फागुन १०, लन्डन । विश्व शेयर बजार सोमवार तीन हप्ताकै न्यून स्तरमा आएर बन्द भएको छ ।
रुसले युक्रेनमाथि हमला गर्ने हो कि भन्ने चिन्ता बढेपछि लगानीकर्ताहरु त्रसित हुँदा बजार प्रभावित भएको हो । युक्रेनबाट सीमा नाघेर आएका पाँच जना हतियारधारीहरुले रुसी सेनाहरु मारेको खबर सार्वजनिक भएको थियो । युक्रेनले भने सो आरोपको खन्डन गरेको छ ।
उत्तरी यूरोपको सीमा भएको सो घटनालाई मस्कोले छिमेकी देशमाथि हमला गर्ने बाहानाका रुपमा प्रयोग गर्ने हो कि भन्ने भय पछिल्लो समय विश्वभर बढेको छ । तर रुसले भने यस्तो योजनाको अस्वीकार गर्दै आएको छ । संकट बढ्ने हो कि भनेर बजारमा सतर्कता चुलिएको छ ।
सोमवार एमएससीआई विश्व शेयर सूचकांक शून्य दशमलव ४ प्रतिशतले घटेर ७०० दशमलव ११ अंकमा आएको थियो । अमेरिकामा सार्वजनिक बिदा भएकोले बजारमा छिटपुट कारोबार हुँदा पनि बजारमा तीव्र उतारचढाव देखिएको हो । मंगलवार पनि अमेरिकी शेयर बजार ओरालो लाग्ने देखिएको छ । एसएन्डपी ५०० र नास्डाक फयूचर्स दुबै क्रमशः २ प्रतिशत र २ दशमलव ७ प्रतिशतले घटेका छन् ।
यूरोपमा पनि शेयर बजार १ दशमलव ६५ प्रतिशतले घटेर चार महीनाभन्दा बढी समययताकै न्यून स्तरमा आएुर बन्द भएको छ । बेलायतमा पनि फ्ट्सी १०० शून्य दशमलव ५ प्रतिशतले घटेको थियो । एशियामा पनि सोमबार अधिकांश शेयर बजार राताम्मे बनेका थिए । मंगलवार शुरुआती कारोबारमै दक्षिण कोरिया, सिंगापुर, ताइवान रातोमा छन् । अष्ट्रेलियामा पनि एएसएक्स २०० बिहानी कारोबारमा १ दशमलव ३ प्रतिशतले घटेको थियो ।
तेलको भाउ बढेर ९७ डलरमाथि
ब्रेन्ट क्रुडको भाउ ४ प्रतिशतले बढेर ९७ डलर ३५ सेन्टसम्म उक्लिएको छ । यो सन् २०१४ को सेप्टेम्बरयताकै उच्च हो । नेपाली समयअनुसार बिहान ७ः२५ बजेतिर लन्डनको आईसीईको कोमेक्स डिभिजनमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ९७ डलर १३ सेन्ट कायम भएको थियो । सोही समयमा वेष्ट टटेक्सस इन्टरमिडियटको भाउ पनि ३ दशमलव शून्य ६ प्रतिशतले बढेर प्रतिब्यारेल ९३ डलर ८६ सेन्टमा पुगेको थियो ।
बाइडेन–पुटिन बीच भेटवार्ताको सम्भावना धुमिल बन्दै गएसँगै तेलको भाउ एक पटक फेरि बढ्न थालेको विश्लेषकहरुले बताएका छन् । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपक) र समूहबाहिरका रुसलगायत मुख्य तेल उत्पादकहरुको समूह ओपेक प्लसले कोटाअनुरुप तेलको उत्पादन बढाउन नसक्दा पनि तेलको भाउले टेवा पाइरहेको छ । दैनिक १० लाख ब्यारेल भन्दा धेरै इरानी तेल बजारमा आउने सम्भावनाबीच तेलको भाउ वृद्धि भने सीमित भएको छ ।
सन् २०१५ को परमाणु सम्झौता ब्यूँताउने विषयमा बसेको बैठकमा सोमवार उल्लेख्य प्रगति भएको इरानका विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । बजारमा आपूर्ति कसिलो भएकोले थप तेल आउने खबरले बजारमा सहता हुने विश्लेषणकहरु बताउँछन् । तर इरानी तेल यो वर्षको उत्तरार्द्धतिर मात्रै बजारमा आउने भएकोले निकट भविष्यमा बजार अस्थीरता भने कायम हुनेछ । रुसले युक्रेनमाथि हमला गर्याे भने तेलको भाउ १०० डलरमाथि उक्लिने छ ।
सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक
सोमवार अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ बढेर ९ महीनायताकै उच्च स्तर नजिक पुगेको छ । रुसले युक्रेनमा हमला गर्ने आशंकमा सेफ हेभन एसेटको माग बढेपछि सुनको भाउले टेवा पाएको हो । मंगलवार न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको भाउ प्रतिऔस १ हजार ९१३ डलर ५९ सेन्टसम्म पुगेको छ ।
यूएस गोल्ड फयूचर्स पनि १ हजार ९१३ डलर ६ सेन्टसम्म पुगेको छ । मंगलवार कोमेक्समा शुरुआती कारोबार देखि नै सुनको भाउ उकालो लागेको थियो । बिहानी कारोबारमा चाँदी, प्लाटिनम, पालाडियम लगायत अन्य बहुमूल्य धातुको भाउ पनि बढेका छन् । एजेन्सीको सहयोगमा