सुर्खेत । पूर्व–पश्चिम जोड्ने मदन भण्डारी राजमार्गको सुर्खेतमा पर्ने पूर्वी खण्डको अन्योल हटेको छ । धुलियाबिट–भेडाबारी बोटेचौर सडकको स्तरोन्नतिका लागि बोलपत्र प्रक्रिया शुरू भएसँगै आयोजनाले गति लिने निश्चित भएको हो ।
आयोजनाको निरन्तर निगरानी गरिरहेकान सुर्खेत–१ का प्रतिनिधिसभा सदस्य धु्रवकुमार शाहीले चालू आर्थिक वर्षमै बहुवर्षीय ठेक्काअन्तर्गत काम शुरू हुने बताए । विस्तृत परियोजना प्रतिवेदन, वातावरणीय प्रभाव मूल्यांकनको काम सकिएलगत्तै आयोजनाले निर्माण प्रक्रिया अघि बढाएको हो । ‘निरन्तरको प्रयासपछि सडक स्तरोन्नति हुँदै छ, आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न हामी जनप्रतिनिधिले पनि आ–आफ्नो तहबाट सहयोग गर्नुपर्छ,’ उनले भने, ‘ओझेलमा परेको जिल्लाको पुरानो सडकखण्ड राष्ट्रिय राजमार्गमा जोडिनुले पूर्वी क्षेत्रको विकासमा ठूलो मद्दत पु¥याउनेछ ।’ २०३६ मा ट्र्याक खुलेको भेडाबारी सडक त्यसयता स्तरोन्नति हुन सकेको थिएन ।
सडकको ९ मिटर चौडाइसम्म कालोपत्र गरिनेछ । हाल उक्त सडकको चौडाइ करीब ४ मिटर छ । स्तरोन्नति गर्दा करीब ५२ प्रतिशत सडक फराकिलो बताइएको छ । सुर्खेतमा मदन भण्डारी राजमार्ग १२९ किमी पर्छ । तीमध्ये वीरेन्द्रनगर पूर्वमा ३५ तथा पश्चिम क्षेत्रमा ९४ किमी पर्छ । पश्चिममा बड्डीचौर–बेनीघाट सडक खण्डलाई मदन भण्डारी राजमार्गमा कायम गरिएको छ । यो पनि ट्र्याक खोलिएको पुरानो सडक खण्डमा पर्दछ । पूर्वी क्षेत्रको बोलपत्र प्रक्रिया शुरू भइसक्दा पश्चिम खण्डमा भने अन्योल कायमै छ । केही समय स्थानीयवासीको अवरोधका कारण डीपीआर तथा ईआईएको काम प्रभावित भएको थियो । रासस