धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई निलम्बन गरेको स्रोतले जानकारी दियो । धितोपत्र बोर्डका अध्यक्षमाथि छानबिन गर्न जाँचबुझ आयोग गठन सर्वोत्तम सिमेन्टको सेयर आफन्तको नाममा लिएको समाचार सार्वजनिक भएपछि अनुसन्धानका लागि समिति बनेको थियो । उनलाई निलम्बन गरेर सरकारले पूर्वन्यायाधीश अनन्तराज डुम्रेको...

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाले दायर गरेको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुदै

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेको रिटमा आज सोमबार दोस्रो सुनुवाई हुदै छ । आज न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश प्रकाश कुमार ढुंगाना सम्मिलित संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । यद्यपि यो मुद्दा त्यस इजलाशको ३७ औ नम्बरमा रहेकोले यसको पालो आउने नआउने भने निश्चित छैन ।नेपाल सरकारले निलम्बन गरेपछि बोर्ड अध्यक्ष ढुंगानाले भदौ २३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  ढुंगानाले दायर गरेको रिटको सुनुवाइ गर्दै भदौ २९ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यसपछि आज पेशी तोकिएको हो ।  धितोपत्र बोर्डको अध्यक्ष पदमा रहेकै बेला आफ्नो छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पाईएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो। सुरुवाती दिनमा कानुनी रुपमा छोरीको नाममा सेयर खरिद गर्नु कुनै गलत नभएको जिकिर गर्दै आएपनि ढुंगानाको गतिबिधि नैतिकताको हिसाबले गलत भएको भन्दै सरकारले पदबाट निलम्बन गरेको थियो। नेपालको इतिहासमै पहिलो पटक बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर छोरीको नाममा प्रति कित्ता २५० रुपैयाँका दरले किनेपछि ढुंगाना विवादमा तानिएका थिए।    ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। जसमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य थिए।ढुंगानाले सेयर किनेको बिषय अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा बनाएको छानबिन समिति बलियो नभएपछि गएको भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।  सो समितिको सिफारिसको आधारमा सरकारलाई अध्यक्ष ढुंगानालाई स्पष्टिकरण समेत सोधिसकेको छ । सरकारले उनलाई बर्खास्त गर्ने तयारी स्वरुप स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर परिवारको सदस्यको नाममा किनेको कारण चन्द्र सिंह साउदले नेपाल स्टक एक्सचेन्जको सीईओ पदबाट र चन्द्र ढकालले धितोपत्र बोर्डको संचालक समिति सदस्य पदबाट राजिनामा दिनु परेको थियो।

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने सरकारको तयारी

असोज ११, काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।  सर्वाेतम सिमेन्टको शेयर खरीदमा उनको संलग्नता रहेको सरकारी छानविन समितिबाटै प्रतिवेदन आएपछि उनलाई सोमवारको मन्त्रिपरिषद् बैठकले पदीय मर्यादा विपरित काम किन गरेको भन्दै स्पष्टीकरण सोधेको हो । स्पष्टीकरण सोध्ने निर्णय भएको र चित्त बुझ्दो जबाफ नआए पदबाट बर्खास्त गर्ने तयारी भएको सरकारका एक मन्त्रीले बताए । धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको विषयमा सरकारले भदौको दोस्रो साता छानबीन समिति नै बनाएर अनुसन्धान गरेको थियो । बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । छानविन समितिको सदस्यमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका थिए । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरि सरकारले छानविन गरेको थियो ।  उपदफा ७ अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्‍याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्ने कानूनी व्यवस्था छ । जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने पनि व्यवस्था रहेको छ । उक्त समितिले ढुंगानाको संलग्ना रहेको प्रतिवेदन अर्थमन्त्री जनार्दन शर्मासमक्ष बुझाइसकेको छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरीको नाममा सर्वाेत्तम सिमेन्टको शेयर खरीद भएको पाइएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो तर आफू दोषि नरहेको भन्दै उनी निलम्बन विरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले हालै मात्र निलम्बन गर्नुको कारण देखाउ आदेश सरकारका नाममा गरेको थियो । अहिले यो मुद्दा विचाराधीन अवस्थामा छ । यसैबीच,  सरकारले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता गर्ने निर्णय गरेको छ ।  #सम्पादन गरिएको यो पनि हेर्नुस् : धितोपत्र बोर्डका अध्यक्ष निलम्बित

नेतृत्वबिहिन अवस्थामा पूँजीबजारको नियामक धितोपत्र बोर्ड र नेप्से

भदौ १९, कठमाडौं । नेपाली पूँजीबजारको नियामक रुपमा रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज यतिखेर नेतृत्व बिहिन भएको छ । नेपाली पूँजीबजारको नियमनकारी निकायमा रुपमा रहेका ती निकायका प्रमुखहरु प्राथमिक बजारमा बहुप्रतिक्षित बुक विल्डिंग विधिबाट शेयर निस्कासनको तयारीमा रहेको सर्बोत्तम सिमेन्टको शेयरमा संलग्न रहेको आरोप लागेको छ । र सोही आरोपपछि नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले पदबाट राजीनामा दिइसकेका छन् भने सरकार स्वयंले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई निलम्बन गरिसकेको छ । सीईओ साउदले पदबाट राजीनामा दिएसँगै अर्को व्यवस्था नभएसम्म सञ्चालक समितिको बैठकले  निरन्जन फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ। त्यस्तै सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगाना सोही विषयमा छानबीन गर्न सरकारले समिति गठन गरेसँगै उनी पदबाट निलम्बित भएका छन्। बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानून विपरीत आफन्तका नाममा खरीद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । गत बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् । पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।  कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेप्सेका सीईओ चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वोत्तमले बुक बिल्डिङमार्फत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ । नेप्सेका तत्कालिन सीईओ साउदले श्रीमतीको नाममा सर्वोत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका सीईओसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । उता अर्थमन्त्री जनार्दन शर्माले भने दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।  नेपालको शेयर बजारलाई नियमन गर्ने प्रमुख निकाय धितोपत्र बोर्ड र दोस्रो बजार सञ्चालन गर्ने निकाय नेप्सेका प्रमुखहरु नै कारबाहीमा परेपछि सरकारले ती निकायका नयाँ प्रमुखमा कहिले र कसलाई नियुक्त गर्छ भन्ने बारेमा लगानीकर्ताहरु पनि पर्ख र हेरको अवस्थामा रहेका छन् ।