वीरगञ्ज । मुख्य नाकास्थित वीरगञ्ज भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष (आव) २०७८/७९ को अर्धवार्षिक अवधिमा ४ खर्ब रुपैयाँभन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
चालू वर्षको साउनदेखि पुस मसान्तसम्मको ६ महीने अवधिमा यो नाकाबाट वैदेशिक व्यापार ४ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबरारबर भएको भन्सारले बताएको छ । यो अघिल्लो आव २०७७/७८ को पहिलो ६ महीनाभन्दा ७६ प्रतिशत बढी हो ।
अघिल्लो आवको सोही अवधिमा २ खर्ब २९ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो । अघिल्लो वर्ष कोरोना महामारीले असोजपछि बजार खुलेको र बजार स्वाभाविक लयमा फर्किन समय लागेकाले व्यापार खुम्चिएको थियो । चालू वर्ष बजार स्वाभाविक रूपमा वृद्धि भएकाले व्यापार ह्वात्तै बढेको भन्सार अधिकारीहरू बताउँछन् ।
चालू आवको ६ महीनामा ३ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको भन्सारको तथ्यांकमा देखिन्छ । आयात व्यापार ६६ प्रतिशतले बढेको भन्सारको तथ्यांक छ । अघिल्लो वर्ष समीक्षा अवधिमा २ खर्ब १० अर्ब रुपैयाँबराबरको मालसामान आयात भएको छ ।
यो नाकाबाट मुख्य रूपमा सवारीका साधन, इन्धन र औद्योगिक कच्चा पादर्थको आयात हुन्छ ।
वीरगञ्ज भन्सार हुँदै ६ महीनामा ५५ अर्ब रुपैयाँबराबरको वस्तु निकासी भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । यो नाकाबाट निकासी व्यापारमा यो वर्ष उल्लेख्य सुधार आएको छ । ‘गत आवको साउनदेखि पुससम्म १९ अर्ब रुपैयाँको निर्यात भएको थियो । वीरगञ्जबाट प्रशोधित तेल, कपडा, जुस, गलैंचालगायत वस्तु निकासी हुन्छन्,’ पौडेलले भने ।
वीरगञ्ज भन्सार कार्यालयमार्फत भएको वैदेशिक व्यापारबाट करीब ३ खर्ब व्यापारघाटा देखिएको छ । चालू वर्षको पहिलो अर्ध वार्षिक अवधिमा यो नाकाबाट मात्रै २ खर्ब ९३ अर्ब रुपैयाँबराबरको व्यापारघाटा भएको छ ।
यो अघिल्लो आवको समीक्षा अवधिको तुलनामा ५४ प्रतिशत बढी हो । त्यसबेला यो आकार १ खर्ब ९० अर्ब रुपैयाँमात्रै थियो ।