मुलुकको समग्र वैदेशिक व्यापारको विश्लेषण गर्दा विभिन्न आयातको मिहीन अध्ययन हुन आवश्यक हुन्छ । समष्टिगत आँकडाबाट समग्र वैदेशिक व्यापारको एउटा तस्वीर देखिन्छ भने त्यही आँकडालाई व्यष्टि व्यष्टिमा गई विश्लेषण गर्दा अर्को तस्वीर देखिन्छ । सारमा भन्नुपर्दा समष्टिगत तथ्यांकले मुलुकको वैदेशिक व्यापारको उज्ज्वल तस्वीर प्रकाश गरिरहँदा व्यष्टिगत तथ्यांकले धुमिल तस्वीर प्रकाश गरिरहेको हुन सक्छ । यसै गरी समष्टिगत तथ्यांकले मुलुकको वैदेशिक व्यापारको धुमिल तस्वीर प्रकाश गरिरहँदा व्यष्टिगत तथ्यांकले उज्ज्वल तस्वीर प्रकाश गरिरहेको हुन सक्छ । यस परिस्थितिमा एउटै तथ्यांकलाई मुलुकको वैदेशिक व्यापारलाई सकारात्मक र नकारात्मक दुवै कोणबाट प्रस्तुत गर्ने अवस्था पनि सृजना भइरहेको हुन्छ । परन्तु नेपालको वैदेशिक व्यापार तथ्यांकको समष्टिगत तथ्यांकलाई मात्र आधार मानी यससम्बन्धी दृष्टिकोणहरू सृजना हुने गरेका छन् । प्राज्ञिक, सञ्चार र नीतिनिर्माण जगत्मा वैदेशिक व्यापारलाई केवल व्यापारघाटाको आयामबाट मात्र मुलुकको वैदेशिक व्यापारका बारेमा दृष्टिकोणहरू सार्वजनिक भइरहेका हुन्छन् ।
प्राज्ञिक, सञ्चार र नीतिनिर्माण जगत्मा वैदेशिक व्यापारलाई केवल व्यापारघाटाको आयामबाट मात्र मुलुकको वैदेशिक व्यापारका बारेमा दृष्टिकोणहरू सार्वजनिक भइरहेका हुन्छन् ।
आयात बढ्नासाथ पहाड खसेसरी अनि आयात घट्ना साथ उत्सव आएसरी यसका पक्ष विपक्षमा चर्चा परिचर्चा शुरू हुने गर्छन् । सबै आयात खराब हुँदैनन् र सबै निर्यात फाइदाजनक हुँदैनन् भन्ने सोचले नेपालमा मान्यता नपाउँदा व्यापारघाटाको तथ्यांक उपर कोरा विमर्शहरू मात्र हुने गरेका छन् । मुलुकभित्र आयात भनेको पाप हो र निर्यात भनेको धर्म हो भन्ने भाष्य यत्ति गहिरोसँग स्थापित भएको छ, आयातले मुलुकको अर्थतन्त्रको विकासमा दिएको योगदानको चर्चा गर्ने परिपाटीको विकास नै हुन सकिरहेको छैन ।
मुलुकको अर्थतन्त्रमा आयातको कत्ति महत्त्व हुन्छ भन्ने विषयलाई विकसित देशले अंगीकार गरेको आयात प्रवर्द्धनसम्बन्धी नीति र कार्यक्रमहरूलाई पनि यहाँ उल्लेख गर्नु वाञ्छनीय हुन्छ । चीनले आफ्ना उद्योगहरूको माग तथा चीनकेन्द्रित विश्व मूल्य शृंखलाको सबलीकरणका लागि सन् २०१८ देखि हरेकक वर्ष चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो (सीआईआईई) को आयात एक्स्पोको आयोजना गर्दै आएको छ । यूरोपेली देशहरूले ल्याटिन अमेरिका र अफ्रिकी महादेशबाट कच्चापदार्थ आयात गर्ने र त्यसबाट यूरोपेली मापदण्डमा वस्तुहरू उत्पादन गरी विश्वबजारमा जाने रणनीति अंगीकार गरेका छन् । स्वीट्जरल्यान्डका प्रख्यात उत्पादन कफी र चकलेट यसै अवधारणाका केही उदाहरण हुन् । यूरोपेली देशहरूले यस सम्बन्धमा अंगीकार गरेका आयात प्रवर्द्धनका नीतिहरू अनुकरणीय र उल्लेख्य छन् । अर्थतन्त्रको चक्रलाई गतिवर्द्धन गर्ने बुद्धिमत्तायुक्त आयातलाई सबै देशले प्रोत्साहन गर्ने नीति अंगीकार गरिरहेका हुन्छन् ।
नेपाल राष्ट्र बैंकले बृहत् आर्थिक वर्गीकरणमा आधारित रही हालै प्रकाशित गरेको मुलुकको वैदेशिक व्यापारको तथ्यांकले नेपालको वैदेशिक व्यापारको एकदमै फरक तस्वीर सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको प्रथम ६ महीनामा भएको कुल आयातमा औद्योगिक कच्चा पदार्थका रूपमा उपयोग हुने माध्यमिक उपभोगको अंश करीब ५३ दशमलव ७ प्रतिशत रहेको छ भने अन्तिम उपभोगको अंश करीब ३५ दशमलव ४ प्रतिशत रहेको छ । यसै गरी औद्योगिकीकरणको मुटुका रूपमा रहेको कुल स्थिर पूँजी सृजनाको आयात १० दशमलव ९ प्रतिशत रहेको छ । विगत ३ वर्षको सोही अवधिमा माध्यमिक उपभोगको आयातमा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०१९/२० को प्रथम ६ महीनामा ४८ दशमलव ७ प्रतिशत रहेको माध्यमिक उपभोगजन्य वस्तुको आयात आर्थिक वर्ष २०२०।२१ को प्रथम ६ महीनामा ५२ दशमलव ६ प्रतिशत रहेको देखिन्छ । चालू आर्थिक वर्षको प्रथम ६ महीनामा यस्तो आयातको अंश ५३ दशमलव ७ प्रतिशत रहेको छ । कुल आयातमा माध्यमिक आयातको अंश अधिक हुनु रोजगारी सृजनालगायत औद्योगिक क्रियाकलापमा वृद्धि र मुलुकको समग्र आर्थिक अवस्थामा सकारात्मक योगदान हुने गर्छ । परन्तु यस ३ आर्थिक वर्षका प्रथम ६ महीना अवधिमा मुलुकको कुल आयातमा अन्तिम उपभोगको अंश भने घट्दो क्रममा देखिएको छ । सारमा भन्नुपर्दा मुलुकको कुल आयातमा माध्यमिक उपभोग र कुल स्थिर पूँजी सृजनाको आयातको अंश ६४ दशमलव ६ प्रतिशत रहनुले नेपालको आयात व्यापारले मुलुकको आर्थिक क्रियाकलापमा सकारात्मक योगदान दिएको पुष्टि हुन्छ । तसर्थ अर्थशास्त्रको भाषा नबुभ्mनेहरूभैंm आयात बढ्यो भन्दै विशुद्ध कोरा विश्लेषणका आधारमा धारणा बनाउनु बुद्धिमानी हुँदैन ।
सारमा भन्नुपर्दा मुलुकको कुल निर्यातमा माध्यमिक र कुल स्थिर पूँजी निर्माणका वस्तुहरूको निर्यातको अंश कम हुनु र अन्तिम उपभोगका वस्तुहरूको निर्यात बढी हुनुलाई पनि सकारात्मक रूपमा लिइने गरिन्छ । आर्थिक वर्ष २०२१/२२ मा नेपालको कुल निर्यातमा अन्तिम उपभोगजन्य वस्तुको निर्यात नेपालको कुल निर्यातमा करीब ५२ दशमलव २ प्रतिशत अंश रहनु आफैमा सकारात्मक पक्ष हो ।
आयतनका रूपमा हेर्दा चालू आर्थिक वर्षको प्रथम ६ महीनामा माध्यमिक उपभोग करीब रू. ५ खर्ब ३६ अर्बजति रहेको छ । यस प्रकारको आयातले मुलुकमा औद्योगिक उत्पादनजन्य क्रियाकलापमा महत्त्वपूर्ण योगदान दिइरहेको स्पष्ट हुन्छ । रू. १ खर्ब ९ अर्ब बराबरको पूँजी सृजनाका वस्तुहरू आयात हुनुले यसले पनि मुलुकभित्र उत्पादन वृद्धिमा उल्लेख्य योगदान दिएको देखिन्छ । सारमा भन्नुपर्दा यस ६ महीनाको अवधिमा भएको करीब रू. १० खर्ब बराबरको आयातमा रू. ६ खर्ब ४५ अर्बको आयातले त मुलुकभित्र औद्योगिक उत्पादन वृद्धिमा नै योगदान दिएको स्पष्ट हुन्छ ।
उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको वैदेशिक व्यापारको अध्ययन, अनुसन्धान, नीति तर्जुमा क्षेत्रमा समष्टिगतभन्दा व्यष्टिगत रूपमा हुनु अति जरुरी भइसकेको छ । विशेष गरी नेपालको सम्पूर्ण आयात र निर्यात व्यापारलाई माध्यमिक उपभोगजन्य वस्तु, पूँजी निर्माणजन्य वस्तु तथा अन्तिम उपभोगका वस्तुहरू तीन वर्गमा वर्गीकृत गरी सोहीअनुरूप एचएसकोडको ४ अंक, ६ अंक र ८ अंकमा वस्तुहरूको पहिचान गरी कुनकुन वस्तुको आयात प्रतिस्थापन गर्नुपर्ने हो, कुनकुन वस्तुको आयात प्रोत्साहन गर्नुपर्ने हो र कुनकुन वस्तुको निर्यात प्रवर्द्धन गर्नुपर्ने हो र कुनकुन वस्तुको निर्यात निरुत्साहन गर्नुपर्ने त्यसअनुसार विशेष नीति, रणनीति र कार्यक्रम तर्जुमा गर्नु आवश्यक छ ।
व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।