काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले भैरहवामा पाँचतारे होटल सञ्चालनमा ल्याएको छ । कम्पनीले साढे २ अर्ब रुपैयाँको लगानीमा ‘सिद्धार्थ विलासा’ पाँचतारे होटल सञ्चालनमा ल्याएको हो ।
कम्पनीका अध्यक्ष चिन्तामणि न्यौपानेले सिद्धार्थ बिजनेस ग्रुपको २५ वर्षे व्यावसायिक यात्राका क्रममा मुलुकका विभिन्न स्थानमा ३२ ओटा आतिथ्यता सेवालाई निरन्तरता दिँदै भैरहवामा पाँच तारे होटल सञ्चालन गर्न सफल भएको बताए ।
गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ किलोमिटर र सिद्धार्थ राजमार्गबाट करीब २०० मिटरभित्र अवस्थित सिद्धार्थ विलासा होटल करीब ४ बिघा क्षेत्रफलमा फैलिएको बताइएको छ । होटलको औपचारिक उद्घाटन भने असोजमा गर्ने तयारी छ ।
कुल ८५ ओटा कोठा, लबी लौन्ज, अल डे डाइनिङ, रुफ टप रेष्टुराँ, स्विमिङ पुल, फिटनेस, जिमहल, स्पा, साउना र ज्याकुजी सहितको हेल्थ क्लव, लङ टेनिस कोर्ट, गार्डेन, पार्किङस्थल, ३ ओटा ठूला सेमिनार हल, मिटिङ हल र क्यासिनो सञ्चालन समेत हुने कम्पनीले बताएको छ ।