असोज २०, काठमाडौं । दशैंतिहार तथा छठ पर्वको अवसर पारेर नेपाल क्लियरिङ हाउस लिमीटेड(एनसीएचएल) ले कनेक्ट आईपीएस मोबाईल एप मार्फत् मोबाईल वालेटमा गरिने फण्ड लोडलाई असोज २० गतेदेखि कार्तिक २५ गतेसम्म पूर्ण रुपमा नि : शुल्क गरेको छ ।
उसले बैंक वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आईपीएस फण्ड ट्रान्सफर तथा कनेक्ट आईपीएसमार्फत फण्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बताएको छ ।
कनेक्ट आईपीएसको बढ्दो प्रयोग तथा मोबाईलबाट गरिने बैंक खातामा आधारित फण्ड ट्रान्सफरलाई थप प्रवर्द्धन गर्न उक्त अवधिमा कारोबार शुल्क पूर्ण रुपमा मिनाहा गरिएको बताइएको छ ।
यस प्रावधानले कागजी नोटको प्रयोग घट्नुका साथै फण्ड ट्रान्स्फरमा मोबाईल प्ल्याट्फर्मको प्रयोग थप वृद्धि हुने नेपाल क्लियरिंग हाउसले बताएको छ ।
फण्ड ट्रान्सफर लगायत अन्य विभिन्न भुक्तानी एकै प्लेटफर्मबाट गर्न सकिने कनेक्ट आईपीएसले गत आर्थिक वर्षमा १३ दशमलव ६ खर्ब रुपैयाँ बराबरको १ करोड ८९ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरेको थियो भने चालू आर्थिक वर्ष (भाद्र मसान्तसम्म) ४ दशमलव ५ खर्ब रुपैयाँ बराबरको ६२ लाख भुक्तानी कारोबारहरु फछ्र्यौट गरिसकेको छ ।
हाल उक्त प्रणालीमा जम्मा ५४ ओटा बैंक वित्तिय संस्थाहरु आबद्ध रहेका छन् । १४ ओटाभन्दा बढी डिजीटल वालेटका प्रयोगकर्ताले पनि कनेक्ट आईपीएसमार्फत सोझै बैंक खाताबाट फण्ड लोड गर्न सकिने पनि उसले बताएको छ ।
कनेक्ट आईपीएसको मोवाइल एपमार्फ प्रतिकारोबार १ लाख रुपैयाँ तथा प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिन्छ ।