विराटनगर । नेपाल निर्माण व्यवसायी महासंघ, प्रदेश १ को १४औं साधारणसभापछि भएको अधिवेशनबाट अध्यक्षमा जनसेवक भण्डारी निर्वाचित भएका छन् । बुधवार भएको निर्वाचनमा अर्का उम्मेदवार कमलप्रसाद गौतमलाई ६२ मतान्तरले पछि पार्दै भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित भण्डारीले २६७ मत ल्याए भने गौतमले २०५ मत पाए । अध्यक्षका दुवै उम्मेदवार एमाले निकट भए पनि उनीहरूबीच सहमति नहुँदा चुनावी प्रतिस्पर्धामा थिए ।
यसैगरी प्रथम उपाध्यक्षमा ३०३ मत ल्याएर केशरकुमार बुढाथोकी निर्वाचित भए । प्रथम उपाध्यक्षका अर्का उम्मेदवार दीपक पौडेलले १६३ मत पाए । महासचिवमा रमेश कार्की विजयी भए । उनले २६६ मत पाएर चुनाव जिते भने उनका प्रतिस्पर्धी मौसम थापा १९६ मतसहित पराजित भए ।
कोषाध्यक्षमा ३३३ मत पाएर सन्तोष बस्नेत निर्वाचित भए । उनका प्रतिस्पर्धी निर्मलकुमार श्रेष्ठले १२७ मत पाए । सहकोषाध्यक्षमा २५७ मतसहित योगराज दाहाल निर्वाचित भए । उनका प्रतिस्पर्धी खगेन्द्र राईले २११ मत पाए ।
द्वितीय उपाध्यक्ष, तृतीय उपाध्यक्ष, दुई उपमहासचिव र सदस्यहरू भने निर्विरोध चयन भए । द्वितीय उपाध्यक्षमा सन्तोषकुमार ढुंगाना, तृतीय उपाध्यक्षमा चन्द्र सापकोटा, उपमहासचिव (नीतिगत)तर्फ ऋषिकेश रिजाल र उपमहासचिव (आन्तरिक)तर्फ भूमिप्रसाद ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरूमा इन्द्रकुमार कार्की, प्रमानन्द भट्टराई, लक्ष्मी श्रेष्ठ, सन्तकुमार मेहता, गणेशप्रसाद यादव, पदमप्रसाद डाँगी, चन्द्र पाठक र दिपेन योक्पांदेन निर्विरोध भएको निर्वाचन समितिले बताएको छ ।