जिल्लाकै गौरव चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न, २२० परिवार लाभान्वित

चैत २५, अर्घाखाँची । अर्घाखाँचीकै गौरवको योजनाका रुपमा रहेको चौबाटार सिँचाइ योजना निर्माण सम्पन्न भएको छ ।  छत्रदेव गाउँपालिका–ठूलापोखरास्थित उक्त सिँचाइ योजना सम्पन्न भएपछि चौवाफाँट र आसपासका कृषकलाई राहत मिलेको छ ।   सिँचाइ आयोजनाको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले उद्घाटन गरे । सिँचाइ आयोजनाको उद्घाटन गर्दै मन्त्री रानाले सबै कृषकलाई व्यावसायिकरुपमा कृषि कर्ममा लाग्न आग्रह गरे । उनले सरकारको लगानीमा निर्माण भएका भौतिक संरचनाको स्थानीयले संरक्षण गर्नुपर्नेमा जोड दिए ।  सिँचाइ योजनाबाट २२० परिवारका एक हजार ४५० जना प्रत्यक्ष लाभान्वित भएका छन् । जरेखोला मिलमिलेबाट सेरीखोलासम्म आठ हजार २०० मिटर लम्बाइको सिँचाइ योजना रू. आठ करोड ३९ लाखको लागतमा सम्पन्न भएको सिँचाइ विकास डिभिजन कार्यालय अर्घाखाँचीका प्रमुख इञ्जिनीयर विष्णु भण्डारीले बताए ।  विसं २०४३ देखि कुलो निर्माणका लागि स्थानीयले माग गर्दै आएपनि  ३६ वर्षपछि माग पूरा भएको छ । रासस