फागुन १४, वीरगञ्ज । नेपाली सेना र प्रहरीको पोशाकका लागि आवश्यक कपडा अब नेपालमै उत्पादन हुन थालेको छ ।
वीरगञ्जको कोहिनुर टेक्सटाइलले यस्तो उत्पादन थालेको हो । कोहिनुरले यो वर्षदेखि सेना र प्रहरीको पोशाक (चुस्ता) को कपडा उत्पादन थालेको छ । उनी (उलेन) कपडा भने यसअघि नै उत्पादन हुँदै आएको थियो ।
त्यसअघि चीनबाट आयातित कपडा प्रयोग हुँदै आएको थियो । अब सुरक्षाकर्मीको पोशाकका लागि कपडा आयातको बाध्यता हटेको छ ।
त्यसअघि आपूर्तिकर्ताले सेना र प्रहरीलाई आयातित कपडा उपलब्ध गराउँदै आएकोमा यो आर्थिक वर्षदेखि स्वदेशी कपडा आपूर्ति हुन थालेको हो । वीरगञ्जकै क्राउन टेक्सटाइलसँगको सहकार्यमा कोहिनुरले यस्तो कपडाको उत्पादन गरेको छ ।
यो उद्योगबाट उत्पादित कपडा एडी सप्लायर र जय सलिना इन्टरप्राइजेजले आपूर्तिको जिम्मा लिएका छन् । नेपाली सेनाको लागि ६ लाख मीटर, नेपाल प्रहरीलाई २ लाख ५० हजार मीटर र सशस्त्र प्रहरीका लागि ७० हजार जोडी पोशाकका लागि कपडा उत्पादन हुने क्राउन टेक्सटाइलका सञ्चालक पीताम्वरकुमार मुनकाले जानकारी दिए ।
‘अब नेपाली सेना र प्रहरीको पोशाकका लागि चाहिने सबै खालको कपडा स्वदेशमै उत्पादन हुन थालेको छ । यसका लागि बाहिरबाट कपडा ल्याउनुपर्ने बाध्यता हटेको छ,’ मुनकाले भने ।
यो प्रयोजनका लागि मात्रै कपडा आयातमा वर्षेनि ५० करोड रुपैयाँ बाहिरिने गरेकोमा अब त्यो रकम स्वदेशमै रहने पनि उनले दाबी गरे । कोहिनुरले ४ महीनादेखि चुस्ताको कपडा उत्पादन गरिरहेको उद्योगका सञ्चालक राजेशकुमार कुशवाहले बताए ।
विगत १० वर्षदेखि सञ्चालनमा रहेको उद्योगले सेना र प्रहरीका लागि यो कपडा उत्पादनमा आवश्यक उकरणमा मात्रै ५ करोड रुपैयाँ लगानी थपेको जानकारी पनि कुशवाहले दिए ।उद्योगले कपडा बनाउन प्रयोग हुने धागो, रङलगायगतका कच्चा पदार्थ भने भारतबाट आयात गर्दै आएको छ ।