रसुव । रसुवाको कालिका गाउँपालिका अन्तर्गत जिवजिवे क्षेत्रको भदौरेगाउँमा नयाँ प्रविधिमा आधारित नमूना सिँचाइ निर्माण भएको छ । दीर्घकालीन कृषि रणनीतिको मर्म र भावनालाई आत्मसात् गर्दै खानेपानीका धाराबाट खेर जाने पानीसमेत सदुपयोग गर्दै सिँचाइ व्यवस्थापन गरिएको छ ।
२४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्याई कृषि उत्पादनमा आत्मनिर्भर गराउने उद्देश्यले संघीय सरकारको अनुदानमा सबडिभिजन सिँचाइ कार्यालय रसुवामार्फत पाइपद्वारा सिँचाइका संरचना निर्माण गरिएको हो । सौरेनी खोला मुहान गरी निर्माण गरिएको सिँचाइबाट भदौरे गाउँका २४० रोपनी पाखो जमीनमा सिँचाइ सुविधा पुर्याइँदै छ । यससँगै कोदो रोप्ने स्थानमा धान रोप्ने तयारी भएको छ । उक्त सिँचाइ योजनाबाट ५२ घरधुरीका २७० स्थानीयवासी लाभान्वित भएका छन् ।
हिउँद तथा वर्षा दुवै समयमा सिँचाइ सुविधाको सहजता ल्याउन ६० हजार लिटरको एक रिजर्भ र गाउँ टोलटोलका खानेपानी धाराबाट खेर गइरहेको पानी संकलनका लागि पाँच/पाँच हजार लिटर क्षमताका ४८ ओटा संकलन ट्यांकी निर्माण गरिएको सबडिभिजन सिँचाइ प्रमुख कृष्णबहादुर पाण्डेले जानकारी दिए ।
उक्त सिँचाइका लागि एक हजार २०० मिटर मुख्य एवं खेतीयोग्य जमीनमा लैजान शाखा लाइनका पाइप खरिद तथा ट्यांकीसमेतका संरचना निर्माणमा १ करोड हाराहारीमा खर्च भएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेलले बताए । वर्षा कमी भएको समयमा कोदोको बोटसमेत सुक्ने भदौरे क्षेत्रका जमीनमा वर्षायाममा धानका बाला झुलाउन र हिउँदयाममा तरकारीबाट आयआर्जन बढाउन सिँचाइ सुविधा सहज हुने भएको छ ।
पहिला निर्माण भएको सिँचाइ संरचना २०७२ को भूकम्पले क्षति पु¥याएको र वर्तमान अवस्थामा निर्माण भएका सिँचाइ संरचना दिगो एवं आम किसानमाझ लाभदायी हुँदै गएको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले बताए । रासस