वीरगञ्ज नाकाबाट ३८ अर्बको प्रशोधित तेल निकासी

वीरगञ्ज, साउन १८ । वीरगञ्ज नाकाबाट खाने तेलको निर्यात उल्लेख्य परिमाणले बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष (आव) २०७७र७८ मा यो नाकाबाट भटमास र सूर्यमुखीको ३८ अर्ब रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएको छ । कुल २ लाख ८ हजार २०४ मेट्रिकटन (टन) प्रशोधित तेल निकासी भएको भन्सारले जनाएको छ । […]

सम्बन्धित सामग्री

निकासी निकै घटे पनि खाने तेल निर्यात सूचीको शीर्षस्थानमै

वीरगञ्ज  । नेपालको निकासी कति कमजोर छ भन्ने तथ्य प्रशोधित तेल निकासीको तथ्यांकले उजागर गरेको छ । देशको मुख्य व्यापारिक नाका वीरगञ्जबाट यो वर्ष खाने तेल निर्यात करीब ठप्पजस्तै छ तर पनि यही वस्तु नै निर्यात सूचीको शीर्षस्थानमा कायम छ । नेपालबाट हुने निकासीमा त्यस्ता वस्तु नै छैनन्, जसले परिमाणका हिसाबले दयनीय अवस्थामा आइपुगेको खाने तेल निकासीलाई उछिन्न सकोस् । वीरगञ्ज भन्सार कार्यालयले आफ्नो वेबसाइटमा राखेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) २०७९/८० को १० महीनामा निर्यात भएका वस्तुको सूचीमा प्रशोधित तेल पहिलो, तेस्रो र चौथो नम्बरमा छ ।  निकासी सूचीको पहिलो स्थानमा प्रशोधित भटमास तेल, तेस्रोमा पाम तेल र चौथोमा सूर्यमुखी तेल छ । दोस्रो स्थानमा फलफूलको जुस छ । वीरगञ्ज नाकानजिकै खुलेको भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी डाबर नेपालले यहाँबाट मुख्य रूपमा फलफूलको जुस निकासी गर्छ ।  नेपालबाट निर्यात गर्ने वैकल्पिक वस्तु तयार गर्न नसक्दा निर्यातको मूल्य र परिमाण स्वाट्टै घटे पनि अग्रस्थानमा तेल नै रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम बताउँछन् । ‘हामीले वास्तविक निकासीलाई ध्यान दिएनौं । निकासीका नाममा भन्सार महशुल अन्तरको फाइदा लिने काममात्र भयो,’ गौतमले भने, ‘बाहिरबाट कच्चा पदार्थ ल्याएर भारतमा निकासी गर्ने उद्देश्यका उद्योग भारतीय नीतिको भरमा चल्नुपर्ने अवस्था भयो ।’  अघिल्लो वर्षसम्म राम्रै निकासी गरेका तेल उत्पादक अहिले खर्च धान्न नसक्ने अवस्थामा पुगेका छन् । भारतले तेल आयातमा ४० प्रतिशतसम्म सीमा शुल्क लगाउँदा नेपालमा तेलको कच्चा पदार्थ आयातमा १० प्रतिशतमात्र महशुल थियो । त्यो पनि निकासी भएपछि फिर्ता हुन्थ्यो । भारतमा साफ्टा सुविधाअन्तर्गत शून्यदेखि ५ प्रतिशत महशुलमा निर्यात गर्न पाएका थिए ।  कोरोना महामारी र रूस–युक्रेन तनावबीच खाद्यान्नको भाउ उकालो लागेपछि मूल्य नियन्त्रण गर्न भारतले तेल आयातमा शून्य भन्सार नीति लियो । त्यसको असरले नेपालबाट निकासी ओरालो लागेको तेल उत्पादक ओसीबी फूडका सञ्चालक सुरेश रुंगटा बताउँछन् । वीरगञ्ज प्रशोधित खानेतेल निकासी हुने मुख्य नाका हो । यो नाकाबाट १४ ओटा उद्योगले खाने तेल निर्यात गर्दै आएका थिए ।  अचेल तेल निकासी निकै खस्किएको छ । वीरगञ्जबाट चालू आवको साउनदेखि वैशाखसम्म भटमासको तेल करीब ३ करोड रुपैयाँको मात्र निर्यात भएको छ । यो मूल्य अघिल्लो वर्षको सोही अवधिमा अवधिमा १ अर्ब २१ करोड रुपैयाँ थियो । प्रशोधित पाम तेलको निकासी ६ करोड रुपैयाँले र सूर्यमुखी तेल निकासी मूल्य पनि आधामा खुम्चिएको वीरगञ्ज भन्सारको तथ्यांकले देखाउँछ ।

वीरगञ्जबाट आयात १५ र निर्यात ६२ प्रतिशतले घट्यो

वीरगञ्ज । वीरगञ्ज नाकाबाट आयात निर्यात दुवै कारोबार घटेको छ । चालू आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि पुससम्ममा यो नाकाबाट आयात र निर्यातको परिमाण घटेको वीरगञ्ज भन्सारको तथ्यांकले देखाएको हो । आव २०७८/७९ को पहिलो ६ महीनाको तुलनामा यसपालि आयात १५ दशमलव ३ र निर्यात ६२ दशमलव ७ प्रतिशतले घटेको छ । गत आवको पहिलो ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको थियो । यो वर्षको उक्त अवधिमा २ खर्ब ९५ अर्ब रुपैयाँको सामान आयात भएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले जानकारी दिए । यो वर्ष निर्यात स्वात्तै घटेको छ । गतवर्षको समीक्षा अवधिमा ५५ अर्ब रुपैयाँबराबरको निकासी भएकोमा यो वर्ष २० अर्ब रुपैयाँमा खुम्चिएको छ । अघिल्ला वर्षहरूमा नेपालबाट प्रशोधित खानेतेलको निकासी उल्लेख्य परिमाणमा हुँदै आएको थियो । भारतले अन्य देशबाट तेल आयातमा उच्चदरको सीमा शुुुल्क लगाउँदा नेपालबाट तेल निकासी हुन्थ्यो । तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधित तेल भारत निकासी हुँदै आएकोमा यो वर्ष निकासी हुन सकेको छैन । भारतले तेल आयातमा शून्य भन्सार नीति लिएपछि भन्सार राजस्व अन्तरको फाइदा उठाएर भइरहेको निकासी घटेको हो । वीरगञ्ज नाकाबाट मुख्यरूपमा जुत्ता, धागो, जुसलगायत उत्पादन निर्यात हुन्छ ।

वीरगञ्ज नाकाबाट निर्यात ९३% ले वृद्धि, १० महीनामा ७६ अर्बको वस्तु निकासी

जेठ २०, वीरगञ्ज । देशको मुख्य व्यापारी नाका वीरगञ्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उलेख्य वृद्धि भएको छ ।  गत आर्थिक वर्षको १० महीनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा यो नाका प्रयोग गरी हुने नेपाली वस्तुको निकासीमा ९३ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रू. ३७ अर्ब ९७ करोड ७० लाख मूल्य बराबरको नेपाली वस्तु निकासी भएकामा चालू आवको सोही अवधिमा रू. ३५ अर्ब १३ करोड बढी अर्थात् रू. ७६ अर्ब १० करोड मूल्य बराबरको विभिन्न वस्तु निकासी भएको छ ।  यो ९२ दशमलव ५१ प्रतिशतले बढी हो । वीरगञ्ज नाका प्रयोग गरी नेपालबाट भारत तथा तेस्रो मुलुकतर्फ बढी निकासी हुने भटमास तथा खजुरको प्रशोधित तेल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, सिन्थेटिक यार्न, जमोठ कपडा, स्पोर्ट सुज, सिन्थेटिक सुजलगायत वस्तु रहेको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ । यस नाकाबाट नेपाली वस्तुको निर्यात बढेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा समेत सुधार देखिएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।  उनले गत आर्थिक वर्षको १० महीनामा रू. एक खर्ब ४१ अर्ब ६२ करोड १० लाख राजस्व संकलन भएकामा चालू आवको सोही अवधिमामा रू. २९ अर्ब आठ करोड १६ लाख बढी अर्थात् रू. एक खर्ब ७० अर्ब ७० करोड  राजस्व संकलन भएको बताए । रासस

वीरगञ्ज नाकाबाट व्यापार : सवा ५ खर्बको आयात हुँदा निर्यात ६९ अर्बमात्रै

वीरगञ्ज (अस) । आयात–निर्यात कारोबार परिमाणका आधारमा देशको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को ९ महीनामा करीब ६ खर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ५ खर्ब ९२ अर्ब रुपैयाँबराबरको वस्तु आयातनिर्यात भएको हो । प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले ५ खर्ब २२ अर्ब रुपैयाँको वस्तु आयात हुँदा निर्यात भने ६९ अर्ब रुपैयाँबराबरको मात्रै भएको बताए । गत वर्ष २०७७/७८ को सोही अवधिको तुलनामा कुल व्यापार ५० प्रतिशतले बढेको तथ्यांक भन्सारसित छ । गत वर्ष कुल व्यापार ३ खर्ब ९४ अर्ब रुपैयाँबराबर थियो । यो वर्ष आयात ४४ प्रतिशतले वृद्धि हुँदा निर्यात ११९ प्रतिशतले बढेको देखिन्छ । गत वर्षको साउनदेखि चैतसम्ममा ३१ अर्ब रुपैयाँको वस्तु निकासी भएको थियो । निकासीमा तेल अग्रस्थानमा वीरगञ्ज नाकाबाट प्रशोधित तेलको निर्यात सबैभन्दा बढी छ । भारतले तेलमा आयात शुल्क घटाएपछि नेपालबाट निकासी रोकिने भन्दै चिन्तित बनेका उद्योगीले अहिले धमाधम निकासी गरिरहेका छन् । अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको भाउ निरन्तर उकालो लागेकाले निकासी सम्भव भएको उद्यमी बताउँछन् । बाहिरबाट नेपालमा कच्चा पदार्थ ल्याएर प्रशोधन गरी निकासी गर्दा बाह्य बजारमा भाउ बढिसक्ने हुनाले मूल्यकै आधारमा निकासी हुन सकेको हो । यो नाकाबाट ९ महीनामा २८ अर्ब रुपैयाँबराबरको १ लाख १३ हजार ४३७ मेट्रिकटन भटमासको प्रशोधित तेल निर्यात भएको छ । त्यस्तै, ११ करोड ७५ लाख लिटर पाम तेल निर्यात भएको भन्सारले बताएको छ । यी दुई उत्पादन निकासी सूचीको क्रमशः पहिलो र दोस्रो स्थानमा परेका छन् । चौथो स्थानमा रहेको सूर्यमुखी तेल १३ हजार मेट निर्यात भएको भन्सारको तथ्यांकले बताएको छ । वीरगञ्ज नाकाबाट फलफूलको जुस, सेन्थेटिक यार्न, कपडा, पिना, गलैँचा, कार्पेटलगायत वस्तु निकासी भएको छ । आयाततर्फ इन्धन, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ मुख्य छन् । आयातमा कडाइ गरिएसँगै गत चैतयता यस्ता वस्तुको आयातमा कमी आउन थालेको प्रमुख भन्सार अधिकृत पौडेलले जानकारी दिए । वीरगञ्ज नाकाबाट भएको वैदेशिक व्यापारमा भारतसँगको व्यापारघाटा सबैभन्दा बढी देखिएको छ । यो नाकाबाट मात्रै कुल ४ खर्ब ५२ अर्ब रुपैयाँबराबर व्यापारघाटा रहेकोमा भारतबाट ३ खर्ब ११ अर्ब रुपैयाँ छ ।

वीरगञ्ज नाकाबाट प्रशोधित तेलको निर्यात ३ गुणाभन्दा बढीले  वृद्धि

चैत १०, वीरगञ्ज । चालू आर्थिक वर्ष (आव) २०७८/ ७९ को पहिलो आठ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा तीन गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको छ ।  गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यमा यो मूल्य ५३ अर्ब १० करोड रुपैया पुगेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।  चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । २७ अर्ब ४६ करोड रुपैयाँ बराबरको १ लाख ९ हजार ७३७ मेटिकटन भटमासको तेल निर्यात भएको भन्सार कार्यालयले बताएको छ ।  २३ अर्ब ३३ करोड रुपैयाँ मूल्य बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको वीरगञ्ज भन्सारले बताएको छ । भारतले आयात प्रतिबन्ध लगाएकाले गत वर्ष पाम तेल निकासी भएको थिएन । सूर्यमुखी तेलको निकासी परिमाण पनि यो वर्ष उल्लेख्य बढेको छ ।  गत आवको आठ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिक टन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको भन्सारको तथ्यांकमा उल्लेख छ ।  वीरगञ्ज नाकाबाट एक दर्जनभन्दा बढी उद्योगले भारततर्फ प्रशोधित तेल निकासी गर्दै आएका छन् ।

वीरगञ्ज भन्सारबाट ६ महीनामा रू. ४ खर्बको वैदेशिक व्यापार

वीरगञ्ज । मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिमा ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ । चालू वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महीने अवधिमा यो नाकाबाट वैदेशिक व्यापार ४ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबरारबर भएको भन्सारले बताएको छ । यो अघिल्लो आव २०७७/७८ को पहिलो ६ महीनाभन्दा ७६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा २ खर्ब २९ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्ष कोरोना महामारीले असोजपछि बजार खुलेको र बजार स्वाभाविक लयमा फर्किन समय लागेकाले व्यापार खुम्चिएको थियो । चालू वर्ष बजार स्वाभाविक रूपमा वृद्धि भएकाले व्यापार ह्वात्तै बढेको भन्सार अधिकारीहरू बताउँछन् । चालू आवको ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ । आयात व्यापार ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ । अघिल्लो वर्ष समीक्षा अवधिमा २ खर्ब १० अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको छ । यो नाकाबाट मुख्य रूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पादर्थको आयात हुन्छ । वीरगञ्ज भन्सार हुँदै ६ महीनामा ५५ अर्ब रुपैयाँबराबरको वस्तु निकासी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । यो नाकाबाट निकासी व्यापारमा यो वर्ष उल्लेख्य सुधार आएको छ । ‘गत आवको साउनदेखि पुससम्म १९ अर्ब रुपैयाँको निर्यात भएको थियो । वीरगञ्जबाट प्रशोधित तेल, कपडा, जुस, गलैंचालगायत वस्तु निकासी हुन्छन्,’ पौडेलले भने । वीरगञ्ज भन्सार कार्यालयमार्फत भएको वैदेशिक व्यापारबाट करीब ३ खर्ब व्यापारघाटा देखिएको छ । चालू वर्षको पहिलो अर्ध वार्षिक अवधिमा यो नाकाबाट मात्रै २ खर्ब ९३ अर्ब रुपैयाँबराबरको व्यापारघाटा भएको छ । यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । त्यसबेला यो आकार १ खर्ब ९० अर्ब रुपैयाँमात्रै थियो ।