गतवर्षको तुलनामा कुलतर्फ हेर्ने हो भने बढी नै छ । अहिले कतिपयले पूँजीगत खर्च मात्र हेरिरहेका छन् । नेपालको कुल गार्हस्थ्य उत्पादनमा निजीक्षेत्रको भूमिका ७० प्रतिशत, सरकारको भूमिका ३० प्रतिशत हो भन्ने पनि बुझ्नुपर्‍यो । अर्थतन्त्रमा ठूलो भूमिकामा रहेको निजीक्षेत्र एकदमै चलायमान छ । कर्जाको माग एकदमै बढ्नुले त्यसको पुष्टि गर्छ । सरकारी भूमिकाभित्र जुन १६ सय ३२ अर्बको हाम्रो बजेट छ, त्यसमा पूँजीगत खर्च ४ सय अर्ब अर्थात् कुल बजेटको २५ प्रतिशत मात्र हो । सरकारी भूमिका अन्तर्गत पर्ने ३० प्रतिशतभित्रको २५ प्रतिशत पूँजीगत खर्च नहुनुमा बजेट असोजमा पास हुनु प्रमुख कारण हो । चालू खर्चहरू नियमित भइरह्यो, तर विकास निर्माणको काम बजेट पास नभई नहुने भएकाले पूँजीगत खर्च कम हुन पुग्यो । तर अहिले धेरै बजेट खर्च गर्ने विकासे मन्त्रालयका अधिकारीलाई बोलाएर अर्थ मन्त्रालयबाट के सहजीकरण गर्नुपर्छ, त्यसका लागि हामी तयार छौं । तर समयमै खर्च हुनुपर्‍यो भनेर धेरै नै छलफल गरेका छौं । सोही अनुसार केही प्रगति पनि आइरहेको छ । अहिले नै हेर्ने हो भने पनि पुसमा पूँजीगत खर्च बढ्ने प्रवृत्ति देखिएको छ । सम्भवतः माघ लागेपछि पूँजीगत खर्च लक्ष्य अनुसार गर्न सक्छौं । तरलता अभाव हुनुमा एउटा कारण पहिला पुनर्कर्जाको सुविधा, त्यसपछि सहुलियत कर्जाको सुविधा, कम दरमा ब्याज पाउने गरी ऋण प्रवाहको व्यवस्था गरियो । अरू कारण भने थप नयाँ इन्टरप्राइजेज कम्पनी, उद्योगहरू आए । वित्तीय प्रणालीबाट धेरै ठाउँमा व्यवस्थापन गर्नुगर्दा स्रोतमा चाप परेको हो । त्यसलाई सम्बोधन गर्न अथवा लगानीयोग्य रकमको अभाव हुन नदिन स्थानीय तहमा जाने रकमको पहिला ५० प्रतिशत निक्षेप परिचालन गर्न पाउनेमा बढाएर ८० प्रतिशत बनाइसकेका छौं । यसबाट तत्काल ५० अर्बको स्रोत जुट्छ । राष्ट्र बैंकले पनि सम्भवतः यो हप्ताभित्रै थप ५२ अर्ब रुपैयाँ पुनर्कर्जाको पैसा पठाउँदै छ । सय अर्बको तरलता यहीँबाटै सृजना हुन्छ । यो पुस महीनासम्ममा चाप पर्छ । किनकि यो कर तिर्ने महीना पनि हो । यो तर माघ लागेपछि पूँजीगत खर्च पनि बढ्छ । त्यसले चापलाई सम्बोधन गर्ने देखिन्छ । अर्कोतिर, वस्तु आयातका लागि गएको पैसा भोलिको दिनमा बजारमै आउँछ । त्यहाँबाट बैंकमा निक्षेप पनि आउन थाल्छ । त्यसैले माघ लागेपछि सबै चाप नियन्त्रणमै आउँछ । पूँजीगत खर्च नहुनुमा सरकारका कतिपय नीतिहरू पनि कारक देखिन्छन् नि, होइन ? हो, कतिपय नीतिले पनि हामीलाई समस्या पारेको हो । पहिलो कुरा आर्थिक वर्ष नै साउन १ गते नै शुरू हुन्छ । नयाँ आर्थिक वर्ष नलागेसम्म पहिले बजेट ल्याइए पनि कार्यान्वयनमा नजाने नै भयो । दोस्रो, विकास निर्माणको काम मौसमी पनि हुँदो रहेछ । बर्खाको समयमा विकास निर्माण गर्नै सकिन्न । बाढी–पहिरोले कामै गर्न दिँदैन । तेस्रो, हाम्रा चाडबाडले गर्दा काममा असर गर्ने र सार्वजनिक खरिद ऐन अनुसार नयाँ टेण्डर लगाउन पहिला बजेट स्वीकृत हुनुपर्‍यो । त्यसपछि नयाँ टेण्डर लगाउँदा नयाँ टेण्डरको ३५ दिने सूचना, मूल्यांकन गर्दा मंसिर–पुस त्यत्तिकै जाने गरेको छ । अब कि अब क्यालेन्डर नै परिवर्तन गरेर बढी बहुवर्षेतिर जानुपर्‍यो । बर्खामा पनि गर्ने मिल्ने योजनालाई त्यतिबेला पनि गर्नुपर्‍यो, होइन भने अहिलेको प्रणालीले जति प्रयास गरे पनि, जेठ १५ मै बजेट ल्याए पनि खर्च नहुने नै देखियो । पहिलेको भन्दा कुनै सुधार नै देखिएन । त्यसैले यसमा सोच्नुपर्ने देखिन्छ । नत्र अहिलेकै तरिकाले यी विविध कारणले आर्थिक वर्षको पहिलो चार महीनामा उल्लेख्य खर्च हुने देखिएन । सरकारले कर उठाउने, तर समयमा खर्च नगर्ने हो भने जनताले कर किन तिर्ने भन्ने प्रश्न उठ्न थालेको छ नि ? कसरी त्यस्तो भएको छ र ? सरकारी खर्चकै कुरा गर्दा ७५ प्रतिशत खर्च भइरहेको छ । पूँजीगत खर्च २५ प्रतिशत मात्र हो । त्योभित्र पनि पूँजीगत खर्च हुँदै नभएको भन्ने होइन । केही प्रतिशत कम भएको हो । त्यसैले यो मानिसलाई गफ गर्ने मसला मात्रै हुन्छ । तर भित्र गएर हेर्‍यो भने त्यसको असर सोचेभन्दा कम छ । एलएमबीआईएस सफ्टवेयरका आधारमा बजेट निकासा गरिने बेलामै १ रुपैयाँ पनि मिलेन भने भुक्तानी नै हुँदैन भन्ने सुनिन्छ । यसले गर्दा समस्या भयो भन्ने सडक विभागजस्ता निकायको गुनासो छ । के भन्नुहुन्छ ? एलएमबीआईएसमा आफैले प्रविष्ट गर्ने हो । त्यो त सरकारी निकायले मिलाउनैपर्छ । सरकारी कोषबाट खर्च गर्ने कुरा एक रुपैयाँ पनि तलमाथि हुनुहुँदैन । प्रक्रिया अनुसार एलएमबीआईएसमा प्रविष्ट गरिएको छ भने भुक्तानी नै नपाउने भन्ने हुँदैन । सडक विभागलाई अहिले १४६ अर्ब बजेट छ । कति खर्च गर्‍यो उसले ? खर्च गर्नै सकेको अवस्था छैन, अर्थ मन्त्रालयले कसरी भुक्तानी दिने ? एलएमबीआईएस अनलाइन सिस्टम हो । सिस्टम अनुसार प्रक्रिया पूरा भएको छ र काम भएको छ भने भुक्तानीमा अर्थ मन्त्रालयको कुनै रोकतोक नै छैन । ‘गेमचेञ्जर’ आयोजनाहरूको प्रगति पनि निराशाजनक छ ? सधैं समस्यामा किन पर्छन् त्यस्ता आयोजना ? यसबारे अर्थ मन्त्रालय जानकार छ । गतवर्ष पनि त्यस्ता आयोजनामा ५२ प्रतिशत मात्रै खर्च भएको छ । वहुबर्षीय आयोजनामा  अर्थ मन्त्रालयको प्रतिबद्धता भनेको हामी त्यस्ता योजनालाई स्रोतको कमी हुन दिँदैनौं भन्ने हो । ठेक्का लगाउने काम अर्थको होइन, जिम्मेवार निकायहरू गम्भीर हुन जरुरी छ । पैसा पुगेन भन्ने हो भने गतवर्षकै हेर्दा ४८ प्रतिशत रकम त्यत्तिकै देखिन्छ । जसले होल्ड गरेको छ, त्यसले समस्या मिलाउनुपर्छ । त्यसरी होल्ड गर्नु त अख्तियारको दुरुपयोग होइन र ? त्यसतर्फ म जान्न । समस्या जसले सृजना गरेको छ, उसले समाधान गर्नुपर्छ भन्ने हो । कुनै नीतिगत कारणले समस्या निम्तिएको छ र अर्थ मन्त्रालयले सम्बोधन गरिदिनुपर्ने हो भने त्यस्ता बाधा फुकाउन तयार नै छौं । कतिपय काम सम्पन्न गरेर बिल पेश गर्दा पनि भुक्तानी पाइएन भन्ने निर्माण व्यवसायीको भनाइ छ । यसमा खास समस्या के हो ? बिल पेश ठेकेदारले सम्बन्धित कार्यालयमा गर्ने हो । विधिवत् रूपमा आएका बिलहरू फछ्र्योट नहुने भन्ने कुरै आउँदैन । सम्बन्धित कार्यालयले बजेटमा राखेका योजना मात्रै सञ्चालन गर्ने हो । बजेट नै नभई काम लगाएको भए जसले काम लगायो, सोही निकाय जिम्मेवार हुनुपर्छ । पैसा भएर काम लगाएको भए त उसले भुक्तानी दिनैपर्‍यो । यसमा अर्थ मन्त्रालयको कुनै भूमिका नै छैन । अख्तियारको डरले पनि सरकारी कार्यालयले ठेकेदारलाई रकम भुक्तानी दिन आनाकानी गरेको सुनिन्छ नि ? नियमपूर्वक काम गर्ने/गराउने गरिएको छ भने अख्तियारसँग डराउनुपर्ने कारण नै छैन । काम समयमै सम्पन्न भएको छ भने कुनै निकायले ठेकेदारको पैसा होल्ड गर्न पाउँदैन । विधिसम्मत त्यो निकायलाई भुक्तानी दिने अधिकार हुन्छ । भुक्तानी नपाएका गुनासा हामीसमक्ष पनि आउने गरेका छन् । किन नदिएको भनेर विभागीय निकायका अधिकारहरूलाई सोधिरहेका हुन्छौं । ‘नयाँ हाकिम आउनु भएको छ । सरुवाले गर्दा ढिलाइ भएको हो’ जस्ता उत्तर पाउने गरेका छौं । बजेटमा परेका योजनाहरूमा खर्च नगर्ने तर त्यसबाहिरका काममा रकम माग्ने सरकारी कार्यालयहरूको परम्परा नै देखिन्छ । यसलाई नियन्त्रण गर्न के गरिँदै छ ? यसलाई निरुत्साहित गर्न अर्थ मन्त्रालय लागिरहेको छ । कानूनी हिसाबले पनि बजेट पास भइसकेपछि नयाँ कार्यक्रम माग गर्न पाइँदैन । हामीले पनि त्यही भन्ने गरेका छौं । राजनीतिक नेतृत्व परिवर्तन हुँदा प्राथमिकता हेरफेर हुने र नयाँ नयाँ योजनामा बजेट माग्ने प्रवृत्ति छ । हामीले बजेटमा परेकालाई बजेट दिने गरेका छौं । तर त्यस बाहिरकालाई दिँदैनौं । रकमान्तरको अवस्था हेर्दा ठूलो रकममा भएको छैन । सामान्य नियमित मात्रामा गरेका छौं । सरकार परिवर्तनसँगै आएको बजेटमा कतिपय नयाँ कार्यक्रमहरू आए । यसले पनि अर्थ मन्त्रालयलाई स्रोत जुटाउन चाप परेको छ कि ? स्रोत जुटाउने निकाय अर्थ मन्त्रालय नै भएकाले त्यसको चाप त परिहाल्छ । विद्यमान कानूनहरूमा रहेर कानूनले दिएको अधिकार प्रयोग गरेर स्रोतको जोहो गर्ने गरिएको छ । कतिपय वैदेशिक सहायताका परियोजनामा काम भएजतिको रकम दाताबाट शोधभर्ना लिन ढिलाइले पनि वित्तीय प्रणालीमा रकमको कमी भएको भनिन्छ । काम भएर पनि शोधभर्ना लिन बाँकी रकम कति छ ? यसमा अरू समस्या के छन् ? यो केही सत्य हो । तर शोधभर्ना लिने पनि प्रक्रिया हुन्छ । खर्च गरेको ३० दिनभित्र शोधभर्ना माग्ने भन्ने हुन्छ । दातृ निकायहरूको मुख्यालयमा पठाउनुपर्ने हुन्छ । उनीहरूको सहमति लिनुपर्छ । प्रक्रिया अनुसार जाँदा केही समय लाग्ने गरेको छ । त्यसले गर्दा केही न केही बाँकी रहेकै हुन्छ । शोधभर्ना नआएकै कारण हाम्रो वित्तीय प्रणालीमा चाप परेको भन्ने होइन । १६/१७ खर्बको बजेट आउने देशमा ३०/३२ अर्ब शोधभर्ना प्रक्रिया रहनु यो ठूलो होइन । शोधभर्ना उठाउन दातृ निकायलाई निरन्तर फलोअप गरिरहेकै हुन्छौं । समयमै शोधभर्ना नगर्दा पनि रकम होल्ड भएको र कतिपय शोधभर्ना त दातृ निकायबाटै ल्याउनै नसकिएको विगतमा पनि देखिएको थियो नि ? पहिला त्यस्तो थियो । तर अहिले शोधभर्ना गर्न ढिलाइ हुने गरेको छैन । अहिले प्रक्रियामा जाँदाको ढिलाइ मात्रै हो । नत्र शोधभर्नामा समस्या छैन । मेलम्ची आयोजनाको पनि काम भएजतिको शोधभर्ना गरिएको थियो । त्यो सबै आइसकेको छ । अरू योजनाको पनि प्रक्रिया अनुसार आउनेछ । यस वर्ष लिइएको आर्थिक वृद्धिदरको लक्ष्य पूरा होला ? लक्ष्य पूरा हुनेगरी नै अर्थतन्त्रको वृद्धि भइरहेको अवस्था छ । ७० प्रतिशत निजीक्षेत्र र ३० प्रतिशत सरकारी क्षेत्र चलायमान हुनु नै यसको आधार हो । गतवर्ष र अहिलेको समग्र खर्च हेर्दा अहिले बढी नै छ । चालू खर्च राम्रै छ । पूँजीगत खर्चले छिट्टै गति लिने देखिन्छ । ७ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेमा विश्वस्त छौं । एमसीसी सहयोग सम्झौता र यस अन्तर्गतका परियोजनाबारे अर्थ मन्त्रालयले अहिले के गर्दै छ ? यो संसद्मा गइसकेकाले हामी प्रतीक्षामा बसिरहेका छौं । त्यहाँबाट जे हुन्छ, त्यही प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालय तयार छ । लामो समयदेखि स्टार्टअप सम्बन्धी कार्यक्रम बजेटमा राखियो । तर कार्यान्वयन किन हुन सकिरहेको छैन ? कार्यक्रमका लागि बजेट अर्थले छुट्ट्याइदिने हो । बजेट दिइएको पनि छ । कार्यान्वयन किन भइरहेको छैन मैले पनि बुझिरहेको छैन । अहिले पनि कार्यविधि बनिरहेको छ भन्ने कुरा सुनिरहेको छु । छिटो कार्यविधि बनाएर लागू गर्नुपर्छ भन्ने मेरो धारणा हो । स्टार्टअप सम्बन्धी कार्यक्रम लागू गर्न अर्थ मन्त्रालयले सहयोग नै गर्छ । सम्बन्धित निकायले कार्यक्रम लागू गर्ने र रकम नपुगे मागेको खण्डमा स्रोत जोहो अर्थबाट अवश्य हुनेछ । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिमा तपाईं पनि हुनुहुन्छ । सामान्यतया विश्वका सबै देशमा केन्द्रीय बैंक स्वायत्त हुन्छ । हाम्रोमा राष्ट्र बैंकको स्वायत्तता भने ऐनमै धेरै कम भइसकेको छ । अहिले त ऐनमा तोकिएको भन्दा पनि कम हुँदै गएको प्रतीत हुन्छ । यस्तो अवस्थामा राष्ट्र बैंक र अर्थ मन्त्रालयबीच कसरी समन्वय गरिरहनुभएको छ ? राष्ट्र बैंकको स्वायत्तता ऐनमा खुम्चिएको छैन । राष्ट्र बैंक आफै स्वायत्त निकाय भएकाले अर्थ मन्त्रालयले कुनै हस्तक्षेप पनि गर्दैन । राष्ट्र बैंक आफै ठूलो संस्था भएकाले हाम्रो तर्फबाट कुनै हस्तक्षेप छैन । अर्थ मन्त्रालयले गरिदिनुपर्ने समन्वय प्रभावकारी रूपमै भइरहेको अवस्था छ । राजनीति र नियामक निकायको कामकारबाहीले पछिल्लो समय पूँजीबजारमा उतारचढाव आइरहेको देखिन्छ । यसबारे अर्थ मन्त्रालयको धारणा के हो ? पूँजीबजार क्षेत्र स्वायत्त हो । माग र आपूर्तिका आधारमा पूँजीबजार नियमन हुनुपर्छ । यसमा अर्थ मन्त्रालय प्रतिबद्ध छ । नेप्से बढ्नु–घट्नुमा हाम्रो कुनै भूमिका छैन । वित्तीय सुशासन राज्यले दिनुपर्छ । ऐन, नियम बनाइदिने, प्रमुखहरू नियुक्त गर्नुपर्ने राज्यको कर्तव्य नै भएकाले नियसंगत सबै काम गरिनुपर्छ ।

चितवनमा तोरीको उत्पादन बढ्दो

चितवन । चितवनमा पछिल्ला वर्षहरूमा तोरीको क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा १२ हजार २५५ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार १८० मेट्रिक टन उत्पादन भएको थियो । गत आव २०७७/७८ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार २१८ मेट्रिक टन उत्पादन भएको थियो । चालू आर्थिक वर्षमा १२ हजार २७० हेक्टर क्षेत्रफलमा तोरी लगाइएकाले यस वर्ष पनि उत्पादन बढ्ने अनुमान गरिएको छ । ‘अहिले मौसम अनुकूल छ, तोरी राम्रो फुलेको छ, तुसारो पनि परेको छैन,’ कृषि ज्ञान केन्द्र चितवनका प्रमुख युवराज पाण्डेले भने, ‘उत्पादन बढ्ने देखिएको छ ।’ पछिल्ला वर्षहरूमा तोरीखेतीमा कृषकको आकर्षण बढ्दै गएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, चितवनका सूचना अधिकारी माधव पौडेलले तोरीबालीमा आकर्षण बढेसँगै पकेट र ब्लकका कार्यक्रम सञ्चालन गरिएकाले उत्पादनमा वृद्धि भएको बताए । ‘तोरीको माग र मूल्य पनि बढ्यो,’ उनले भने, ‘यसकारण अन्य खेती छोडेर कृषकले तोरी लगाउन थालेका छन् ।’ यो वर्ष जिल्लाको माडीमा तोरीको ब्लक कार्यक्रम सञ्चालन गरिएको, फूल राम्रो फुलेको र परागसेचन राम्रो भएकाले उत्पादन बढ्ने पौडेलको भनाइ छ । विगतका केही आर्थिक वर्षमा भने क्षेत्रफल घटबढ भएसँगै तोरीको उत्पादन पनि प्रभावित भएको थियो । आव २०७४/७५ मा १२ हजार २५१ हेक्टर क्षेत्रफलमा तोरी लगाइएकोमा १२ हजार २०० मेट्रिक टन र आव २०७५/७६ मा १२ हजार २६० हेक्टर क्षेत्रफलमा १२ हजार १२ हजार ३०० मेट्रिक टन तोरी उत्पादन भएको ज्ञान केन्द्रको तथ्यांक छ । जिल्लामा हरेक वर्ष लगाइँदै आएको तोरीबालीको उत्पादकत्वमा उतारचढाव आएको छ । सिँचाइ, मलखाद र मौसमी अनुकूलता/प्रतिकूलताका उत्पादकत्व घटबढ भएको ज्ञान केन्द्रले बताएको छ । केन्द्रका अनुसार आव २०७४/७५ मा प्रतिहेक्टर उत्पादकत्व ९९५ दशमलव ८३, आव २०७५/७६ मा १ हजार ३ दशमलव २६, आव २०७६/७७ मा ९९३ दशमलव ८८, आव २०७७/७८ मा ९९६ दशमलव ५७ र चालू आर्थिक वर्षमा १ हजार केजी हुने अनुमान गरिएको छ । यो वर्ष तोरीखेती भएको क्षेत्रफल गतवर्ष भन्दा १० हेक्टर क्षेत्रफल बढेकाले १० मेट्रिक टन बढी उत्पादन हुने अनुमान गरिएको छ । चितवनमा तेलहन बालीमा तोरी, सर्स्युं, तिलबाली लगाइँदै आएको छ । यहाँ स्थानीय उन्नति, प्रगति लुम्ले १ र प्रीति मोरङ जातको तोरी लगाइन्छ भने सर्स्युंमा कृष्णा पुसा र पुसा बोल्ड जातको लगाइन्छ । जिल्लामा खेतीयोग्य जमिनको करिब २८ प्रतिशत क्षेत्रफलमा तेलहन बाली लगाइँदै आएको छ ।

कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सेयर बजारमा तीव्र उतारचढाव

सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ ।नेपाली सेयर बजार कम्पनीको प्रगति र उनीहरुको वित्तीय सूचकका आधारमा भन्दा पनि नीतिगत तथा राजनीतिक घटनाका कारण छिटो उतारचढाव देखिने गरेको भए पनि यसपटक केही लगानीकर्ताले आफ्नो स्वार्थमा बजारमा चलखेल गर्दै बजार घटाउने तथा बढाउने गरेको देखिएको छ ।नेपाल राष्ट्र बैंकले एक व्यक्ति वा संस्

नेपालमा धान चामलको आयात अवस्था

नेपालमा धानलाई प्रमुख खाद्यान्नका रूपमा लिइन्छ । परम्परागत रूपमा हाम्रा बितेका पुस्ताका मानिसहरूले खाने गरेको खानाको रूपमा विविधता हुने गर्दथ्यो । जस्तो कि मकै, कोदो, गहुँ, फापर आदि भूगोल र मौसमअनुसारको खाना हुन्थ्यो । तर, हिजो आज त चामल खान स्वास्थ्यले दिँदैन भनेपछि मात्र त्यस्ता अन्नहरूको खोजी हुने गर्छ । नेपालमा भोकमरीको भन्दा पनि भातमरीको समस्या छ भन्ने उखान नै प्रचलनमा आउन थालिसकेको छ । विगतमा चामल निर्यात गर्ने देश नेपालमा वर्षेनि ठूलो धनराशी खर्च भएर धान तथा यसका उत्पादन चामललगायत खाद्यवस्तु आयातमा खर्च हुने गरेको छ । विगत ५ वर्षमा नेपालमा कति मूल्य र परिमाणमा धान तथा चामलको आयात भएछ र देशगत रूपमा कहाँ कहाँबाट चामल आउँदो रहेछ, यहाँ विश्लेषण गर्न खोजिएको छ । तथ्यांक आफै बोल्ने हुँदा धेरै बोल्नु वा लेख्नुभन्दा पनि यथार्थ के रहेछ हेरौं । कृषिमा आत्मनिर्भरताको नारा र यथार्थता बीचमा केकस्तो तालमेल रहेछ । धान तथा यसका उत्पादनअन्तर्गत यस लेखमा धान (धानको बीउसमेत), राम्रोसँग नफलेको चामल (जसलाई बोलीचालीमा ब्राउन राइस भन्ने गरिन्छ), पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलका सबै प्रकार यसमा समावेश गरिएको छ । चामल खाद्यान्न बाली धानको सबैभन्दा बढी आयात हुने रूप चामल हो । पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलको रूप जुन सबैभन्दा बढी तथा आमरूपमा उपभोग गरिनेमा पर्छ त्यसैले यो रूप नै सबैभन्दा बढी आयात हुनेमा पर्छ । केही मात्रामा ब्राउन राइस र कनिका पनि आयात हुने गर्छ । आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ९४ हजार मेट्रिक टन चामल आयात भएको थियो जसको मूल्य करीब रू. १८ अर्ब ७७ करोड बराबरको थियो । आर्थिक वर्ष २०७४/७५ मा ४ लाख ९८ हजार मेट्रिक टन चामल आयात भएको थियो र आयात मूल्य करीब रू. २२ अर्ब ८२ करोड रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा परिमाणमा २६ प्रतिशत र मूल्यमा करीब २२ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा बृद्धिदर घटेको देखिन्छ । उक्त वर्ष परिमाणमा करीब २ प्रतिशतले र मूल्यमा करीब ८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा वृद्धिदर ऋणात्मक नै देखियो । अघिल्लो वर्षको तुलनामा परिमाणमा १६ प्रतिशतले घटेको थियो भने मूल्यमा करीब १० प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा पुनः वृद्धिदर आकाशिएर परिमाणमा ३३ प्रतिशतले र मूल्यमा करीब २४ प्रतिशतले वृद्धि भएको थियो । देशगत रूपमा आयात हुने देशमा त्यति विविधता रहेको देखिँदैन । मूलतः भारतबाट नै आएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा आयात गरिने पहिलो देशको रूपमा भारतबाट ५ लाख ४३ हजार मेट्रिक टन आयात भएको थियो भने दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ३ हजार मेट्रिक टन चामल आयात भएको थियो । अन्य देशबाट नगण्य आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा जापानबाट ५ हजार मेट्रिक टनसम्म चामल आएको देखिन्छ । धान धान आयातमा विगत ५ वर्षमा केकति परिमाण र मूल्यमा आयात भएको छ र आयातमा आयातमा आएको उतारचढाव यस प्रकार रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा रू. ४ अर्ब २८ करोड प्रचलित मूल्य बराबरको १ लाख ६३ हजार मेट्रिक टन आयात भएकोमा क्रमशः बृद्धि हुँदै आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा रू. २० अर्बको धान आयात भएको छ । परिमाण करीब ७ लाख अर्थात् चार गुणाभन्दा बढीले वृद्धि भएको छ । चामलमा केही नरम गतिको वृद्धिदर देखिएकोमा धान आयातमा तीव्र गतिमा वृद्धि भएको रहेछ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र २७ अर्बभन्दा बढीको चामल र २० अर्बभन्दा बढीको धान गरी करीब रू. ४८ अर्बको हाराहारी मूल्यको आयात भएको देखियो । धानको उपउत्पादन वा बाइप्रोडक्टको रूपमा रहेको कनिका समेत बाहिरबाट आउनु यस हिसाबले स्वाभाविकै देखियो । दुःखदायी भए पनि स्वीकार्नुपर्ने देखिन्छ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र २ अर्ब ६१ करोडको त कनिका मात्र आयात भएको रहेछ । त्यस अघिको आवमा ९३ करोडको र क्रमशः त्यस अघिका वर्षहरूमा वर्षैपिच्छै करोडौं नै बाहिर गएको छ, कनिका खरीदका लागि । अब भाषणमा र कागजमा प्रगति देखाउने अनि कोरा सिद्धान्तका उडन्ते गफहरूमा रमाउने होइन, व्यावहारिकतामा ध्यान दिनुपर्ने बेला भएको छ । लेखक गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगका तथ्यांक अधिकृत हुन् ।