रत्ननगरका किसानलाई अनुदानमा कृषि उपकरण

चितवन । चितवनको रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई आधुनिक कृषि उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मूल्य कम गर्न नगरपालिकाले सहकारी तथा कृषि समूहमार्फत किसानलाई ट्रयाक्टरलगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिका– १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र वडा नम्बर १२ को सुसब एकीकृत कृषि फार्मलाई ट्रयाक्टरसहित कल्टिभेटर, रोडाभेटर, हाइरो, बिउ राख्ने एवं मल छर्ने मेसिन, थ्रेसर, टेलर र चापाकटर मेसिन वितरण गरिएको छ । ट्रयाक्टर र अन्य उपकरण  ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अर्थात्  १५ लाख रुपैयाँमा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रवीण लामाले जानकारी दिए । पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा चापाकटर मेसिन, वडा नम्बर ११ का किसान ईश्वरी चौलागाईं र वडा नम्बर  ३ का किसान दर्शन महतोलाई एक–एक वटा चापाकटर मेसिन प्रदान गरिएको छ  । यसैगरी सहयोगी कृषक समूह वडा नम्बर   ११ लाई मकै छोड्याउने तीन वटा मेसिन, उत्पीडित कृषि सहकारी संस्था, युवराज शर्मा र नवपशु तथा कृषि फार्मलाई मकै छोड्याउने एक–एक वटा मेसिन प्रदान गरिएको लामाले जानकारी दिए ।