व्यावसायिक सशक्तीकरणका लागि मोटिभेसनल सेमिनार

चितवन । उद्योग वाणिज्य संघ, चितवन र फेन्सी व्यवसायी संघ, चितवनको संयुक्त आयोजनामा सोमबार एक दिने मोटिभेसनल सेमिनार सम्पन्न भएको छ । फेन्सी उद्यमी व्यवसायीहरूलाई लक्षित गरी व्यावसायिक सशक्तीकरणका लागि उत्प्रेरित गर्ने उद्देश्यले सेमिनार आयोजना गरिएको हो ।  कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले व्यावसायिक जटिलता सिर्जना भएको अवस्थामा यस किसिमको उत्प्रेरणात्मक कार्यक्रमले व्यावसायिक उत्थानमा सहयोग पु¥याउने अपेक्षा व्यक्त गरे । उनले व्यावसायिक हितका सम्बन्धमा संघ सदैव प्रतिबद्ध रहेको बताए । मोटिभेसनल सेमिनारका प्रमुख प्रशिक्षक रञ्जीतराज आचार्यले परिणामको आशा नगरी प्रयास गरिरहे अवश्य राम्रो परिणाम आउने बताउँदै नकारात्मक विचारलाई सकारात्मक बनाउनेतर्फ उत्प्रेरणा दिएका थिए । सोही अवसरमा फेन्सी व्यवसायी संघद्वारा प्रकाशित फेन्सी सन्देश अर्धवार्षिक बुलेटिनको विमोचन गरिएको थियो । फेन्सी व्यवसायी संघका प्रवक्ता विपिन रिजालकोे संयोजनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ, चितवनका उपाध्यक्षत्रय चिरञ्जीवी सुवेदी, राजेन्द्र ओली, सिरिश पन्तलगायको उपस्थिति रहेको थियो ।

सम्बन्धित सामग्री

‘स्ट्रिक्स प्रोफेसनल’कोे फेसन इभेन्ट ‘मर्कुरिअल’ सम्पन्न

काठमाडौं। ‘स्ट्रिक्स प्रोफेसनल’ले काठमाडौंमा फेसन इभेन्ट ‘मर्कुरिअल’ सम्पन्न गरेको छ । कपालको हेरचाह, रङ र शैलीका लागि व्यावसायिक उत्पादन दायरा बढाउन विशेषगरी सैलुन व्यवसायी र हेयरड्रेसरले ‘मर्कुरिअल’बाट फाइदा लिएको आयोजकले अपेक्षा गरेको छ । स्ट्रिक्स प्रोफेसनलले कार्यक्रममा सेलिब्रिटी स्टाइलिस्ट विपुल चुदासमालाई प्रस्तुत गरेको थियो । ५२० भन्दा बढी ‘हेयर शो’को प्रदर्शनी, सेमिनार, विशेष मास्टर क्लासमा चुदासको उपस्थिति रहिसकेको बताइएको छ । ‘मर्कुरिअल कलेक्सन’ले कपालको कटिङ, रङ र शैलीको माध्यमबाट सेवाग्राही र प्रयोगकर्ताको जीवनशैली परिवर्तन गर्ने कम्पनीको दाबी छ । सो अवसरमा चुदासमा र स्ट्रिक्स प्रोफेसनलको टिमको प्रस्तुतिमा ‘हेर्नुस् र सिक्नुस्’ सेमिनारको पनि आयोजना गरिएको थियो ।

पाँचतारे होटल ‘सिद्धार्थ विलासा’ सञ्चालनमा

काठमाडौं  । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । कम्पनीले साढे २ अर्ब रुपैयाँको लगानीमा ‘सिद्धार्थ विलासा’ पाँचतारे होटल सञ्चालनमा ल्याएको हो । कम्पनीका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ बिजनेस ग्रुपको २५ वर्षे व्यावसायिक यात्राका क्रममा मुलुकका विभिन्न स्थानमा ३२ ओटा आतिथ्यता सेवालाई निरन्तरता दिँदै भैरहवामा पाँच तारे होटल सञ्चालन गर्न सफल भएको बताए । गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करीब २०० मिटरभित्र अवस्थित सिद्धार्थ विलासा होटल करीब ४ बिघा क्षेत्रफलमा फैलिएको बताइएको छ । होटलको औपचारिक उद्घाटन भने असोजमा गर्ने तयारी छ । कुल ८५ ओटा कोठा, लबी लौन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुराँ, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लव, लङ टेनिस कोर्ट, गार्डेन, पार्किङस्थल, ३ ओटा ठूला सेमिनार हल, मिटिङ हल र क्यासिनो सञ्चालन समेत हुने कम्पनीले बताएको छ ।

नेपाल लाइफ पाठशाला उद्घाटन

काठमाडौं (अस) । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमलपोखरीको सिटी सेन्टरस्थित नेपाल लाइफ भवनमा स्थापना गरेको नेपाल लाइफ पाठशाला प्रशिक्षण कक्ष उद्घाटन गरिएको छ । बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ सञ्चालक समिति अध्यक्ष  गोविन्दलाल संघईले संयुक्त रूपमा नेपाल लाइफ पाठशालाको उद्घाटन  गरे । कार्यक्रममा कम्पनीका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यस किसिमका गुणस्तरीय तालिम पूर्वाधारलाई क्षेत्रीय स्तरमा समेत विस्तार गर्ने योजना रहेको बताए । नेपाल लाइफ पाठशाला भविष्यमा उदाहरणीय तालिम प्रदान गर्ने संस्था बन्ने विश्वास उनले व्यक्त गरे । उक्त अवसरमा बीमा समिति अध्यक्ष सिलवालले नेपाल लाइफले सुरु गरेको पाठशाला उदाहरणीय कार्य भएको बताउँदै सफलताको शुभकामना दिए । नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष संघईले अभिकर्ता तथा कर्मचारीको व्यावसायिक दक्षता एवं क्षमता अभिवृद्धिका लागि नियमित प्रशिक्षणको आवश्यकता महसुस गरी सुविधासम्पन्न नेपाल लाइफ पाठशाला स्थापना गरिएको बताए । आगामी दिनमा पाठशालामा विज्ञ प्रशिक्षकमार्फत अभिकर्ता र कर्मचारीका लागि नियमित तालिम एवं सेमिनार सञ्चालन गर्न कम्पनी व्यवस्थापनलाई उनले सुझाव दिए । उक्त अवसरमा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका सञ्चालक रामअवतार अग्रवाल,  विमलप्रसाद ढकाल, कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशीलकुमार चौधरी, विभागीय प्रमुख र अभिकर्ता  उपस्थित थिए ।

कोरोनाको रोकथाममा थप निर्देशन

काठमाडौं । अग्रपंक्तिमा रहेर ग्राहकलाई नियमित सेवा दिने व्यावसायिक क्षेत्रका कर्मचारीहरूले अब हप्ताको दुईपटक कोरोना परीक्षण गर्नुपर्ने भएको छ । सरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३६ बुँदे आदेश जारी गर्दै अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकलाई नियमित सेवा दिने कर्मचारीले हप्ताको दुईपटक एन्टिजेन परीक्षण गर्न भनेको हो । एन्टिजेन परीक्षणको रिपोर्ट नेगेटिभ आएका कर्मचारीलाई मात्र सम्बद्ध निकाय वा संस्थाले काममा खटाउनु पर्नेछ । कर्मचारीको एन्टिजेन परीक्षण गर्ने व्यवस्था सम्बद्ध निकाय वा संस्था आपैmले गर्नु पर्नेछ । त्यस्तै, आदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको चिह्न वा लक्षण भएका व्यक्तिहरू अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाइएको छ । जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड–१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रूपमा ५ दिन क्वारेन्टाइनमा बस्नुपर्ने नियम सरकारले लागू गरेको हो । पाँच दिन क्वारेन्टाइनमा बसेपछि कोभिड–१९ को परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्ति मात्रै काममा आउन पाउने छन् । पछिल्लो मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम, उपचार, नियन्त्रण र निदानका लागि संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको हो । उक्त आदेशअनुसार अब आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन गर्न नपाइने भएको छ । त्यस्तै गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने, भौतिक रूपमा नै उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यको मापदण्ड पालना गरी एन्टिजेन परीक्षण रिपोर्ट नेगेटिभ आएकाहरू बढीमा २५ जना सहभागी रहने गरी सञ्चालन गर्ने आदेशमा उल्लेख छ । कोरोना संक्रमण तीव्र भएपछि सरकारले भीडभाड नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट ओमिक्रोनसहित कोरोना संक्रमण बढेकाले तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश जारी गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । उनका अनुसार आमसला, जुलुस र धेरै भीडभाड हुने कार्यक्रमलाई माघ मसान्तसम्म रोक लगाइएको छ । केहीमा भने स्थानीय प्रशासनबाट स्वीकृति अनिवार्य गरिएको छ । पूर्वनिर्धारित परीक्षा यथावत् राखेर विद्यालय भने माघ १५ सम्मलाई बन्द गरिसकिएको उनको भनाइ छ ।

पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी चितवनमा हुने

नेपाल कृषि मेसिनरी व्यवसायी संघको आयोजनामा पाँचौं राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०७८ हुने भएको छ । प्रदर्शनी यही माघको ५ गतेदेखि ८ गतेसम्म चितवनमा हुने भएको हो । संघले आज मंगलबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदर्शनीको विस्तृत जानकारी गराएको छ । प्रदर्शनीको मूल नारा ‘कृषि यान्त्रीकरणमा वृद्धि, व्यावसायिक कृषि विकास र समृद्धि’ रहेको छ । प्रदर्शनी चितवन एक्स्पो सेन्टर भरतपुरमा हुने संघले जनाएको छ । प्रदर्शनीको आयोजकमा संघसहित नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रहने छन् । यसैगरी प्रदर्शनीको मुख्य प्रयोजकमा शलोम एग्रिकल्चर प्रा.लि. रहेको छ । प्रयोजकमा मुक्तिनाथ कृषि कम्पनी लि. र मुक्तिनाथ विकास बैंक रहेका छन् । यता सहप्रयोजकमा एनटीएस इन्डष्ट्रिज, जीसेभेन एग्रिकल्चर, एसकेटी नेपाल, कुबेर एण्ड सन्स ट्रेड, नेपाल चाइना एग्रिकल्चर सेन्टर, बिटिएल ट्रेड, नयाँ तुल्सी ग्रुप र द हाबी अटो ट्रेडिङ रहेका छन् । यसैगरी सहयोगी संस्थाहरुमा कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रीय संघ र आर एण्ड डी इनोभेटिभ सोलुसन रहेका छन् । यो प्रदर्शनीलाई इभेन्ट संसारले व्यवस्थापन गर्नेछ । प्रदर्शनीमा १५० भन्दा बढि प्रदर्शनीकर्ताका २ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु रहने बताइएको छ । यसैगरी २० भन्दा बढी मुलुकको प्रदर्शनीमा सहभागिता रहने छ । प्रदर्शनीमा मेड इन नेपाल प्याभिलियन पनि रहने, कृषि यान्त्रीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार हुने, कृषि कर्जाको छुट्टै मेला हुने आयोजकले बताएको छ । करिब ७० जिल्लाका १ लाखभन्दा बढी अवलोकनकर्ता आउने अपेक्षा गरिएको सो प्रदर्शनीमा २० करोड भन्दा बढीको कारोबार हुने अपेक्षा राखिएको संघका अध्यक्ष खोजराज कटुवालले बताए ।प्रदर्शनीले एकै थलोमा कृषि सम्बन्धी आधुनिक प्रविधि, विभिन्न कृषि औजार, उपकरण, यन्त्रहरु तथा सेवाहरुका बारेमा जानकारी गराउने, नीति निर्माता, पेशागत समूह, अनुसन्धानकर्ता, कृषक लगायतका सरोकारवालालाई कृषि यन्त्र तथा प्रविधिसम्बन्धी जानकारी गराउने, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा योगदान पुर्याउने, व्यवसायी र कृषकबीच कार्यगत समन्वय गराउने, लगानीको अवसर सिर्जना गर्ने, प्रतिस्पर्धी तथा आधुनिक कृषि प्रणाली विकास गराउन सहयोग गर्ने संघका महासचिव कृष्ण शर्माले बताए ।संघले यसअघि २०७० मा चितवनमा पहिलो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरेको थियो । यसैगरी २०७२ मा बाँकेको कोहलपुरमा दोस्रो प्रदर्शनी, २०७४ मा धरानमा तेस्रो प्रदर्शनी र २०७६ मा चितवनमा चौथो कृषि यान्त्रीकरण प्रदर्शनी संघले आयोजना गरिसकेको छ ।

अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुुँदै, २०० भन्दा बढी स्टलहरू रहने

कात्तिक २८, काठमाडौं । आगामी पुस २ देखि ४ गतेसम्म चितवनमा अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवम् मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीन दिने प्रदर्शनी हुन लागेको हो । प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रको समेत सहभागिता रहनेछ । यसअघि दुई/दुई वर्षमा आयोजना हुँदै आएको प्रदर्शनी यस पटकदेखि वार्षिक रूपमा आयोजना गरिने भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २०० भन्दा बढी स्टलहरू रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० ओटा निःशुल्क स्टलको व्यवस्था गरिने छ ।  प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवर्द्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिनेछ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ । पत्रकार सम्मेलनमा परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवर्द्धन, नवीनप्रविधि हस्तान्तरण र पर्यटन प्रवर्द्धनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताए । ‘कोभिड १९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ,’ उनले भने ।  यसैगरी लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवर्द्धनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । यसैगरी राष्ट्रिय आविष्कार केन्द्रका प्रवर्द्धक एवं अध्यक्ष महावीर पुनले उद्यमशीलता र नवीन सोच प्रवर्द्धनका लागि आविष्कार केन्द्रले काम गरिरहेको गरे । चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले प्रर्दशनीमा आधुनिक प्रविधिहरूको अनुसरण गर्ने रउद्योगीहरूको जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको बताए । ‘प्रदर्शनीमा निःशुल्कप्रवेशको व्यवस्था गरिएको छ भने स–साना औजार, मेशिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र उपकरणहरू र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणको प्रदर्शनी हुनेछ,’ उनले भने । प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न ईच्छुक नव उद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरू व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालक, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमी तथा उद्यमीका व्यावसायिक परामर्शदाताहरू, वित्तिय सेवाप्रदायकहरू, निर्माणजन्य सामग्री उत्पादकहरू तथानिर्माण व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरूलगायत अवलोकनकर्ताको रूपमा रहनेछन् । उक्तप्रर्दशनी नेपाली उद्यमीहरूलाई नयाँ प्रविधिवारे जानकारी गराउँदै युवाहरूलाई उद्यमशीलतामा प्रोत्साहन गर्ने, नयाँ उद्यम जन्माउन सहयोग गर्ने उपयुक्त माध्यमको रूपमा रहनेछ । उद्यमीहरूलाई आधुनिक प्रविधि अनुसरण गरी औद्योगिक उत्पादकत्व वृद्धिका लागि प्रोत्साहन गर्ने तथा नविनतम प्रविधि हस्तान्तरणको वातावरण सिर्जना गर्ने महत्वपूर्ण अवसरको रूपमा रहने अन्तरराष्ट्रिय औद्योगिक प्रदर्शनीमा स्वदेशी एवम् विदेशी उद्योगीहरूबीच प्रत्यक्ष भेटघाट र छलफल हुनगई ब्राण्ड विस्तार तथा अनुभव आदान प्रदानसहित औद्योगिक ज्ञान अभिवृद्धिको महत्वपूर्ण अवसर हुनेछ । यसले स्वदेशी औद्योगिक उत्पादनको अन्तरराष्ट्रिय बजारीकरणमा समेत योगदान पुर्‍याउने आयोजकको विश्वास छ । औद्योगिक प्रवर्द्धनका लागि विषय विज्ञको उपस्थितिमा अन्तरक्रिया आयोजना गरिने र औद्योगीकरणका लागि विश्वमा सफल र उत्कृष्ट ठहरिएका प्रविधिहरूसँंग साक्षात्कारको अवसरसहित अनुसरणका लागि उत्प्रेरणा मिल्ने उक्त प्रदर्शनीमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सफल उद्यमीहरूको विशेष उपस्थितिमा गोष्ठी तथा सेमिनार आयोजना गरिनेछ । प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवामार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भइ दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्नेछ । यस प्रर्दशनीलाई सफल बनाउनका लागि नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, शिक्षा विकास तथा प्रविधि मन्त्रालय, बागमती प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, राष्ट्रिय आविस्कार केन्द्र, नेपाल घरेलु तथा साना उद्योग महासंघ, चितवनका स्थानीयतहहरूलगायत विभिन्न संघ संस्थाहरूको सहयोगी भूमिका रहेको छ ।

सेवा व्यापार सन्तुलन गर्न आन्तरिक पर्यटन

पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा विदेशिने गरेको छ । वर्तमान महामारीले खुम्चिएको पयर्टन प्रयोजनमा बाहिरिने विदेशी मुद्रा स्थिति सामान्य हुँदै जाँदा अझ बढ्ने निश्चित छ । विप्रेषणले ल्याएको समृद्धिले नेपाली समाजमा विकसित घुमफिर संस्कृति आम हुँदै गएको सन्दर्भमा नेपाली पर्यटकका रूपमा बाह्य मुलुक जाने प्रवृत्तिमा वृद्धि हुने यस क्षेत्रमा विज्ञहरूको भनाइ रहेको छ । महामारीका बीचमा नै गत आर्थिक वर्ष २०२०/२१ मा नेपालबाट २८ करोड यूएस डलर बराबरको रकम बाहिरिएको छ । घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ । महामारीमुक्त वर्ष २०१८/१९ मा ७९ करोड यूएस डलर बराबरको रकम बाहिरिएको थियो । अवस्था सामान्य रहँदा यस आँकडामा वृद्धि हुने सहजै अनुमान लगाउन सकिन्छ । यसरी पर्यटनमार्फत ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिँदै गर्दा आन्तरिक पर्यटनले भने अपेक्षाकृत गति लिन सकेको छैन । सरकारी, गैरसरकारी एवम् निजीक्षेत्रबाट आयोजना हुने सेमिनार, गोष्ठी, भ्रमण तथा सम्मेलन आन्तरिक पर्यटनको प्रमुख स्रोत बन्न पुगेको छ । धार्मिक तथा सांस्कृतिक प्रयोजनको यात्रा आन्तरिक पर्यटनको अर्को स्रोत हो । यी दुईओटा क्षेत्रबाहेक विशुद्ध घुमफिर प्रकृतिका आन्तरिक पर्यटनमा गुणात्मक सुधार आउनु सकेको छैन । यसरी घुमफिर पर्यटनमा सुधार आउन नसक्दा आन्तरिक पर्यटन उद्योगको विस्तार अपेक्षित रूपमा हुन सकेको छैन । आन्तरिक पर्यटनको अपेक्षित सुधार हुन नसक्नुका पछाडि देहायका कारण रहेका छन् : सेवाको अस्वाभाविक मूल्य आयस्रोतका आधारमा नेपाली पर्यटकले आफ्नो गन्तव्य निर्धारण गर्छन् । नेपाली होटेलले कोठा भाडा, गाडी भाडा र खानाको मूल्य आम नेपालीको आयस्तरभन्दा बढी नै लिने गरेका छन् । समानस्तरका भारतीय होटेलमा प्राप्त सुविधा प्राप्त गर्न नेपाली पर्यटकले नेपालभित्र बढी रकम खर्च गर्नुपर्ने हुन्छ । छद्म मूल्यका कारण ग्राहकले बीचबाटैमा बेखर्ची हुने समस्या पनि देखिने गरेको छ । होटेलका सेवामा कर र सेवा शुल्कले घोषित मूल्यमा करीब २५ प्रतिशत अतिरिक्त खर्च ग्राहकले बेहोर्नु परेको छ । रिजर्भ गाडीहरू अति महँगो भई दिँदा गाडी रिजर्भ गरेर घुम्न जानु आम नेपालीको पहुँचभन्दा बाहिरको विषय बन्न पुगेको छ । नेपाली पर्यटन उद्योगहरूले प्रदान गर्ने सेवासुविधा अनावश्यक रूपमा महँगो हुनु नै आन्तरिक पर्यटन उद्योगको विस्तार हुन नसक्नु हो । चलाखीयुक्त व्यवहार घरबाट गन्तव्यसम्म पहुँचका क्रममा आन्तरिक पर्यटकसँग चलाखीपूर्ण व्यवहार गर्ने गरिन्छ । नयाँ स्थानसँग अपरिचित आन्तरिक पर्यटकले अपारदर्शी मूल्यहरूको सामना पाइला पाइलामा गर्नुपर्छ । यस्ता चलाखीयुक्त व्यवहारले आन्तरिक पर्यटनमा असुरक्षाको भाव उत्पन्न हुन गएको छ । यी व्यवहार मूल्यमा मात्र सीमित छैनन् गुणस्तरमा पनि बेहोर्नु परेको छ । नगए पनि पछुताउने र गए पनि पछुताउनुपर्ने विरोधाभास यसै कारण उत्पन्न हुने गर्छ । प्राकृतिक विपत्ति र आकस्मिक अव्यवस्था सृजना हुँदा उत्पन्न परिस्थितिमा यात्रुलाई पासोमा पारेसरह गरी कैयाैं गुणा बढी असुल्ने गरिन्छ । टेबल जोेडेर सुतेको एक रातको २/३ हजार तिर्नुपर्नेजस्ता व्यवहार आमरूपमा दोहोरिरहन्छन् । पर्यटन क्षेत्रका गहन शब्दावलीहरूको प्रयोग गर्ने तर सेवाचाहिँ झारा टराई पाराले प्रदान गर्ने प्रवृत्ति पनि यस क्षेत्रमा आमरूपमा रहेको छ । यी र यस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न पर्यटन क्षेत्रसँग सम्बद्ध संघसंस्थाबाट पनि खासै पहल हुन सकेको छैन । पूर्वाधारको कमी पर्यटन भन्नासाथ होटेलमा भएका पूर्वाधारलाई बुझ्ने गरिन्छ । परन्तु पर्यटन पूर्वाधारमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता, पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरू अझ महत्त्वपूर्ण रहेका छन् । नेपालका पर्यटकीय स्थलहरूमा पहुँचमार्गहरू यति खतरनाक रहेका छन् कि यात्रा गर्दा ३३ कोटी देवताको नाम जप्दै कुन बेला गन्तव्यमा पुगिएला भनेर त्रासमा यात्रा गर्नुपर्छ । एकचोटि यात्रा गरिसकेपछि त्यस स्थानमा अर्कोचोटि यात्रा गर्न कोही पनि चाहँदैनन् । विविधीकरणको कमी नेपालको आन्तरिक पर्यटन सेमिनार, गोष्ठी, सम्मेलन एवम् धार्मिक पर्यटनमा सीमित रहेको छ । जंगल सफारी र साहसिक पर्यटनले भर्खर वामे सर्दै छ । सारमा भन्नुपर्दा नेपालमा विशुद्ध आन्तरिक पर्यटन (द्वितीयक उद्देश्यरहित) विकास हुन सकेको छैन । परिवार नै घुम्न जाने संस्कृतिको पनि विकास हुन सकेको छैन । यातायातका साधन माथिको असहज पहुँचका कारण पारिवारिक पर्यटन विकास हुन नसकेको हो । नेपालको आन्तरिक पर्यटन उद्योगको विस्तारमा स्वयम् व्यवसायीहरू पनि उदासीन छन् । यही कारण नेपाली नागरिक ठूूलो संख्यामा विदेश शयरमा निस्कने गरेका छन् । सरकारले खर्च कटौतीको नीति लागू गरेको दिन सेमिनार, गोष्ठी, सम्मेलनमा आधारित पर्यटन रातारात डुब्न सक्छ भन्ने विषयमा समयमै हेक्का हुन जरुरी छ । प्याकेजहरूको कमी नेपालमा आन्तरिक पर्यटकका लागि आकर्षक र व्यावहारिक प्याकेजहरू सृजना हुन सकेका छ्रैनन् । केही प्याकेज सुनिनमा आए तापनि ती प्याकेजहरू अपूर्ण चरित्रका रूपमा रहेका छन् जसको न त व्यवस्थित प्रचारप्रसार हुन सकेको छ न ती प्याकेज आर्थिक र व्यवस्थापकीय सिद्धान्तलाई अंगीकार गरी तर्जुमा गरिएका हुन्छन् । नेपालीलाई भए यत्तिको व्यवस्थापनले काम चलिहाल्छ भन्ने मानसिकता नेपाली पर्यटन व्यवसायीहरूमा व्याप्त रहेको छ । यस्ता कच्चा तर महँगा प्याकेजका कारण नेपालीहरू विदेशतिर शयर गर्न रुचाउन थालेका छन् । दुबईको प्याकेज र दमकको प्याकेजमा आर्थिक रूपमा खासै फरक नहुने भएपछि मानिसहरूको स्वाभाविक रोजाइ दुबई नै हुन जान्छ । यी पक्षलाई दृष्टिगत गर्दै आन्तरिक पर्यटनको अभिवृद्धि गर्न र पर्यटनमार्फत ठूलो परिमाणमा विदेश गइरहेको धनको स्वदेशमा सदुपयोग गर्न देहायका पक्षमा विशेष ध्यान जानु आवश्यक छ । सर्वप्रथम आन्तरिक पर्यटन उद्योगले प्रदान गर्ने सेवाको अस्वाभाविक मूल्यलाई लागत, लाभ र सेवालाई आधार मानी नियन्त्रण र समानीकरण (हार्मोनाइजेशन) गर्नु आवश्यक छ । यो कार्य पर्यटन क्षेत्रमा आबद्ध व्यावसायिक संघसंस्थाहरूको दायित्वभित्र पर्छ । दोस्रो नेपाली पर्यटन क्षेत्रमा व्याप्त ग्राहकसँग गरिने चलाखीयुक्त व्यवहारलाई नियन्त्रण, नियमन र उपचार गर्न नेपाल सरकार र पर्यटन व्यवसायीका छाता संगठनहरूले अनुगमन संयन्त्रसहितको आचारसंहिता बनाई लागू गर्नुपर्छ । तेस्रो आन्तरिक पर्यटनको संख्या र आवृत्तिमा विस्तार गर्न देशभरका पर्यटन क्षेत्रहरूमा सुरक्षित सडक, सुरक्षित आवास, आधारभूत स्वास्थ्य सुविधा, आपत्कालीन उद्धार, सहज सञ्चार सुविधा, पर्याप्त सूचना प्रवाह, निश्चित दूरीमा दैनिक उपभोगका वस्तु, औषधि तथा पानीको उपलब्धता तथा पर्यटनबाट भरपुर आनन्द दिलाउन सक्ने प्राज्ञिक, बौद्धिक, सांस्कृतिक र मनोरञ्जनात्मक सेवाहरूमा नेपाल सरकार र निजीक्षेत्रले प्राथमिकतायुक्त लगानी गर्नु आवश्यक देखिन्छ । चौथो, सेमिनार, गोष्ठी, सम्मेलन र धार्मिक पर्यटनको घेराबाट आन्तरिक पर्यटनको बृहत् घेरा सृजना गर्न सरकार र निजीक्षेत्रबाट संयुक्त पहल हुन जरुरी छ । विशुद्ध पर्यटनको जग बलियो बनाउन नयाँनयाँ अवधारणालाई प्रोत्साहन, संरक्षण र अनुदान दिने नीति अंगीकार गर्नु आवश्यक छ । पर्यटन क्षेत्रको विविधीकरण गर्न यस क्षेत्रमा क्रियाशील र सम्भावित स्टार्टअपहरूलाई पनि प्रस्फुटित गराउन आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउनुु पनि आवश्यक छ । पाँचौं, आन्तरिक पर्यटनका लागि प्याकेजहरूको विकास गर्नु, ती प्याकेज नेपालीहरूको पहुँचमा हुन सक्ने बनाउनु तथा प्याकेजहरूप्रति आम धारणा सकारात्मक बनाउन विश्वसनीय प्रचार संयन्त्रको विकास गर्नु पनि त्यत्तिकै जरुरी छ । अन्त्यमा पर्यटन क्षेत्रलाई अनन्तकालीन करमुक्तिको सुविधा प्रदान गरिनुपर्छ ताकि ग्राहकहरू करका कारण महँगोमा सेवाहरू लिन बाध्य भइरहेको वर्तमान अवस्थाबाट छुटकारा पाउन् । यसो गर्न सकेको खण्डमा विदेश जाने नेपाली पर्यटकको ठूलो अंश देशभित्र मोडिई सेवा व्यापारमा विद्यमान व्यापारघाटा नियन्त्रण गर्न सकिन्छ । व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

निषेधाज्ञाका कारण फूल खेतीमा करोडौंको नोक्सानी

चितवन । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण चितवनको फूल खेतीमा ५ करोड रुपैयाँ बराबरको नोक्सानी प्रक्षेपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन चितवनका अनुसार यहाँ उत्पादन हुने बाह्रैमासे फूल र मौसमी फूल खेती गरी उक्त घाटा भएको आकलन गरिएको  हो । फूलको माग राम्रै भए पनि निषेधाज्ञाका कारण बजार नपाउँदा नोक्सानी बेहोर्नुपरेको एसोसिएसनले जानकारी दिएको छ । निषेधाज्ञापछि करिब डेढ महिने अवधिमा ५ करोड रुपैयाँ बराबर नोक्सान भएको एसोसिएसनका अध्यक्ष प्रकाश पन्तले बताए । विशेषगरी तयारी अवस्थाका ग्लाडियस, गोदावरी र सयपत्री फूल बिक्री गर्न नसकिँदा  बारीमै सुकेका छन् । आफ्नो १२ कठ्ठा क्षेत्रफलमा लगाएको गोदावरी फूल सुकेपछि ५ लाख रुपैयाँ नोक्सान भएको उनको भनाइ छ । ‘अन्य किसानको पनि १ देखि २५ लाख रुपैयाँसम्मको नोक्सानी भएको छ’, उनले भने, सबै गरी ५ करोड बराबरको क्षति आकलन गरेका छौं ।’ पन्तका अनुसार निषेधाज्ञाका कारण अर्डर आइसकेका फूल बजारमा जान नसक्दा  र अधिकांश शुभकार्य, सभा, सेमिनार तथा धार्मिक अनुष्ठानका कार्य रोकिँदा यसको  असर फूल व्यवसायमा परेको हो  । भरतपुर महानगरपालिका–१८ का किसान कमल अर्याल गत वर्षदेखि हालसम्म २२ लाख रुपैयाँ बराबरको फूल खेतीमा नोक्सानी भएको बताउँछन् । गत वर्षदेखिको कोरोना महामारीका कारण फूलको माग भए पनि प्रयोगमा नआउँदा फूल खेती किसानले नोक्सान बेहोर्नुपरेको हो । हाल उनले डेढ बिघामा ग्योडोलस फूल लगाएका छन् । अहिले फूल बिक्रीयोग्य भए पनि निषेधाज्ञा कारण सुकेपछि जोत्न लागेको उनले बताए । ‘यो फूल तयार भएपछि एक साता भन्दा बढी राख्नै मिल्दैन’, अर्यालले भने, निषेधाज्ञा खुल्ने टुंगो छैन । जोत्नुको विकल्प छैन ।’ निषेधाज्ञाकै कारण बारीमा फुलिसकेका फूल ओइल्याएका छन् भने कतिपयले लागत बराबरमै बिक्री गर्दा पनि माग शून्यजस्तै छ । व्यावसायिक फूल खेती गर्ने र नर्सरीमा बिरुवा उत्पादन गर्ने किसानले पनि बिक्री नभएको बताएका छन् । विशेषगरी काठमाडौं र पोखरालगायतका सहरमा चितवनको फूल जाने गरेको छ । ‘चितवनमा फूल बिक्री ठप्पजस्तै छ’, भरतपुर महानगरपालिका–२६ का किसान दीपक पाख्रिन भन्छन्, ‘अहिले सयपत्री फूल पशुपति आर्यघाटबाट केही मात्र अर्डर छ । त्यो पनि फाइदा नखाई पठाएको छु ।’ बाह्रैमासे बिक्री हुने सयपत्री फूल पनि अहिले बिक्री हुन नसकेको उनको भनाइ छ । पाख्रिनको दुई बिघा क्षेत्रफलमा सयपत्री ढकमक्क फुलिरहे पनि महँगो भाडा तिरेर काठमाडौं पठाउनुपरेकोे पाख्रिनको गुनासो छ । सयपत्री फूल एक गाडीको १० हजार  तिरेर पशुपतिमा १५ हजार रुपैयाँमा बिक्री गर्नुपरेकोे उनको भनाइ छ   । पछिल्लो समय चितवनमा फूल खेतीको आकर्षण बढ्दै गएको थियो । तर, पटक–पटकको बन्दाबन्दी र निषेधाज्ञाले फूल खेती गर्ने किसान नोक्सानीमा परेका छन्  । यसले गर्दा हाल न नर्सरीका बिरुवा फूल बिकेका छन्, न त तयार भएका फूल नै बिक्न सकेका छन् । यस्तै अवस्था रहने  हो भने अधिकांश फूल खेती किसान विस्थापित हुने र फूलका लागि फेरि भारतलगायत अन्य तेस्रो मुलुकसँग भरपर्नुपर्ने अवस्था आउने किसानको भना छ । एसोसिएसनका अनुसार चितवनमा ३० बिघाभन्दा बढी क्षेत्रफलमा व्यावसायिक फूल खेती हुदै आएको छ । यहाँ  व्यावसायिक फूल खेती गर्नेको संख्या ५० जना र भने फूलको नर्सरी एवं गार्डेनिङ गर्नेको संख्या  २० हाराहारी छ । चितवनमा बुकी फूल, कटफ्लाबर, रोज र ग्याडोलसजस्ता मौसमी फूलको व्यावसायिक खेती हुँदै आएको छ ।