केही समययता नेपालको न्यायपालिकाले आर्थिक व्यावसायिक र विकास सम्बद्ध मुद्दाहरूको फैसलामार्फत नयाँ नजीर र न्यायिक सिद्धान्तहरूको समेत प्रतिपादन गर्न थालेको देखिएको छ । यो अत्यन्तै सकारात्मक पक्ष हो । विगत लामो समयदेखि नेपालको न्याय प्रणालीमा जडवत् सोच एवं कार्यशैली र न्यायमूर्तिहरूमा पर्याप्त आर्थिक प्राविधिक ज्ञानको अभाव रहेको आमअनुभूति रहेको थियो । यो पक्ष नेपालको आर्थिक सुधार र व्यावसायिक उन्नतिमा न्यायालयको योगदानका लागि बाधक थियो । पछिल्लोपटक सर्वोच्च अदालतमा थपिएका आर्थिक–व्यावसायिक विषयमा विशेष दक्षता राख्ने न्यायाधीशहरूको नियुक्तिपछि यस मुद्दाप्रति न्यायालयको चासो, न्यायसम्पादन र फैसलाको गुणस्तरमा उल्लेखनीय सुधार आएको छ ।
न्यायपालिकाभित्रै आर्थिक–व्यावसायिक मुद्दाको न्याय सम्पादनमा सुधार ल्याउनुपर्ने कुराको बोध हुनुले पनि यस्ता मुद्दाहरूको निरूपणमा सकारात्मक योगदान गरेको छ । मुलुकका चारवटा पुनरावेदन अदालतमा वाणिज्य इजलास स्थापना हुनु र सर्वोच्च अदालतमा पनि आर्थिक–व्यावसायिक विषयका मुद्दाहरू विशेषज्ञ न्यायाधीशहरूबाट हेरिन थालिनुले न्यायपालिकाभित्र विकसित हुँदै गएको व्यावसाायिक दक्षतालाई प्रष्ट्याउँछ । हालै भएका केही फैसलाहरूलाई त्यस्तो दक्षताको अभिवृद्धि र न्यायिक सक्रियताको उदाहरणका रूपमा लिन सकिन्छ । गम्भीर विवादहरूको दिगो पटाक्षेप गर्न र आर्थिक सुशासन एवं पारिदर्शितालई प्रवर्द्धन गर्न यी फैसलाहरूको दीर्घकालीन महत्त्व रहने अपेक्षासमेत गर्न सकिन्छ ।
वर्ष ५ अंक ५०, २०६७, साउन ३१– भदौ ६