पैसाको सन्दर्भमा केहीले के भन्ने गर्छन् भने मरेर के लानु छ र ? बाचुन्जेल ढुक्कले खान पुगे भयो । वास्तवमा यस्ता शब्दहरू बच्चाहरूको अगाडि बोल्नु पनि पाप हो । कसैले त केसम्म भन्छन् भने सिकन्दर पनि खाली आएको थियो खाली हात नै गयो । तर, मानव मात्रले बुझ्नुपर्ने के छ भने खाली हात मर्नुपर्छ भने पनि सिकन्दर बनेर मर्नुपर्छ ऐरेगैरे नथ्थु खैरे बनेर होइन । मर्नुमा पनि मजा आओस् ।
मर्दा केही लाने होइन, ज्यूँदो छँदा पनि विभिन्न रोगले गर्दा केही खान नमिल्ने होस् तर कमाउने प्रयास त गर्नुपर्छ बरु त्यो सम्पत्ति कसैलाई दान दिएर नै मर्न किन नपरोस् । मानिसले आफ्नो जीवनमा सबैभन्दा माथि पुग्ने प्रयास गर्नबाट कहिल्यै पछि हट्नु हुँदैन । पैसा कमाउने प्रयासबाट वञ्चित हुनु हुँदैन ।
पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरिकाले सोचेर लगानी गर्ने हो भने कमाइ नहुने भन्ने छँदै छैन । लगानी गर्दा अलिकति सोचविचार भने गर्नुपर्छ ।
पैसा लगनशीलता, जोखिम ग्रहणता, धैर्य र निरन्तर प्रयासको प्रतिफल हो । यसैको माध्यमबाट मानिसले अनेक खुशी किन्न सक्छ समुद्रको किनारमा जलको छालसँग खेल्न सक्छ । अनेक व्यक्तिलाई पुरस्कार दिन सकिन्छ, भोकोलाई गाँस, र नाँगोलाई कपास दिन सकिन्छ । त्यसकारणले पैसा कमाउने विषयमा कहिल्यै बहाना नबनाऊँ । यो हातको पौरख, मुटुका लागि साहस, दिमागका लागि इन्टेलिजेन्स हो, अनजान ठाउँमा वास हो र जीवन जिउने अति महŒवपूर्ण प्रयास हो ।
यी विविध कारणले गर्दा पैसा कमाउन निर्भयका साथ लगानी गरौं । लगानी जहिले पनि सम्पत्तिमा गराैं दायित्वमा होइन, जस्तै जग्गा, घर शेयर, शिक्षा, आदि सम्पत्ति हुन् यी सबैले थप आम्दानी दिन्छ । तर, महँगो कार, घोडा, महँगो सुट, घडी मोबाइल, आवश्यकताबाहेक गाडी आदि सबै दायित्व हुन् । त्यसैले सम्भव भएसम्म दायित्वमा भन्दा सम्पत्तिमा लगानी गरौं ।
अमेरिकामा २ श्रीमान् श्रीमती थिए तर दुई बीच झगडा थियो, सधैं झगडा हुन्थ्यो । श्रीमती लोग्नेको सम्पत्तिका लागि मात्र पतिसँग बसेकी थिइनन् । १ दिन यो दम्पत्तिबीच सम्बन्ध विच्छेदको अवस्था आयो । श्रीमतीले ठूलो धनराशी लिएरमात्र छोडपत्र दिने भइन् । अन्तिममा त्यो लोग्नेसँग केबल ७० डलर बच्यो । उमेर गएको थियो लगानी गर्ने पैसा थिएन । बाँचेर पनि के खाने कुनै थप उपाय थिएन । उसले आत्महत्या गर्ने सोच्यो अनि आत्महत्या गर्न डेराबाट निस्क्यो । बिहानै थियो, आत्महत्या त जतिबेला गरे पनि हुन्छ तर यो ७० डलर लगेर क्यासिनोमा थापें भने कतै टन्न पैसा कमाइ हाल्छु कि भनेर, क्यासिनोतिर मोडियो । क्यासिनो पैसा लगाउन जानेको भीड थियो । लाइनमा उसले एउटा पत्रिका उठाएर हेर्न थाल्यो जुन बाटोमा यसै फ्याकिएको थियो ।
यो पत्रिकामा एउटा लीलामीको सूचना थियो । ऊ उभिएको केही किलोमीटर पर सरकारले एउटा खानी लीलामी गर्दै थियो र त्यसको मिति आज नै थियो । उसले सोच्यो यो क्यसिनोमा भीड बढी छ बरु त्यही लीलामी स्थलमा गएर हेरौं के छ तमाशा । ऊ खानीस्थलतिर गयो । अचम्म कोही पनि त्यो खानीमा लगानी गर्न आएको थिएन किनकि सरकारले समेत केही गर्न नसकेर लीलामी गर्दै थियो । त्यति बेला ऊ एक्लो बिड गर्ने व्यक्ति थियो उसले केबल ७० डलरको बोली लगायो । त्यो खानीमा सुन निकाल्न सरकाले करोडाैं लगानी गरेको थियो । केही ननिस्केपछि लीलामी हुँदै थियो । अरू कोही प्रतिस्पर्धी नभएपछि खानी उसको भयो । त्यति बेला लीलामीमा न्यूनतम योभन्दा बढीको बोली लगाउनुपर्ने भन्ने नियम हुँदैनथ्यो । न्यूनतम मूल्यको नियम सन् १९९२ पछि मात्र शुरू भएको हो ।
यसरी ७० डलरमा कसैलाई काम नलाग्ने खानी उसको नाममा आयो । अब यसैमा मर्नुपर्ला भन्ने सोच्दै थियो । उताबाट केही मानिस उसको नजिक आए र भने अब तपाईं हाम्रो मालिक हुनुभयो । हामी यहाँ खन्ने कामदार हौं । आज ५ बजेसम्मको ज्याला हामीले बुझिसकेका छौं । अझ ३ घण्टा दिन बाँकी छ, हामीले खनौं कि के गराैं ? उसले भन्यो ज्याला बुझेकाले खन्नुहोस् । कामदारले खन्न थाले । हर्षको कुरा त के भयो भने त्यो खानी थप ३ फीट खन्नासाथ सुन निस्कियो । ऊ लाखाैं टन सुनको मालिक बन्यो । यो हो, पैसाको करामत वा लगानीको महत्त्व, ३ फीटले उसको बदलियो जिन्दगी ।
पैसाले यस्ता चमत्कार गरेका अनेक उदाहरण छन् । नेपालको शेयरबजारमा गरेको लगानीले पनि दोस्रो बजारमा ११३ मा किनेको शेयर १० महीनामा १३३० बनेको छ । त्यसैले पैसाको लगानीमा महान् शक्ति हुने भएकाले यसका लागि अनेक तरीकाले प्रयास गरौं ।
पैसा जीवनको अभिन्न अंग हो भने लगानी भनेको पैसाको वंश वृद्धि गर्ने आधार हो । व्यवस्थित तरीकाले सोचेर लगानी गर्ने हो भने कमाई नहुने भन्ने छँदै छैन, अपवादलाई छोडेर । लगानी गर्दा अलिकति सोचविचार गर्नुपर्छ । लाभदायक क्षेत्र छनोट गर्नुपर्छ । अन्य जोखिम लिन सकिँदैन भने पनि मुद्दतीमै भए पनि पैसा राख्ने हो भने धेरथोर नियमित ब्याज आउँछ । सरकारी बन्ड वा ट्रेजरी बिलमा पनि लगानी गर्न सकिन्छ । पैसा यो जगत्को सबैभन्दा सशक्त प्रजनन शक्ति भएको साधन भएकाले यसलाई निष्क्रिय नगरौं ।
लगानीविना पैसा अधुरो हुने भएकाले हरेक विद्यार्थीमा व्यवसाय तथा उद्यमशीलता सम्बन्धी सोचको विकास हुनुपर्छ । हुनेहरूले पैसालाई सन्तानहीन बनाउन रोक्ने हो भने अन्य हजाराैं बेरोजगारले रोजगारी पाउने अवसर सृजना हुन जान्छ ।
लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।