काठमाडौं । पाकिस्तानले चीनबाट थप डलर प्राप्त गरेको छ । इन्डष्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना(आईसीबीसी) ले शुक्रवार नगदको चरम अभाव भोगिरहेको पाकिस्तानका लागि १ अर्ब ३० करोड डलरको कर्जा पारित गरेको छ । यसले पाकिस्तानको सुक्तै गइरहेको विदेशी सञ्चिति भन्डारलाई टेवा दिने अर्थमन्त्री इशाक दारले भनेका छन् ।
उनका अनुसार सो रकम तीन किस्तामा दिइनेछ । पाकिस्तानी केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानले ५० करोड डलर बराबरको पहिलो किस्ता भने पाइसकेको दारले एक ट्विटमा भनेका छन् । यसले आफ्नो विदेशी सञ्चिति बढाउने उनले एक ट्विटमा भनेका छन् । यो रकम हालैका महिनामा पाकिस्तानले आईसीबीसीलाई भुक्तानी गरेको कर्जाबापतको रकम भएको बताइएको छ । अहिले पाकिस्तानसँग तीन हप्ताभन्दा कमको मात्रै आयात धान्न पुग्ने पैसा छ । शनिवार बिहान दारले पाकिस्तानले आईसीबीसीबाट पैसा पाउने आशा गरिएको बताएका थिए ।
पाकिस्तानको विदेशी मुद्रा सञ्चिति बढाउन हालै चीनले ७० करोड डलरको कर्जा पनि दिएको थियो । पाकिस्तानले यस अघि नै चीनलाई पुनःभुक्तानी गरेको कर्जा पुनः पाकिस्तानलाई कर्जाकै स्वरुपमा फर्काउने वाचा गरेको थियो । सोही वाचा अनुरुप २ अर्ब डलर दिइएको हो । यही जुनमा सकिने चालू आवमा पाकिस्तानको वित्तीय छिद्रहरु पुर्नका लागि उसलाई थप ५ अर्ब डलर चाहिनेछ ।
पाकिस्तानले आगामी हप्ता बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग सम्झौतामा हस्ताक्षर गरेपछि उसले थप बाह्य लगानी पाउने आशा गरिएको छ । गएको महीनाको शुरु देखि नै प पाकिस्तान र कोषबीच सन् २०१९ मा सहमति भएको साढे ६ अर्ब डलर बराबरको वित्तीय उद्धार कार्यक्रमको किस्ता फुकाउने विषयमा वार्ता चलिरहेको छ ।
कोषले राखेको शर्तहरु पूरा गरेर जसरी हुन्छ सो किस्ता हासिल गरेर डिफल्टमा जानबाट बेच्ने दाउमा पाकिस्तान छ । एजेन्सी