विराटनगर (अस) । मोरङ व्यापार संघले चैत १८ देखि २६ गतेसम्म ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । प्रदेश १ को उद्योग, व्यवसाय, कृषि, पर्यटन र सेवा क्षेत्रको विकास एवं प्रवर्द्धन गर्ने उद्देश्यले संघले अन्तरराष्ट्रिय स्तरको कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।
मेलाले उत्पादन तथा सेवाको प्रवर्द्धन, स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी, विक्रीका साथै व्यापार र लगानीका सम्भावनाको पहिचानमा मद्दत पुग्ने कार्यक्रमका संयोजक विकासकुमार बेगवानीले बताए । सुनसरी मोरङ औद्योगिक कोरिडोरको प्रवद्र्धन र अर्थतन्त्रलाई चलायमान राख्ने उद्देश्यले आयोजना गरिने प्रदर्शनीमा प्रविधियुक्त एसी र कुलर सहितका २८१ ओटा स्टल रहने आयोजकले जानकारी दिएको छ । प्रदर्शनीमा करीब ३ करोड खर्च हुने र करीब ४५ करोडसम्मको कारोबार हुने आयोजकको अनुमान छ ।