धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाले दायर गरेको मुद्दामा आज सर्वोच्चमा सुनुवाई हुदै

नेपाल धितोपत्र बोर्डका निलम्बित अध्यक्ष भिष्मराज ढुंगानाले दायर गरेको रिटमा आज सोमबार दोस्रो सुनुवाई हुदै छ । आज न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश प्रकाश कुमार ढुंगाना सम्मिलित संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ । यद्यपि यो मुद्दा त्यस इजलाशको ३७ औ नम्बरमा रहेकोले यसको पालो आउने नआउने भने निश्चित छैन ।नेपाल सरकारले निलम्बन गरेपछि बोर्ड अध्यक्ष ढुंगानाले भदौ २३ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।  ढुंगानाले दायर गरेको रिटको सुनुवाइ गर्दै भदौ २९ गते सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि नदिने भन्ने बारेमा छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो । त्यसपछि आज पेशी तोकिएको हो ।  धितोपत्र बोर्डको अध्यक्ष पदमा रहेकै बेला आफ्नो छोरी रेविका ढुंगानाको नाममा बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको पाईएपछि उनलाई सरकारले पदबाट निलम्बन गरेको थियो। सुरुवाती दिनमा कानुनी रुपमा छोरीको नाममा सेयर खरिद गर्नु कुनै गलत नभएको जिकिर गर्दै आएपनि ढुंगानाको गतिबिधि नैतिकताको हिसाबले गलत भएको भन्दै सरकारले पदबाट निलम्बन गरेको थियो। नेपालको इतिहासमै पहिलो पटक बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर छोरीको नाममा प्रति कित्ता २५० रुपैयाँका दरले किनेपछि ढुंगाना विवादमा तानिएका थिए।    ढुंगानालाई निलम्बन गर्दै छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। जसमा विज्ञ सदस्य प्रा. नारायणप्रसाद पौडेल, कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य थिए।ढुंगानाले सेयर किनेको बिषय अध्ययन गर्न अर्थ मन्त्रालयले आन्तरिक रूपमा बनाएको छानबिन समिति बलियो नभएपछि गएको भदौ १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो।  सो समितिको सिफारिसको आधारमा सरकारलाई अध्यक्ष ढुंगानालाई स्पष्टिकरण समेत सोधिसकेको छ । सरकारले उनलाई बर्खास्त गर्ने तयारी स्वरुप स्पष्टिकरण सोधेको हो । बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासन गर्ने प्रक्रियामा ल्याएर त्यहि कम्पनीको सेयर परिवारको सदस्यको नाममा किनेको कारण चन्द्र सिंह साउदले नेपाल स्टक एक्सचेन्जको सीईओ पदबाट र चन्द्र ढकालले धितोपत्र बोर्डको संचालक समिति सदस्य पदबाट राजिनामा दिनु परेको थियो।