काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनः सञ्चालन हुने भएको छ ।
चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।
सरकारले आफूले सीमानाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरूप उक्त नाका पुनः सञ्चालनमा आउन लागेको हो दावी गरेको छ ।
‘सोमबारदेखि नै नाका खोल्न चिनियाँ पक्ष सहमत भएको छ, प्राविधिक कारणले एक/दुई दिन विलम्ब भए पनि यो साताभित्र केरुङ नाका सञ्चालनमा आउँछ’ परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भनेका छन् ।
केरुङ नाका नखुल्दा आयात–निर्यात ठप्प भएको छ । कोभिड–१९ ले थिलथिलो पारेको मुलुकको अर्थतन्त्रलाई अझ कमजोर पारेको छ भने राज्यलाई दैनिक दुई करोडभन्दा बढी राजस्व योगदान गरिरहेको उक्त अन्तर्राष्ट्रिय व्यापारिक नाका बन्द भएपछि राज्यलाई घाटा मात्र भएको छैन स्थानीय तथा नाकामा कारोवार गर्ने व्यापारीलाई समेत रोजीरोटीको चिन्ता बढेको थियो ।
केरुङबाट रसुवागढी नाका हुँदै नेपालतर्फ रेडिमेड कपडा, कम्मल, घडी, जुत्ता, चप्पल, स्याउ, विद्युतीय तथा इलेक्ट्रोनिकलगायतका सामग्री भित्रिने गरेको छ भने नेपालबाट जडीबुटी तथा हस्तकलाका सामग्री निकासी हुने गरेको थियो ।