माघ १३, विराटनगर । मुलुककै जेठो व्यापारिक तथा औद्योगिक संगठन मोरङ व्यापार संघको अध्यक्षमा नविन रिजाल सर्बसम्मत चयन भएका छन् ।
गत पुस २० गते भएको निर्वाचनमा कार्य समितिका लागि १६ सदस्य निर्विरोध निर्वाचित भएका थिए । ती १६ जना सदस्यहरुबाट रिजाल सर्वसम्मत अध्यक्ष चयन भएका हुन् । उनलाई बिहीवार नै निबर्तमान अध्यक्ष प्रकाश मुन्दडाले पदभार ग्रहण गराएका छन् ।
१६ सदस्यीय समितिको बैठकले वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, वाणिज्यतर्फको उपाध्यक्षमा अनिलकुमार सारडा, उद्योगतर्फको उपाध्यक्षमा विकासकुमार बेगवानी र महासचिवमा अनिल शाहलाई निर्वाचित गरेको छ । संघको सचिवमा भने सञ्जय श्रेष्ठ र कोषाध्यक्षमा राजेश बगडिया चयन भएका छन् ।
संघको सदस्यहरुमा अमित सारडा, विनित सिंघानियाँ, मनिष मारु, श्याम राठी, सुशील सुराना, आशिष जाजू, दीपेश सुवेदी, देवाशिष गोल्छा, पवन राठी, चन्द्र भट्टराई रहेका छन् । यस्तै अध्यक्ष रिजालले अमित राठी र विवेक अग्रवालाई सदस्यमा मनोनित गरेका छन् । वस्तुगततर्फको संघको सदस्यहरुमा अरविन्द अग्रवाल र गोपाल अग्रवाल रहेका छन् ।
संघमा बन्दना जैन र ओमप्रकाश शर्मा भने आमन्त्रित सदस्य बनेका छन् । रिजाल यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए । उनी ‘रिजालको’ ब्रान्डका पानीटङ्की, पाइप, एलपी ग्यास आदिका सञ्चालक हुन् । २००७ सालमा स्थापना गरिएको र नेपालकै पहिलो उद्योग वाणिज्य संघका रूपमा दाबी गरिएको व्यापार संघमा रिजाल ३३ औं कार्यसमितिका अध्यक्ष भएका हुन् ।
रिजालले दोहोर्याए पुरानै १७ बुँदे प्रतिबद्धता
नवनिर्वाचित मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले १७ बुँद्धे प्रतिवद्धता पनि घोषणा गरेका छन् । जुन विगतदेखि नै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी र तीनका संगठनहरुले उठाउदै आएका छन् ।
तर रिजालले कार्यान्वयन गराई छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीवार आयोजित पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रिजालले सरकारको पूँजीगत खर्च गराउन संघले दबाबमूलक कार्यक्रम गर्ने र मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि जोडदार पहल गरिने बताए ।
उनले तीव्र औद्योगीकरण लागि जोड दिंदै तरला अभाव, अस्थिर ब्याजदर, विद्युत् जस्ता जस्ता समस्या समाधानमा जोड दिने बताए । संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनीकरण तथा रोजगारी अभिवृद्धि योजना अगाडि बढाउने अध्यक्ष रिजालले बताए ।
विराटनगर नाका जोड्ने भारतको मीरगञ्ज पुलका समस्याहरू यथाशीघ्र निराकरण गर्न पहल गर्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालभरी औद्योगिक क्षेत्रको स्थापनाका लागि समन्वयात्मक भूमिका निर्वाह गरिने बताए ।
क्षेत्रीय विमानस्थल निर्माण लागि पहल गरिनुको साथै प्रदेश नं १ मा धार्मिक, मेडिकल एवम् खेलकूद पर्यटन तथा कृषि क्षेत्रको प्रवर्द्धनका लागि प्रदेश सरकारसँग पहल गर्ने उनले बताए । स्थानीय बजार प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम संघले सञ्चालन गर्ने तयारी गरिएको उनले सुनाए ।
स्टार्टअपको प्रवर्द्धनका लागि कार्यहरू अघि बढाउनुको साथै सीमा क्षेत्रसहित अन्तरराष्ट्रिय उद्योग वाणिज्य संघहरूसँग समन्वय गर्ने योजना रहेको पनि उनले बताए ।