हिमालयन बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकले गत हप्ता एकआपसमा मर्ज हुनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे पछि अहिले नेपाली बैंकिङ क्षेत्रमा यो ‘बृहत् मर्जर’का बारेमा धेरै चर्चा परिचर्चा हुन थालेका छन् । कतिपयले यो नेपाली बैंकिङ जगत्मा नै ऐतिहासिक मर्जर हुने बताइरहेका छन् भने कतिपयले चाँहि कदाचित् यस्तो बृहत् मर्जर असफल भयो भने त्यसले देशको बैंकिङ क्षेत्र मात्र होइन, समग्र अर्थव्यवस्था माथि नै गम्भीर प्रभाव पार्ने चिन्ता पनि व्यक्त गरेका छन् ।
तर, यो आलेखमा भने यी दुई बैंकहरूको मर्जरको आलोकमा आम रूपमा दुई बैंकहरू एकआपसमा मर्ज हुँदा केकस्ता सिनर्जी प्रभावहरू अपेक्षित हुन्छन् भन्नेबारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।
सिनर्जी प्रभावहरूलाई प्राप्त गर्न दुई कम्पनीबीच कार्य–संस्कृतिमा अन्तर्घुलन हुनु जरुरी छ । मर्जरपछि बनेको एकीकृत संस्थाका कर्मचारीहरू ‘परिवर्तन’ प्रति ‘प्रतिरोध’ गर्न थाले भने मर्जरअगाडि कायम रहेको दुवै संस्थाका स्वतन्त्र अस्तित्व नै धराशयी हुन सक्छ ।
के हो सिनर्जी प्रभाव
वास्तवमा दुई समानस्तरका संस्थाहरू एकआपसमा गाभिँदा तिनीहरूले एक्लाएक्लै प्राप्त गर्ने प्रतिफलको योगभन्दा संयुक्त रूपमा सहकार्य गर्दा प्राप्त हुने प्रतिफल बढी हुने विश्वास गरिन्छ । खास गरी लागत, आम्दानी, नाफा, व्यावसायिक दक्षता, वित्त आदि क्षेत्रमा यस्तो सहकार्यजन्य प्रतिफल बढी हुने बताइन्छ । व्यवस्थापनविद्हरूले यसलाई मर्जरको ‘सिनर्जी’ भनेर परिभाषित गरेका छन् । यस अर्थमा दुई संस्थाको मर्जरपछि हुने उनीहरूबीचको सहकार्यले प्रदान गर्ने यही ‘अतिरिक्त प्रतिफल’लाई नै ‘सिनर्जी’ भनेर बुझ्न सकिन्छ । हुन त कतिपय अवस्थामा मर्जरजन्य सिनर्जी ‘नकारात्मक’ पनि हुन सक्छ तापनि यो आलेखमा भने मर्जरका सकारात्मक सिनर्जी प्रभावहरूका बारेमा मात्र चर्चा गर्ने प्रयास गरिएको छ ।
सकारात्मक सिनर्जी–प्रभावले कर्मचारीहरूको मनोबल तथा उत्प्रेरणा बढाउने मात्र होइन, ग्राहकहरूको सन्तुष्टि पनि अभिवृद्धि गर्छ । यसले प्रतिस्पर्धीहरूको सापेक्षतामा बजार माथिको पहुँच विस्तार गर्नुका साथै प्रत्यक्ष रूपमा तुलनात्मक लाभ पनि प्रदान गरिरहेको हुन्छ । त्यसैले पनि संस्थाहरू मर्जरको माध्यमबाट यही ‘सिनर्जी प्रभाव’ प्राप्त गर्न लालायित हुन्छन् । कुनै पनि संस्थाहरूले एकआपसमा गाभिएपछि खास गरी तल उल्लेख गरिएका तीन प्रकारका सिनर्जीहरू अपेक्षा गरेका हुन्छन् ।
लागत कटौतीसम्बन्धी सिनर्जी
स्वाभाविक रूपमा दुई कम्पनीहरू एक भएपछि त्यो एकीकृत कम्पनीमा एक जना मात्र प्रमुख कार्यकारी अधिकृत रहन्छन् । त्यसबाहेक महत्त्वपूर्ण विभागहरूको नेतृत्व पनि एक जनाले मात्र गर्ने हुँदा मर्जरको प्रत्यक्ष लागत कटौतीसम्बन्धी सिनर्जी उच्च व्यवस्थापकहरूको तलब तथा सुविधामा प्रतिबिम्बित हुन्छ ।
तलब तथा सुविधामा मात्र होइन, प्रविधिमाथि हुने लागतमा पनि उल्लेख्य कटौती गरी मर्जरले सिनर्जी प्रभाव पारिरहेको हुन्छ । बैंकहरूकै कुरा गर्ने हो भने दुई बैंकहरूले छुट्टाछुट्टै रूपमा प्रयोग गरिरहेका कोर बैंकिङ सफ्टवेरका लागि बेहोर्नुपर्ने लागत पनि दुई संस्थाको एकीकरणपछि उपयोग गरिने एकै सफ्टवेरको कारण उल्लेख्य मात्रामा कटौती हुने गर्छ ।
आधुनिक बैंकिङमा कोर बैंकिङ सफ्टवेरमा गरिने लगानीको तुलनामा अन्य वित्तीय प्रविधिमाथि हुने खर्च अत्यधिक हुने गर्छ । विशेष गरी सम्पत्ति शुद्धीकरणजस्ता वित्तीय अपराधका कारण अहिले विश्वभरि नै बैंकहरू वित्तीय अपराध पहिचान तथा निगरानी गर्ने प्रयोजनका लागि ठूलो परिमाणमा प्रविधिमाथि लगानी गर्न बाध्य छन् । आधुनिक बैंकिङमा वित्तीय प्रविधिमाथि लगानी नियन्त्रण गरी आफ्नो अस्तित्व कायम गर्नु असम्भवजस्तै प्रतीत हुन्छ ।
मर्जरले प्रविधिमाथि खर्च कटौती हुने मात्र होइन, त्यसले एकीकृत बैंकको जोखिम व्यवस्थापन तथा अनुपालन खर्चमा समेत सिनर्जी प्रभावका साथ न्यूनीकरण गर्न मद्दत पुग्छ ।
मर्जरपछि दुई संस्थाको छुट्टाछुट्टै रूपमा अस्तित्वमा रहने प्रधान कार्यालयसमेत एकै हुने र संस्था नै एउटा मात्र कायम हुने भएकाले त्यसले पनि उल्लेख्य मात्रामा प्रशासनिक तथा अन्य उपरिव्यय (ओभरहेड खर्च) कटौती गर्न पनि प्रमुख भूमिका निर्वाह गरेको हुन्छ । मर्जरपछि दुई संस्थाको भिन्नभिन्न रूपमा कायम रहेका आपूर्ति शृंखला (सप्लाई चेन) लाई पनि एकीकृत संस्थाले मर्जरपछि अझ प्रभावकारी रूपमा उपयोग गर्न सक्ने भएकाले त्यसले एकातिर बजार विस्तारका लागि आवश्यक पर्ने लागत घटाइरहेको हुन्छ भने अर्कोतिर आफ्ना उत्पादनहरूको समग्र विक्रीमा वृद्धि गराउँछ । यसरी प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा लागत घटाउन मर्जरले सिनर्जी प्रभाव सृजना गरेको हुन्छ ।
ठीक त्यसै गरी अनुसन्धान तथा विकासका लागि छुट्टाछुट्टै संस्थाहरूको कुल लागतभन्दा मर्जरपछि एकीकृत भएको संस्थाको लागत उल्लेख्य मात्रामा कम हुने पनि स्पष्ट छ ।
आम्दानी वृद्धिसम्बन्धी सिनर्जी
लागत कटौतीसम्बन्धी सिनर्जीले पनि अप्रत्यक्ष रूपमा आम्दानी वृद्धिलाई नै सघाउ पुर्याइरहेको हुन्छ तापनि मर्जरले प्रत्यक्ष रूपमा नै एकीकृत कम्पनीको आम्दानी वृद्धि गराउन सिनर्जी प्रभाव उत्पन्न गर्छ ।
मर्जर हुनुभन्दा पहिले छुट्टाछुट्टै रूपमा रहेका कम्पनीहरूका आआफ्नै उत्पादन, बजार, भौगोलिक क्षेत्र तथा ग्राहकलाई उपयोग गरेर पनि मर्जरपछि एकीकृत संस्थाले यथेष्ट आम्दानी माथि सिनर्जी प्राप्त गरिरेहेको हुन्छ ।
वित्तसम्बन्धी सिनर्जी
पूँजीमाथिको लागत कम गराएर तथा कर्पोरेट कर माथि उल्लेख्य मात्रामा बचत गरेर पनि मर्जरपछि एकीकृत हुने कम्पनीले सिनर्जी प्रभाव जन्य वित्तीय लाभ प्राप्त गर्न सक्छ । आम्दानीमा हुने वृद्धि तथा खर्चमा हुने कटौतीले एकै साथ कम्पनीको वित्तीय अवस्थालाई बलियो बनाउने भएकाले त्यसले एकातिर कम्पनीको प्रतिशेयर आम्दानीमा वृद्धि गराउने त छँदै छ साथसाथै शेयरको बजार मूल्यसमेत बढाउने हुन्छ ।
त्यसैगरी पूँजी तथा क्षमतामा भएको वृद्धिले दुई बैंकहरूको हकमा लगानी तथा ऋण प्रवाह गर्ने क्षमता बढाउने हुन्छ भने अन्य कम्पनीहरूको हकमा उनीहरूको ऋण लिन सक्ने संस्थागत क्षमतामा बढोत्तरी भएर पनि वित्तीय सिनर्जी उत्पन्न भइरहेको हुन्छ । माथि उल्लिखित विशेष गरी तीन प्रकारका सिनर्जीहरूका अतिरिक्त सफल मर्जरले व्यवस्थापन कुशलता तथा मानव–पूँजीको उत्पदकत्व सम्बन्धमा पनि सकारात्मक सिनर्जी सृजना गर्छ ।
तर, सम्झनै पर्ने कुरा के हो भने मर्जरपछि सकारात्मक सिनर्जीको अपेक्षा गर्नु र वास्तवमै ती सिनर्जीहरू प्राप्त गर्नु फरक कुरा हुन् । सबै अपेक्षा गरिएका कुराहरू पूर्ति हुन्थे भने इतिहासमा भएका कुनै पनि मर्जरहरू असफल हुने थिएनन् । त्यसैले अपेक्षित सिनर्जी प्रभावहरूलाई प्राप्त गर्न दुई कम्पनीबीच कार्य–संस्कृतिमा अन्तर्घुलन हुनु जरुरी छ । यदि यसो भएन र मर्जरपछि बनेको एकीकृत संस्थाका कर्मचारीहरू ‘परिवर्तन’ प्रति ‘प्रतिरोध’ गर्न थाले भने मर्जरबाट अपेक्षा गरिएका सिनर्जी प्रभावहरू प्राप्त गर्नु त परको कुरा मर्जरअगाडि कायम रहेको दुवै संस्थाका स्वतन्त्र अस्तित्व नै धराशयी हुन सक्ने सम्भावनातर्फ सम्बद्ध पक्षहरू सचेत रहनैपर्छ ।
लेखक बैंकर हुन् ।