जिल्लाको एउटै गाउँपालिकाबाट काेराेना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाएका स्वाबको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । दुई दिन लगाएर परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा त्रास हटेको छ ।
हवाई मार्गबाट सिधा जुम्ला पठाई पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका निर्देशक डा. मङ्गल रावलले बताउनुभयो । उहाँका अनुसार सिमकोट गाउँपालिकाबाट आएका ८२५ वटै स्वाबको पीसीआर परिक्षण रिपोर्ट नेगेटिभ आएको र प्रतिष्ठानले दुई दिन लगाएर स्वाबको पीसीआर परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आएपछि हुम्लामा त्रास हटेको छ ।