वीरगञ्ज । भारतले खाने तेल आयातमा सीमा शुल्क घटाएपछि नेपालबाट यसको निकासी बन्द हुने अनुमानविपरीत अहिले पनि निर्यात व्यापारमा तेल नै अग्रस्थानमा देखिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको कच्चा पदार्थमा भइरहेको मूल्यवृद्धिले आन्तरिक बजारमा तेलको भाउ आकाशिए पनि यही बढ्दो मूल्य निकासी व्यापारका लागि भने सहज बनेको छ ।
समुद्रपारबाट नेपालमा कच्चा पदार्थ भित्रिनै २ देखि ३ महीना लाग्ने र यसबीचमा अन्तरराष्ट्रिय बजारमा मूल्य बढिसक्ने भएकाले नेपालबाट भारततर्फ तेल निकासी सम्भव भएको स्वदेशी उत्पादकले बताएका छन् । वीरगञ्ज तेल निकासी परिमाणका आधारमा मुख्य नाका हो । यो नाकाबाट बारा–पर्सा औद्योगिक कोरिडोरका एक दर्जनभन्दा बढी उद्योगले निर्यात गर्दै आएका छन् ।
चालू आर्थिक वर्ष (आव) २०७८/७९ को पहिलो ८ महीनामा वीरगञ्जबाट अघिल्लो आवको समीक्षा अवधिभन्दा ३ गुणाभन्दा बढी मूल्यको खाने तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले बताएको छ । गत आवको साउनदेखि फागुनसम्ममा १६ अर्ब १८ करोड रुपैयाँबराबरको प्रशोधित तेल भारत निकासी भएकोमा चालू आवको फागुन अन्त्यसम्ममा यो मूल्य ५३ अर्ब १० करोड रुपैया पुगेको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।
चालू आवको फागुनसम्ममा सबैभन्दा बढी भटमासको प्रशोधित तेल भारत निकासी भएको छ । दोस्रो स्थानमा पाम तेल छ । २७ अर्ब ४६ करोड रुपैयाँबराबरको १ लाख ९ हजार ७३७ मेट्रिकटन भटमासको तेल निर्यात भएको छ । २३ अर्ब ३३ करोड रुपैयाँ बराबरको ११ करोड ४७ लाख लीटर पाम तेल निकासी भएको वीरगञ्ज भन्सारले बताएको छ ।
भारतले आयात प्रतिबन्ध लगाएकाले गतवर्ष पाम तेल निकासी भएको थिएन । सूर्यमुखी तेलको निकासी परिमाण पनि यो वर्ष उल्लेख्य बढेको छ । गत आवको ८ महीनामा ७३ करोड रुपैयाँको ४ हजार ८८९ मेट्रिकटन सूर्यमुखी तेल निकासी भएको थियो । यो वर्षको २ अर्ब ३० करोड रुपैयाँको ११ हजार ७०० मेट्रिकटन यस्तो तेल भारत निर्यात भएको छ ।
केही समयअघि कोरोना महामारीका कारण उत्पादनमा आएको कमी र अहिले रुस–युक्रेन तनावका कारण कच्चा पदार्थको भाउ आकाशिएको छ । भारतले बजार मूल्य नियन्त्रणका लागि अघिल्लो वर्ष तेल आयातमा सीमा शुल्क ४० प्रतिशतबाट साढे ५ प्रतिशतमा झारेको थियो ।
भारतले सीमा शुल्क स्वात्तै घटाएपछि भारत निकासी बन्द हुने अवस्था आएकोमा अन्तरराष्ट्रिय बजारमा मूल्यवृद्धिले भारतीय बजारलाई लक्षित गरेर खुलेका नेपालका उद्योगलाई भरथेग मिलेको उद्यमी सुरेश रुंगटा बताउँछन् । स्वदेशी उद्योगले युक्रेन, इन्डोनेसिया र मलेसियाबाट अर्धप्रशोधित तेल ल्याएर यहाँ प्रशोधन गरी भारत निकासी गर्दै आएका छन् ।
नेपालमा २२ ओटा उद्योगले तेल उत्पादन गर्दछन् । तीमध्ये वीरगञ्जमा मात्रै १४ ओटा र अन्य विराटनगर र भैरहवा क्षेत्रमा छन् । पाँचओटा नयाँ उद्योग आउने तयारीमा छन् । उद्योगको वार्षिक उत्पादन क्षमता २५ लाख मेट्रिकटन पुगेकोमा स्वदेशी खपत ५ लाख मेट्रिकटन मात्र रहेको छ ।