नेपालमा धानलाई प्रमुख खाद्यान्नका रूपमा लिइन्छ । परम्परागत रूपमा हाम्रा बितेका पुस्ताका मानिसहरूले खाने गरेको खानाको रूपमा विविधता हुने गर्दथ्यो । जस्तो कि मकै, कोदो, गहुँ, फापर आदि भूगोल र मौसमअनुसारको खाना हुन्थ्यो । तर, हिजो आज त चामल खान स्वास्थ्यले दिँदैन भनेपछि मात्र त्यस्ता अन्नहरूको खोजी हुने गर्छ । नेपालमा भोकमरीको भन्दा पनि भातमरीको समस्या छ भन्ने उखान नै प्रचलनमा आउन थालिसकेको छ ।
विगतमा चामल निर्यात गर्ने देश नेपालमा वर्षेनि ठूलो धनराशी खर्च भएर धान तथा यसका उत्पादन चामललगायत खाद्यवस्तु आयातमा खर्च हुने गरेको छ । विगत ५ वर्षमा नेपालमा कति मूल्य र परिमाणमा धान तथा चामलको आयात भएछ र देशगत रूपमा कहाँ कहाँबाट चामल आउँदो रहेछ, यहाँ विश्लेषण गर्न खोजिएको छ । तथ्यांक आफै बोल्ने हुँदा धेरै बोल्नु वा लेख्नुभन्दा पनि यथार्थ के रहेछ हेरौं । कृषिमा आत्मनिर्भरताको नारा र यथार्थता बीचमा केकस्तो तालमेल रहेछ ।
धान तथा यसका उत्पादनअन्तर्गत यस लेखमा धान (धानको बीउसमेत), राम्रोसँग नफलेको चामल (जसलाई बोलीचालीमा ब्राउन राइस भन्ने गरिन्छ), पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलका सबै प्रकार यसमा समावेश गरिएको छ ।
चामल
खाद्यान्न बाली धानको सबैभन्दा बढी आयात हुने रूप चामल हो । पालिस वा चम्किलो गरेको वा नगरेको वा कुटेर तयार गरिएको चामलको रूप जुन सबैभन्दा बढी तथा आमरूपमा उपभोग गरिनेमा पर्छ त्यसैले यो रूप नै सबैभन्दा बढी आयात हुनेमा पर्छ । केही मात्रामा ब्राउन राइस र कनिका पनि आयात हुने गर्छ । आर्थिक वर्ष २०७३/७४ मा ३ लाख ९४ हजार मेट्रिक टन चामल आयात भएको थियो जसको मूल्य करीब रू. १८ अर्ब ७७ करोड बराबरको थियो । आर्थिक वर्ष २०७४/७५ मा ४ लाख ९८ हजार मेट्रिक टन चामल आयात भएको थियो र आयात मूल्य करीब रू. २२ अर्ब ८२ करोड रहेको थियो । जुन अघिल्लो वर्षको तुलनामा परिमाणमा २६ प्रतिशत र मूल्यमा करीब २२ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा बृद्धिदर घटेको देखिन्छ । उक्त वर्ष परिमाणमा करीब २ प्रतिशतले र मूल्यमा करीब ८ प्रतिशतले वृद्धि भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा वृद्धिदर ऋणात्मक नै देखियो । अघिल्लो वर्षको तुलनामा परिमाणमा १६ प्रतिशतले घटेको थियो भने मूल्यमा करीब १० प्रतिशतले घटेको थियो । आर्थिक वर्ष २०७७/७८ मा पुनः वृद्धिदर आकाशिएर परिमाणमा ३३ प्रतिशतले र मूल्यमा करीब २४ प्रतिशतले वृद्धि भएको थियो ।
देशगत रूपमा आयात हुने देशमा त्यति विविधता रहेको देखिँदैन । मूलतः भारतबाट नै आएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा आयात गरिने पहिलो देशको रूपमा भारतबाट ५ लाख ४३ हजार मेट्रिक टन आयात भएको थियो भने दोस्रोमा संयुक्त राज्य अमेरिकाबाट ३ हजार मेट्रिक टन चामल आयात भएको थियो । अन्य देशबाट नगण्य आयात भएको देखिन्छ । आर्थिक वर्ष २०७४/७५ मा जापानबाट ५ हजार मेट्रिक टनसम्म चामल आएको देखिन्छ ।
धान
धान आयातमा विगत ५ वर्षमा केकति परिमाण र मूल्यमा आयात भएको छ र आयातमा आयातमा आएको उतारचढाव यस प्रकार रहेको छ । आर्थिक वर्ष २०७३/७४ मा रू. ४ अर्ब २८ करोड प्रचलित मूल्य बराबरको १ लाख ६३ हजार मेट्रिक टन आयात भएकोमा क्रमशः बृद्धि हुँदै आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा रू. २० अर्बको धान आयात भएको छ । परिमाण करीब ७ लाख अर्थात् चार गुणाभन्दा बढीले वृद्धि भएको छ । चामलमा केही नरम गतिको वृद्धिदर देखिएकोमा धान आयातमा तीव्र गतिमा वृद्धि भएको रहेछ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र २७ अर्बभन्दा बढीको चामल र २० अर्बभन्दा बढीको धान गरी करीब रू. ४८ अर्बको हाराहारी मूल्यको आयात भएको देखियो ।
धानको उपउत्पादन वा बाइप्रोडक्टको रूपमा रहेको कनिका समेत बाहिरबाट आउनु यस हिसाबले स्वाभाविकै देखियो । दुःखदायी भए पनि स्वीकार्नुपर्ने देखिन्छ । गत आर्थिक वर्ष २०७७/७८ मा मात्र २ अर्ब ६१ करोडको त कनिका मात्र आयात भएको रहेछ । त्यस अघिको आवमा ९३ करोडको र क्रमशः त्यस अघिका वर्षहरूमा वर्षैपिच्छै करोडौं नै बाहिर गएको छ, कनिका खरीदका लागि ।
अब भाषणमा र कागजमा प्रगति देखाउने अनि कोरा सिद्धान्तका उडन्ते गफहरूमा रमाउने होइन, व्यावहारिकतामा ध्यान दिनुपर्ने बेला भएको छ ।
लेखक गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगका तथ्यांक अधिकृत हुन् ।