उद्योग वाणिज्य महासङ्घले आफूले गरेको काम र आगामी कार्ययोजना सार्वजनिक गरेको छ । शेखर गोल्छाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको सय दिनको अवसरमा महासङ्घले त्यस अवधिमा गरेका काम र आउने दिनमा गर्ने सम्भावित कार्यको कार्ययोजना सार्वजनिक गरेको हो ।
नयाँ नेतृत्वका लागि निर्वाचनकै क्रममा मुलुकको आर्थिक रूपान्तरणको मार्गचित्र बनाउने र त्यसकै आधारमा अगाडि बढ्ने बताएको गोल्छा नेतृत्वको वर्तमान कार्यकारिणी समितिले विस्तृत मार्गचित्र सार्वजनिक नगरे पनि त्यसको स्पष्ट खाका भने सार्वजनिक गरेको छ । मुलुकको समग्र अर्थतन्त्रको आकार, त्यसका लागि अङ्गीकार गरिनुपर्ने योजना, निजी क्षेत्रको भूमिका, लगानी कृषिको आधुनिकीकरणलगायतका बृहत् क्षेत्रलाई यो मार्गचित्र (भिजन पेपर)मा समेटिएको महासङ्घ अध्यक्ष गोल्छा बताउनुहुन्छ ।