दमौली । गण्डकी प्रदेश सरकारले किसानलाई अनुदानमा कृषि उपकरण वितरण गराएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ लीलाचोक र भाटडाँडाका कृषकलाई प्रदेश सरकारले कृषि उपकरण वितरण गरेको हो ।
प्रदेश सरकारको ८५ प्रतिशत अनुदान र कृषकको १५ प्रतिशत लागत रहनेगरी हाते ट्याक्टर उपलब्ध गराइएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए ।
उनका अनुसार ४ जना किसानलाई हाते ट्याक्टर वितरण गरिएको छ । हाते ट्र्याक्टर पाउनेमा टेकनारायण कोइराला, कुमार परियार, कृष्णबहादुर गुरुङ र गुनबहादुर गुरुङ रहेका छन् ।
त्यस्तै, भकारो सुधार कार्यक्रममार्फत राजु नेपाली, चेतबहदुर नेपाली, प्रकाश परियार, रिना भुजेल, कृष्णप्रसाद कोइराला, चन्द्रबहादुर हमाललाई पनि कृषि उपकरण सहयोग गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।
वडा कार्यालयका अनुसार प्लाष्टिक टनेल निर्माणका लागि नवराज गौतम, नुमबहदुर गुरुङ, शान्तमाया थापा, बालकुमारी श्रेष्ठ, तिलबहादुर श्रेष्ठलाई पनि उपकरण सहयोग गरिएको छ ।
निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउँदै नमुना गाउँ बनाउने लक्ष्यसहित प्रदेश सरकारले २०७५ चैतदेखि प्रदेशभर सहयोग गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याएको घोषणा गरेको थियो ।
घोषणाअनुसार तनहुँका विभिन्न पालिकामा मुख्यमन्त्री जलवायुमैत्री नमूना गाउँ सञ्चालित छ । तनहुँको ऋषिङ, भिमाद, देवघाट, शुक्लागण्डकी, भानु, आँबुखैरेनी लगायतका गाउँमा मुख्यमन्त्री जलवायुमैत्री नमुना गाउँ कार्यक्रम लागू गरिएको छ । रासस